
मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा–२,रुपन्देही
‘लौ न, बित्यासै पार्यो मोराले ! अब के गर्ने ?’, हडबडाउँदै बोले उनी ।
विशेष कार्यक्रमको लागि कार्यालयको प्रतिनिधित्व गरेर काठमाण्डौ आएका थिए काशीनाथ ।
टाई सूटमा चट्ट सजिएका उनी फोहर जुत्ताले आफैलाई गिज्जाएको महसुस गरे । त्यसैले होटलबाट निस्किएपछि दायाँबायाँ हेर्दै हिँडेका थिए। सुन्धारानिर बाटो छेउमै भेटे जुत्ता पालिस गर्नेवाला ।
जुत्ता फुकालेर पालिस गर्न दिए । पालिस गरुञ्जेलको लागि पालिसवालाले दिएका थोत्रा चप्पल अप्ठ्यारो मान्दै लगाए । उभिएर धरहरा हेर्दै एकोहोरो टोलाइरहेका थिए ।
पालिसवालाले एक्कासी सब सामान पोको पारेर दौडियो । उनको जुत्ता पनि छाडेन ।
ऊ यति छिटो भाग्यो कि काशीनाथले त्यसको भेउ पाउनै सकेनन् ।
यताउता नजर दौडाए तर ऊ अलप भै सकेको थियो ।
एकैछिनमा आफू नजिकै नगर प्रहरी देखे । अनि मात्र पालिसवाला भाग्नुको कारण थाहा पाए ।
काशीनाथ अधिर बने । कार्यक्रममा पुग्न ढिला भै सकेको थियो । यता जुत्ता हरायो । अब कसो गर्ने ? चिटचिट पसिना आयो उनलाई ।
’नजिकै कतै जुत्ता पसल छ कि ? किन्नु त पर्यो, अरु उपाय के छ र ?’, सोच्दै केही कदम हिँडेका मात्र के थिए टुप्लुक्क देखा पर्यो पालिसवाला ।
‘धत् यस्तो पनि गर्ने हो ? कमसेकम मेरो जुत्ता त छोडेर भाग्नु पर्थ्यो।यहाँ आफूलाई कत्रो तनाव भो ?’, पालिसवालालाई हपारे उनले ।
‘के गर्ने हजुर, रोजिरोटीको वात छ । यी पुलिसवालाले हामी गरिब आदमीको गरि खान दिन्न ।’, उसले निरिहता प्रकट गर्यो ।