कल्पना पौडेल ‘जिज्ञासु’, खजुरा बाँके
समाजमा जरो गाडेर बसेको कुरीतिका कारण जातपात, छुवाछुत जस्ता अमानवीय चलनहरूले समाजमा नकारात्मक सन्देश प्रवाह गरेको र यस्ता कुप्रथालाई हामीले हटाउनु आवश्यक छ भन्दै शोभा म्याडम कक्षा नौका बिद्यार्थीहरुलाई पढाउँदै थिइन् ।
उनी भन्दै थिइन्–‘यसलाई जरैदेखि उखाल्न ढिलो भइसकेको छ । नत्र हिंसा घट्नुको साटो चुलिँदै जानेछ ।’ स्कुलको घण्टी बज्यो शोभा म्याडम कक्षाबाट बाहिर निस्किन् । राधा र शोभा म्याडमसँगै घरतर्फ लागे बाटोभरि यिनै प्रसङ्गमा कुराकानी चल्यो ।
परिवर्तन आफैबाट थाल्नुपर्छ भन्ने कुरामा ऊनी जोड दिँदै राधालाई सम्झाउँदै थिइन । बाटोमा जाँदै गर्दा तिर्खा लागेर पानी पिउन चिनेको एक घरमा पसे ।
अपरिचित महिलाले पानी सँगै केहि खानेकुरा पनि लिएर आइन् । बडो विनम्रताका साथ भनिन्–आज यो घरमा सरेकोले पूजा थियो प्रसाद पनि लिनुहोस् ।’ शोभा र राधाले बढो खुसीसाथ मिठो मानेर प्रसाद खाए । बिदा हुनेबेला शोभा म्याडमले धन्यवाद भन्दै जिज्ञासापूर्वक सोधिन् – ‘हजुरको नाम थर चाहिँ सोध्नै बिर्सेछु !’
घरबेटी मुस्कुराउँदै भन्दै थिइन्, मेरो नाम सिता विश्वकर्मा हो म्याडम । शोभा म्याडम मुख अलिक नमिठो बनाउँदै राधाको कान नजिकै गएर भन्दै थिइन्, ‘कस्तो नराम्रो सँग पेट दुख्यो ।’
वि.सं.२०७९ माघ २८ शनिवार ०८:०२ मा प्रकाशित






























