वसन्त अनुभव, घोराही, दाङ
‘ओइ रमेश ! आज भेटौँ न कतै बाहिर । एउटा कुरा छ ।’ अकस्मात् फोनमा उसले भेट्ने प्रस्ताव राख्दा म खुसीले पागल भएँ । ऊ मेरी क्लासमेट थिई । स्नातक अन्तिम परिक्षा दिइसकेपछि हाम्रो भेटघाट त के फोनमा कुराकानी समेत भएको थिएन ।
‘के कुरा हो त्यस्तो ? भन् न फोनमै ।’ तैपनि मैले भाउ खाँदै भने ।
‘हुन्न हुन्न फोनमा हुन्न । तेरो लागि एउटा सप्राइज छ क्या ।’ उसले ठाडै इन्कार गरी ।
‘सप्राइज ? तेरो लागि पनि मसँग सप्राइज छ नि । लु भेटौँ न त ।’ मैले पनि मौकामा चौका हानेँ । ‘यसपटक त जसरी पनि विहेको प्रस्ताव राखेर सप्राइज दिन्छु ।’ मनमनै भनेँ ।
म हतार हतार उसले भेट्न बोलाएको ठाउँमा पुगेँ । ऊ त्यहाँ पुगिसकेकी थिई । मलाई कुरेर नै बसेकी रहिछ । म आएको देखेर खुसी हुँदै हात मिलाई ।
‘सप्राइज दिन्छु भन्थिस् त । के कुरा हो लु भन् ?’ मलाई आतुर थियोे, जान्न ।
‘तैले पनि त सप्राइज छ भनेको थिइस् । त भन न पहिला ।’ दबाब दिदै उसले भनी ।
‘हुन्न हुन्न, लेडिज फस्ट ।’ भन्दै टारेँ ।
‘किरण !’ त्यत्तिकैमा उसले जोडले आवाज लगाई । एउटा युवक मुस्कुराउँदै उसको नजिक आएर उभियो ।
‘हि इज किरण, माइ ब्वायफ्रेण्ड । अर्को हप्ता हाम्रो बिहे हुँदैछ । तँलाई निम्तो छ है । जसरी पनि आउन्नुपर्छ नि, बुझिस् ।’ उसले मुस्कुराउँदै भनी ।
‘मैले त आफ्नो सप्राइज भने । अब तँ भन् । के छ तेरो सप्राइज ।’ उसले तत्काल मलाई सोधी ।
‘तेरो सप्राइजका अगाडि मेरो केही होइन । तैपनि हेर न मैले त ल्याउनै बिर्सेछु । कुनै अर्को दिन देखाउला नि ! हुन्न ?’ यति भनेर म त्यहाँबाट अध्यारो अनुहार बनाउँदै निस्किएँ ।
वि.सं.२०७९ माघ २८ शनिवार ०८:१४ मा प्रकाशित






























