पुष्पलाल पाण्डे । आज दलानको भित्तामा अर्को तस्वीर थपियो । जिजु हजुर बा देखि बुवाका तस्वीरसम्म सबै चिनारु तस्विर थिए । यिनै चिनारुहरुको बिचमा एउटा अनचिनारु तस्बिर थपियो । बडो सुकुमार, हेरु हेरु लाग्ने, खाइलाग्दो मान्छेको तस्विर आज बुवाले झुण्ड्याउनु भयो ।
मनभरी खुलदुली जाग्दै थियो – हाम्रा बा जस्तै राम्रो को मान्छे रहेछ ? शायद मेरो बाल मनोबिज्ञान भित्रको खुलदुली बुझेर होला बुवाले मैले नसोध्यै भन्नुभयो – उहाँ हाम्रा ठुला नेता पुष्पलाल हुनुहुन्छ ।
भर्खर तीन कक्षा पढ्दै गरेको मलाई मेरै नामको तर म नभएको तस्वीर भित्तोमा देख्दा झन अनौठो लाग्यो । यत्तिकैमा बुवा कता लाग्नु भयो । मलाई फेरि अर्को अनौठो लाग्यो । अरु सबै तस्विर हेरे ती तस्विरमा कतै केही लेखेको छैन । तर बुवाले पुष्पलालको भन्नू भएको तस्विरमा भने ‘जनता राजनीतिक रुपले चेतनशिल हुनुपर्छ । कार्यकर्ता संगठित हुनुपर्छ । क्रान्ती अवस्यम्भावी छ । यो कसैले रोकेर रोकिदैन । क पुष्पलाल’ लेखिएको थियो । अरुले त मलाई छोएन । तर ती पुस्पलाल भन्नेको अगाडि क लेखेर दिएको थोप्लोले मलाई पछि सम्म छोइरह्यो । क का अगाडिको थोप्लोको गुथ्थी धेरै पछिसम्म रहि रह्यो ।
खैर जे होस् तस्विर हेरिरहुँ लाग्ने थियो । बुवाको एक्काईस बर्षे जवानीको तस्विर र पुष्पलालको तस्विर साच्चै मीत लगाउन मिल्ने खालका थिए ।
पुष्पलालको तस्वीर झुण्ड्याइएको यस्तै तीन महिनापछि होला हाम्रो दलानमा गाउँका जाने बुझेका धेरै मान्छे जम्मा हुनुभयो । पुष्पलालको तस्वीर बेन्चिमा राखियो । तस्विरमा माला लगाइयो । अविर लगाइयो । अनि गजवले हात उठाउदै भनियो कमरेड पुष्पलाल अमर रहुन् ।
गाउभरी टिकाराम डाक्टर भनेर चिनिने टिकाराम सर, तेजनारायण सर, ऋषि सर, बाबुलाल सर लगायतका स्कुलका सरहरुले स्कुलमा जस्तै त्यहाँ पनि के के भन्नू भयो । अन्तिममा फेरि उक्त तस्विर दलानको भित्तोमै झुण्ड्याइयो । अगाडिसम्म जम्मा भएका गोडा बिशेक मान्छे पनि तिरपाछ लागे । पुष्पलाल भित्तामा झुण्डिए । हामी हाम्रै काममा झुम्मिइम् ।
तर घाम बुडिकोटमा बस्नै लाग्दा अर्को अचम्म भयो । कताबाट हावाको बेगमा गाउकै चौकिको जुङ्गे हवल्दार दुई जना सिपाही लिएर आयो । सिपाहिलाई भित्ताबाट तस्विर निकाल्न लगायो । र बुटले कुचेर झ¥याम्म फुटायो । एकछिन अगाडि सम्म भित्तामा बासँगै मुस्कुराएको तस्विर अहिले जुङ्गे हवल्दारको खुट्टा मुनि कच्याक कुचुक भयो । फोटो फुटाउदै जुङ्गे हवल्दार के के बर्बरायो । खै के के भन्दै हवल्दारले हजुरबालार्ई थर्कायो । बुवाका बारे सोध्यो । बुवालार्ई ‘अराष्ट्रिय तत्व’ भन्दै गाली ग¥यो । र सिपाहीलार्ई पछि लगाएर आफ्नो बाटो लाग्यो ।
हामी केटाकेटी पुलिसको चर्तिकलामा अभ्यस्त थियौ । पटक पटकका पुलिसका हैरानी सङ्ग वाकिफ थियौ । तर अहिले फोटोसँग पुलिसले रिस पोखेको देखेर भने फेरि अर्को अचम्म लाग्यो । मनमा प्रस्नको मुस्लो उठ्न थाल्यो । बुवालाई त्यति गाली गर्ने, पटक पटक पक्डिने जुङ्गेले किन बुवाको तस्विर केही गरेन ? त्यो नौलो मान्छेको तस्विर त्यसले किन फुटायो ? मेरो बाल मस्तिष्कमा अचम्मको प्रश्न प्रेरित आधिबेहरी सृजना भयो ।
पुष्पलालको फोटो भित्तमा झुण्ड्याएर हिँडेका बुवा आज घर आउनु भयो झमक्क साँझ पारेर । बुवा टुसुक्क पिंडिमा बस्न नपाउँदै मैले भने-बुवा पुष्पलालको फोटो जुङ्गेले फुटाइदियो नि ! बुवा बोल्नु भएन । अलिबेरमा लामो सास तान्दै बुवाले भन्नू भो – अहिले पुष्पलालको तस्विर फुटाउनेहरुले उनैको तस्विरमा माला चढाउने दिन अवस्य आउने छ ।
बुवालाई लाग्यो छोरोले केही जान्न खोज्दै छ । आलमारी खोल्नु भयो । तिनै पुष्पलालका फोटै फोटा भएको एउटो किताब मलाई दिनु भयो । र भन्नुभयो – ठुला बाबू यसमा भएका फोटा हेर्नू पढ्न मन लाग्दा केही पढ्नु । किताबको बाहिरी पानामा जुङ्गेले कुचेकै फोटो थियो । सिरानमा लेखिएको थियो ‘नयाँ जनवाद’ । किताबै भरी पुष्पलालका फोटा थिए । यहि किताब थियो मैले मेरो गणित, महेन्द्रमाला र सामाजिक पछि पढेको अर्को किताब । र जाँच दिन नपर्ने पहिलो किताब ।
यिनै पुष्पलाल हुन् मेरो परिवार बाहेक अर्को मान्छेको पहिलोपटक फोटो देखेको मैले । यिनै पुस्पलाल हुन् मेरा कक्षाका जाँच दिनपर्ने बाहेकको किताब पहिलो पटक पढेको मैले ।
तिनका सिद्धान्त त मैले के बुज्थे र तर मैले तिनलार्ई आजसम्म पढे र बुझे यी त साच्चिकै नायक रहेछ्न ।
यिनी बिरामी भएर जीवन र मृत्युसँग लडिरहेका थिए, नयाँ दिल्लिको गोबिन्द बल्लव पन्त अस्पतालको साधारण शैयामा । त्यही समय भारतको सत्तारुढ दल जनता पार्टीका नेता चन्द्र शेखरले भने –‘नेताज्यु हजुरले हुन्छ भनिदिनुस् हामी हजुरलाई भिआइपी क्याबिनमा राखेर उपचार गर्छौ । सबै खर्च सरकारले बेहोर्छ ।’ तर यिनले मानेनन् । मृत्यु रोज्न तयार भए तर पराइले बचाइदिएको प्राण बोकेर हिड्न तयार भएनन् ।
यिनिसँग मेरो गजवको संयोग पनि रह्यो । यिनले मृत्युसँग हारेको एक महिनापछी म जन्मिएँ । यिनको अस्तु बोकेर दिल्लीबाट आएका नेतालाई स्वागत गर्न र यिनको अस्तु बागमतिमा बिसर्जन गर्न एयरपोर्ट पुगेका मेरा बा उता जेल पर्नु भो यता गाउँमा म जन्मिए । म जन्मेको ११ औं दिनमा बा जेलबाट छुट्नु भो र घर आएर मेरो नाम तिनै बाका श्रद्धेय नेता पुष्पलालको सम्झना आउने गरी मेरो नाम पुष्पलाल राखिदिनु भयो ।
अहिले मेरा दुई नायक पुष्पलाल र मेरा बा टोमलाल दुबै भौतिक रुपमा जिवित हुनुहुन्न । तर उहाँ दुबै जनासँग गजवको इतिहास छ । बाँचुन्जेल पिएको अपमानरुपी बिषको घुट्कोलाई सहज रुपमा घाटिमा राखेर आफुलाई र लोकलाई बचाउन सक्ने निलकण्ठरुपी तागत र अहम सहन सक्ने क्षमता छ । त्यसैले त आज पुष्पलाल साच्चै पुष्पलाल भएर चिनिनु भएको छ । साँच्चै मनैदेखी हार्दिक श्रद्धाञ्जली कमरेड पुष्पलाल ।
वि.सं.२०८० साउन ७ आइतवार ०९:४९ मा प्रकाशित






























