अग्निकुमार पल्लव, वालिङ्, स्याङ्जा
१.
पात चाहिए पातै टिप, किन भाँच्छौ डालीलाई
चर्को घामले फूल ओइलाए गाली गर्छौ मालीलाई
जसको कामले जे बिग्रन्छ, गल्ती त्यसकै हुन्छ
हलो जोत्दा अनौ फुस्क्यो दोष दिन्छौं फालीलाई ।
२.
भर्खर भर्खर पलाउदैको ठुटो रैझछौ तिमी
सप्रिएको रुख भन्थे बुटो रै“छौ तिमी
कृषिकार्य गर्नलाई कोदालोको नाम पारी
राहतस्वरूप पाइएको कुटो रै“छौ तिमी ।
३.
ठुलो मान्छे भन्नेसित बुद्धि अति स–सानो छ
मुखभित्र छुरा अनि मनभित्र अचानो छ
जसमा जे हुनुपर्छ त्यही छैन हामीसंगै
बत्तीमुनि अँध्यारो र पानीमाथि ओभानो छ ।
४.
ईश्वरको भन्दा ठूलो मान तिम्रो जिन्दगी हो
संसारको सर्वश्रेष्ठ सान तिम्रो जिन्दगी हो
लाखौं जुनी पार गर्याै मान्छे बन्नलाई तिमी
मान्छे बन्यौ मानवताको ज्ञान तिम्रो जिन्दगी हो ।
५.
डोजर चलाउदैमा बाटो हुदैन
पिपल उम्रदैमा माटो हुदैन
धेरै बोलेर मात्र हुने हो र बाठो ?
मौन बस्दैमा कोही लाटो हुदैन ।
वि.सं.२०७९ पुस २३ शनिवार ०७:१७ मा प्रकाशित






























