सरस्वती श्रेष्ठ सरू, पोखरा
आँगनी डिल बसेर आमा दोबाटो हेर्दी हुन्
हरेक साँझ अत्याससँगै लामो सास फेर्दी हुन्
खरको छानो चुहिँदो होला नसकी छाउन
मनको बाढी उर्लिँदो होला बर्सिँदा साउन
फाटेको चोली छेउकुना तुनी खै केले सिउँदी हुन्
सहारा दिने नहुँदा कोही धर्केर रुँदी हुन्
पीरले धुँदै मनको मान्द्रो मनैले बेर्दी हुन्
हरेक साँझ अत्याससँगै लामो सास फेर्दी हुन्
भाकामा ल्याको साँवा र व्याज बुझाउन नपाई
गोठको भैंसी साहूले कतै लग्यो कि धपाई
लम्की र धम्की तमसुक खोसी मोहोर लायो कि
खोजेर निहुँ भएको झिटी पापीले खायो कि
सके त आमा दुई अक्षर चिठी आफैले केर्दी हुन्
नसकी मुटु भक्कानो पारी लामो सास फेर्दी हुन् ।
वि.सं.२०७९ माघ २८ शनिवार ०८:१५ मा प्रकाशित






























