भुवन सिवाकोटी ‘चौघरे’, काठमाडौं
ए ! चित्रकार दाइ
ए ! मुर्तिकार दाइ
स्वयं आवाज भएको मान्छे तिमी
किन बनाउछौ लाटो मूर्ति
सिकाईदेऊ
बोल्ने मूर्ति हुन
कसरी हेर्नु पर्छ दूरक्षितिजसम्म आँखा
कसरी मुस्काउनु पर्छ ओठमाथी हिमाल
कसरी खुला हुनुपर्छ कानका प्वालहरू
कसरी स्वतन्त्र हुनुपर्छ
कलम च्यापेर लेख्ने औंलाहरु
र औजार चलाउने हातहरू
जीवन हो गल्छ एकदिन मान्छे
तर विषम मौसममा पनि
हुरी होस वा बाढीमा दरीलो खुट्टा टेकेर
कसरी उभिन्छ युगौंयुग भूईँमा मुर्ती
हो त्यसरी नै
नुहेर बोल्ने मूर्तिहरूका सामुन्नेमा
मलाई उभिनु छ
भन त
नमक्किने
नहल्लिने मुर्तीमा टाँसिएको
जुनकिरीजस्ता दुरूस्त एकजोर आँखा
हिमाल जस्तो ऊचों नाक
ओठहरूमा लाली गुराँस फूलेको दन्तहार
सबै कला भरेर पनि
किन वोल्दैनन्
खुला आकाशमुनि उभिएर
तिमीले जन्माएका अनुहारहरू
किन मुख थुनिरहेछन
कतै ! यिनै मूर्तिका ओठ टाँसिएर
भएका त हैनन् ? अन्धा र लाटा मान्छेहरू
जो समय अनुसार चल्दैनन्
लाटो मूर्ति झैं फगत उभिएका छन्
अन्यायमा चुपचाप छन्
देख्दैनन् र बोल्दैनन्
समग्रमा म सग्लो मान्छे हूँ
तैपनि लाटो भएको छु
अपाँग भएको छु
हो ! मलाई
मन्दिर बाहिरको खुला संसारमा
चलाएमान थुप्रै मूर्ति हरूको भीडमा
मूर्तिहरूमा दबिएको आवाज
र छोपिएको नग्नता छुट्याउनु छ
सिकाईदेऊ न मुर्तिकार दाइ
के गर्नुपर्छ
मान्छे भएर अविचलित उभिन
अर्थात
बोली फुकाएर ननिहुरिन ।
वि.सं.२०७९ पुस ३० शनिवार ०८:३३ मा प्रकाशित






























