
रन्जना पराजुली लम्साल
बुद्धनगर, काठमाडौँ
‘कता हिँडिस् हौं बिर्खे ? देखेर पनि नदेखेझैँ ।’
झोक्रीएर निउरी पर्दै हिँडेको बिर्खे झस्कदै , ‘ए, माल्दाइ पो ।’
‘मुख पनि न्याउरो छ । कहिले पसल बन्द नगर्ने केटो । सन्चो त छस् ?’
‘खोइ माल्दाइ, सन्चो भनु कि बिसन्चो ।’
‘के भो भन्न, भनेपो थाहा हुन्छ ।’
जागीरे माल्दाइ, गाउँका सानादेखि ठुला सबैले माल्दाइ भनेर बोलाउथे । आफू जाती भएर सबैको भलो चिताउने माल्दाइ सर–सल्लाह दिन पछि पर्दैनथे । लगभग सत्तरी– पचहत्तर घर भएको गाउँमा अन्य पसलसङ्गै खाद्य पसल चाहिँ बिर्खेको मात्रै थियो । सकेसम्म सबै चिज पाइने भएपनि कुनै चिज नपाए अलिकति हिँडेर पल्लो गाउँ जानुपथ्र्यो ।
माल्दाइले निकैबेर केरकार गरेपछि ‘दाइ, म त डुब्ने भए । पसलले डुबाउन लाग्यो ।’
‘के भन्छ, पसल त राम्रै चलेको देख्छु त !’
‘चलेको छ दाइ, नचलेको होइन तर …।’
‘तर के ?’, बिचैमा माल्दाइको प्रश्न ।
‘व्याजमा ऋृण काढेर सामान भर्यो, सबै उधारो लान्छन् । पैसा माग्दा भोलि भोलि भन्दै आउनै छोडी पल्लो गाउँ धाउछन् अनि म डुबिन ।’
‘ए ! उधारो पाए भिड लाग्ने । खाएपछि पैसा तिर्न नजान्ने । यो मान्छेको जात साच्चिकै नहुने । नआत्ती बिर्खे, म एउटा सल्लाह दिन्छु ।’
‘कस्तो सल्लाह ? भन्नुन’, हतारियो बिर्खे ।
‘सुन् बिर्खे ! आफ्नो पैसा माग्न अप्ठ्यारो नमानि घरमै जा । मीठो बोलिले अलिअलि गर्दै दिनु भनेपछि कसो नदेलान् ।’
‘फेरि उधारो लगिहाल्छन् अनि जस्ताको तस्तै ।’
‘कति आत्तेको, अझ भन्न बाकी नै छ । त्यसपछि उठेको पैसाले टन्न सामान भरेर सुपथ मूल्यमा बेच पल्लो गाउँको भन्दा सस्तो तर घाटा चाहिँ नपर्नेगरि । अनि सुन् अझै महत्वपूर्ण कुरा ।’
‘के कुरा दाइ ?’
‘भित्तामा “आज नगद भोलि उधारो ’ लेखेर झुण्ड्याउनचाही नबिर्सी नि !