नीलकण्ठ तिवारी,काठमाडौं
आउछ भन्छौ–समाजवाद, संविधानमा लेखेर
कहिल्यैपनि आको हैन, वग्गि चढेर ।
भूईचालो र कोरोनाले, आत्मनिर्भर सम्झायो
स्वाधिनता र समृद्धिका, सपना बरीलै ।।
कोभिद भन्ने भाइरसले, चेतावनी दिंदानी
मगन्ते–संस्कृतिमा, धोका पाउंदानी ।
अझै हाम्लाइ चेत खुलेन, माटो प्रेम जागेन
आयामुखि अर्थतन्त्र, गएन बरीलै ।।
फलफूल माछा मासु दूध दही तरकारी
खरबौको ब्यापार घाटा डाटा सरकारी ।
ब्यबशायिक उत्पादनमा, माटो प्रयोग गर्नलाई ं
अभियान नै बढाउन, पर्छ बरीलै ।।
अहिले पनि उत्पादनमा, जुटने किसान निराश छन
मल, बीउ सिंचाइका, गोता भोग्दैछन ।
प्रभावकारी बिमा छैन, बिचौलीयाको बजार
टाउको समाइ किसान, रुन्छन बरीलै ।।
राष्ट्रपति प्रधानमन्त्री, दलका नेता सबैलाई
हार गुहार धेरैपटक, भयो बरीलै ।
यो तीज पनि आयो गयो, फेरी कहिले पर्ने हो
भनिदेउ न दीदीबैनी, कसो गर्ने हो ।।
सस्तो दाममा विदेशमा छन, नेपालीका पाखुरा
साठीलाख नाघिसक्यो, गरौं के कुरा ? ।
अझै कति पुस्तालाई, विदेश जानै पर्ने हो
यी बाध्यता तोड्न अब, पर्छ बरीलै ।।
एउटै वडा तल्लो टोलमा, आप र केरा फल्दछ
माथील्लोमा सुन्तला र, स्याउ झुल्दछ ।
यार्साजस्ता जडिबुटी, अन्न भण्डार तराई
गरीविका दुश्चक्रलाई, खेदौ बरीलै ।
जल, जमिन–जंगलको, ठोस पहिचान गरेर
जराजुरी–जडीबुटीको, ख्याल राखेर ।
जनशक्ति र जनावरको, सत्य तथ्य खोजेर
जलवायुलाइ ख्याल गर्न, भनौ बरीलै ।।
राष्ट्रपति प्रधानमन्त्री, दलका नेता सबैलाई
हार गुहार धेरैपटक, भयो बरीलै ।
यो तीज पनि आयो गयो, फेरी कहिले पर्ने हो
भनिदेउ न दीदीबैनी, कसो गर्ने हो ।।
( लेखक, अष्ट ज अभियानका अभियन्ता हुन )
वि.सं.२०७९ भदौ १४ मंगलवार १३:०२ मा प्रकाशित






























