
वसन्त अनुभव, घोराही, दाङ
‘हैन ए तिखे ! के चाला हो हँ तेरो ? यसरी मनलाग्दि आँठो ताछ्न हुन्छ ? तलाई रत्तिभर लाज लागेन ?’ आँठो ताछेको देखेर भक्ते उम्लियो ।
‘लाज .. ? लाज त तिमीलाई लाग्नुपर्ने हो । यसरी अर्काको जग्गा मिच्न पाइन्छ ? मैले आफ्नो बारीतिर आएको झार पनि ताछ्न नपाउँनु ?’ तिखे पनि बम्कियो ।
‘झार ताछ्ने भन्दैमा आँठै भत्काउन पाइन्छ ? तैँले निहुँ नै खोजेको होस् त !’ भक्तेको पारो झनै तात्यो ।
‘हो, मैले निहुँ नै खोजेको हो । के नाप्छौ नाप ? जो चोर उसैको ठूलो स्वर !’ कम्मर कस्दै तिखेले हात सुर्कन थाल्यो ।
रिसको झोकमा भक्ते तिखेमाथि जाइलाग्दै हात उठाउन के तम्सेको थियोे, एक्कासि चक्कर खाएर भुइँमा बङ्लङ्ग पल्टियो । होशमा आउँदा भक्ते अस्पतालको बेडमा थियो ।
‘ए डाक्टर नानी ! मलाई के भएको थियो ? यहाँ कसले ल्यायो ?’ भक्तेले नर्सलाई बोलाउँदै भन्यो ।
‘प्रेसर बढेर एक्कासि बेहोस हुनुभएछ । उहाँले समयमै यहाँ नल्याएको भए केही भन्न सकिन्नथ्यो ।’ मुन्टो बटारेर पर छेउमा बसेको तिखेतिर देखाउँदै नर्सले भनिन् ।
‘किन मुन्टो बटारेर बस्छ्स् ए तिखे ? नगर्नु धर्म गरिहालिस् । यो ज्यान त तेरो पो ऋणी भो गाँठे ! अब नरिसा न । के गर्छस् त ? मान्छे हुँ गल्ती भो । अब माफ गरिँदे ।’ माफी माग्दै भक्तेले भन्यो ।
‘आफ्नै आँखा अगाडि त कसरी मर्न दिनु हो ? शत्रु नै भएपनि छिमेकी हौ, माया लाग्छ ।’ उठेर भक्तेको नजिक आउँदै तिखेले अगाडि भन्यो,– ‘खासमा भन्ने हो भने गल्ती त मेरो पनि थियोे । त्यसरी आवेगमा आएर दाजु समान मान्छेमाथि हात सुर्कन हुँदैनथ्यो । बरू मलाई पनि माफ गर है !’