अनिल भण्डारी उदाश, अछाम
१
दुखै दुःखले बलियो डोरी बाटेको वर्षौँ भैगो
मलाई पलपल सताउन आँटेको वर्षौँ भैगो
किन छ्स ए मन अझै सुख फर्किने आशमा
जीवनबाट सुखले डाँडा काटेको वर्षौँ भैगो
२
सजिलै नदिनु कसैलाई मन जमाना उल्टो छ
गरिदिन्छन् भावनाको पतन जमाना उल्टो छ
जिन्दगी दिन्छु भन्नेले नै जिन्दगी लुटेका छन्
सुम्पिदा ख्याल गर्नु जीवन जमाना उल्टो छ
३
प्रिया तिमीले के देखेऊ अन्तर यो दिलमा
र त बनाउन उचित ठानिनौ घर यो दिलमा
जिन्दगीको पुरै किताब पनि अधुरो लाग्छ
जब हेर्दा देखिन्न तिम्रो हस्ताक्षर यो दिलमा
४
खुसीहरूमा आधाआधि भाग लाग्न सक्छ
सपनाहरूको खातमा आग लाग्न सक्छ
तिमी पनि त्यहीँ कोरो कागज जस्तै त हौ
कुनै कलमले छुना साथ दाग लाग्न सक्छ
५
मैले एउटै कुरा घरीघरी भन्नै पर्ने होर
राखेको छु मनको वरिपरि भन्नै पर्ने होर
मेरो फेर्ने हरेक सासमा नसा–नसामा छौ
अझैपनि सम्झन्छु बेस्सरी भन्नै पर्न होर
वि.सं.२०७९ फागुन ६ शनिवार ०८:५३ मा प्रकाशित






























