डा. विदुर चालिसे, काठमाडौँ
-“हरेराम गाउनुस बा हरेराम ! बुढेसमा !“
रङ्गिन भिडियो कलबाट छोराहरू बाबुलाई सम्झाइरहेका थिए । छोराहरूको असिमित माया देखेर गाउँलेहरू ठान्थे ।
-“क्या ! समर्थवान छोराहरू !“
बुढा बाबू भिडियो कलको स्क्रिन अगाडि अनुहार मात्रै देखाएर छोराहरूतर्फ हेरिरहेका थिए । माइक अफ भएर हो या बोली नफुटेर हो उनको आवाज सुनिएको थिएन । छोराहरू प्रफुल्ल भएर ठाने ।
-“प्राविधिक मिस्टेक !“
बाबुले छोराहरूलाई केही भनेनन् । उनले ढाड कुप्य्राएर लठ्ठी समाते । नजिकै भएको लोटा ताने । मुख कुल्ला गरेर मनमनै पाक्दै भने ।
-“मेरो जीवनको सबैभन्दा ठुलो आदर्श !“
एकछिनपछि छोरीले भिडियो कल गरी । उसको कलमा पनि त्यत्तिकै दम थियो। गाह्रो भएर थचक्क बसेका बाबुको हातको मोवाइल थर्किएर कराइरह्यो । छोरीले विलौना गर्न लागी ।
“बिदेश बस्ने केटालाई कोही नभएझैं विहे गरिदियौ !“
बाबुचाहिँ भक्कानिए । आफ्नो बुढ्यौली पीडा र अशक्तताले थला परेको अवस्थामा सम्राज्ञीको पोजको छोरीले खुब थर्काई । उनले आँखाभरि आँसु टिलपिल पार्दै मौन अभिव्यक्ति दिए ।
-“म त डाँडामाथिको जून हुँ, कति टोक्छौ ?“
यत्तिकै झर्किलो आवाज मोवाइल कलमा आइरहेको थियो । उनले आफ्नो हृदयको बुढ्यौली पीडाको भेल बन्द गर्न खोजे तर सकेनन् । मोवाइल बन्द गरे । घोप्टो परेर रूँदै करूणामय वेदनाको स्वरमा हृदयमा जमिरहेको एक्लो जीवनका लयबध्द अनुभवी बोलको गीत गाउन थाले ।
–“चोरेँ, ढाँटे, छलेँ, कमाएँ, हुर्काएँ, सिकाएँ, समरथ बनाएँ तर
जीवनमा के पाएँ ?“
गाउँको एक दुखी मानिस आयो । मानवीयताले आल्हादित भएर सम्झाउँदै भन्यो ।
-“नरूनोस बा ! नरूनोस ! म पनि छु नि हजुरको !“
त्यसपछि उनी खल्ट्याङखल्ट्याङ गर्दै ओरालो लागे । ढोका छेउमै ठेस लागेर पुर्लुक्क ढले । तत्काल उनको हृदयबाट एक वेदनाले झन्कृत आवाज निस्क्यो ।
-“तिमीहरू सबैको जय होस !“
वि.सं.२०८० वैशाख ३० शनिवार ०७:३६ मा प्रकाशित






























