
जेष्ठ नागरिक भनेका हाम्रा समाजका गहना हुन् । अहिले नेपालमा हरेक वर्ष जेष्ठ नागरिकहरुको संख्या बढ्दै गएको छ । हालैको एक तथ्याकं अनुसार नेपालको कुल जनसंख्याको १०.३१ प्रतिशत जेष्ठ नागरिक रहेका छन् । जेष्ठ नागरिकहरुको लामो सरकारी जागिरको अनुभव, विभिन्न व्यवसायमा रहेको, अनुभव उहाँहरुले जीवनमा भोगेका दुःख सुःख वैवाहिक जीवन, वर्तमान समयमा उहाँहरुले भोगेका दुःख सुःखबारे उहाँहरुको अभिव्यक्ति व्यक्त गर्ने थलोको रुपमा रेडियो कार्यक्रमको अनुभव गरि वि.स. २०७६ साल भाद्र १३ गते कुशे औंशीका दिन दक्षिण एशियामा नै स्थानीय निकायद्धारा संचालित पहिलो सामुदायकि रेडियो मेट्रो एफ.एम. ९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी साप्ताहि रेडियो कार्यक्रम संचालनमा रहेको छ । यो कार्यक्रम नियमति रुपमा साप्ताहिक रुपमा हरेक शुक्रबार सांझ ६ः३० बजे बाट ७ः०० बजेसम्म संचालन हुँदै आएको छ ।
यो कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा नेपाल सरकारका पहिलो अर्थ सचिव स्व. हिमालय शम्शेर राणा देखि बरिष्ठ पत्रकार तथा रेडियो सगरमाथाको लोकप्रिय कार्यक्रम ‘उहिले बाजेको पालामा’ कार्यक्रमका संचालक बरिष्ठ पत्रकार भैरव रिसाल, हाल ललितपुर नगरपालिका वडा नं १३ अरुनिमा बस्तीमा बसोवास गर्दै आउनु भएकी एक सय एक वर्षीय इन्द्रमायाँ पौडयाल, १०० वर्षीय छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दास, जेष्ठ नागरिक महासंघका राष्ट्रिय अध्यक्ष तथा नेपाल प्रहरीका पुर्व एसपी छत्रबहादुर प्रधान लगायत धेरै जना महानुभावले यस रेडियोमा आएर आफनो अनुभव, जीवनको भोगाई र बर्तमान समयमा आफुले भोगेको दुःख सुःख बारे अनुभव बताई सकेका छन् ।
हिमालय शम्शेरले आफनो अनुभव बताए अनुसार शुरुमा काठमाडौंको त्रिचन्द्र क्याम्पसमा विज्ञान विषयको अधयन गरे पनि पछि उहाँ आफन्त राणाहरुको सल्लाहमा भारतको मुम्बई गएर अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरि नेपाल फर्कनु भयो । पछि आएर उहाँ नेपालको अर्थ मन्त्रालयको पहिलो अर्थ सचिव र पछि नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर पनि हुनु भयो । उहाँले नै नेपालमा पहिला देखि चल्दै आएको भारु रुपैयाको आधिपत्य हटाई नेपाल रुपैयालाई चलन चल्तीमा ल्याउनु भयो । त्यतिखेर अहिलेको जस्तो बैकिंड प्रथा राम्रो नभएकाले काठमाडौंबाट पैसा मुम्बई पठाउँदा पहिला आधा रुपैयाको नोट काटेर र अक्रो नोट पछि काटेर आधा टुक्रा पठाउने चलन रहेको पनि बताउनु भयो । त्यतिखेर अहिले जस्तो यातायातको सुविधा नभएकोले गर्दा आफुलाई भरियाहरुले बोकेर हेटौडासम्म पु¥याउने गरेको पनि उहाँले बताउनु भएको थियो । यसैगरी त्यसपछि उहाँ रक्सोलबाट रेलमा मुम्बइ गएको बताउनु भयो ।
यसैगरी नेपालका दोस्रो छाती रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासले सन् १९५१ मा पटना विश्वविद्यालयबाट एमबीबीएस उत्र्रीर्ण गर्नु भयो र नेपालको पहिलो सरकारी हस्पिटल बीर अस्पतालमा वि.स. २००९ साल फाल्गुन १८ मा मेडिकल अफिसरको रुपमा सेवा शुरु गर्नु भयो । र एक वर्ष पछि टोखास्थित टिबी चेस्ट क्लिनीकमा मुख्य अफिसरका रुपमा सेवा गर्नुभयो । त्यहाँ कार्यरत रहेकै अवस्थामा उहाँ उच्च शिक्षाको लागि बेलायत जानु भयो त्यहाँबाट टिबी रोगमा विशेषज्ञता हासिल गरी पुन काठमाडौं आई मेडिकल सुपरिडेन्टको रुपमा वि.स. २०२४ सालसम्म टोखा टिबी सेनिटेरियममा कार्यरत रहनु भयो । उहाँ बेलायत जाँदा त्यतिखेर भारतको मुम्बइबाट करिब ३१ दिनमा पानी जहाजमा बेलायत पुग्नु भएको स्मरण गर्नुभयो ।
यस्ता यस्ता अनुभव जेष्ठ नागरिकहरुले रेडियोमा बताउने गरेका छन् । वि.स. २०५१ म साल मनमोहन अधिकारी नेपालको प्रधानमन्त्री रहेका बेला त्यतिखेरका अर्थमन्त्री भरत मोहन अधिकारी मासिक एक सय रुपैयाका दरले जेष्ठ नागरिकहरलाई सामाजिक सुरक्षा भत्ता अन्तर्गत शुरु गरेका भत्ता अहिले स्थानीय सरकारले ६८ वर्ष पुगेका नागरिकहरुलाई मासिक रुपमा रु चारहजार प्रदान गदै आएको छ । यसले केही हदसम्म जेष्ठ नागरिकहरुलाई मासिक रुपमा औषधि खर्चमा केही राहत भए पनि दीर्घरोगी जेष्ठ नागरिकहरुलाई भने यसले केही पनि हँुदैन । अहिले झन हुने खाने परिवारका छोराछोरीहरु विदेश उच्च शिक्षा अध्ययन गर्न विकसित मुलुक जाने र पछि त्यतै पलायन भएर उतै बस्ने गर्नाले निम्न आय भएका व्यक्तिहरु खाडी मुलुक जाने र रिटायर भए पछि नेपाल फर्कने क्रमले गर्दा भविष्यमा नेपाल कतै जेष्ठ नागरिकहरुको मुलुक हुने होकि भन्ने खतरा रहेको छ । अर्को अर्थमा अलिे काठमाडौमां रहेका जेष्ठ नागरिकहरु घरमा एक्ले बस्न बाध्य छन । छोराबुहारी अफिस जाने, नातिनातिना स्कुल जाने भएकाले जेष्ठ नागरिकहरु घरमा एक्लै रहनु पर्ने बाध्यता रहेको छ । अर्को कुुरा अहिले पनि जेष्ठ नागरिकहरु सार्वजनिक यातायातमा यात्रा गर्दा जेष्ठ नागरिकहरुलाई देखिने गरी बस्ने सिट उपलब्ध नहुने अवस्थाले गर्दा ट्राफिक प्रहरीले समय समयमा पनि बसमा चेक जाँच गर्न जरुरी देखिन्छ । अर्को कुरा सरकारी अस्पाताल, सरकारी कार्यालय, यातायत कार्यालयमा नवीकरण गर्न जाँदा पासपोर्ट बनाउने कार्यालयमा आदिमा जेष्ठ नागरिकहरुलाई विशेष छुट्टै लाईनको सुविधा अझै प्राप्त हुन सकेको देखिदैन । अर्को कुरा सरकारी जागिरबाट अवकासप्राप्त मुख्य सचिव, सचिव निजामती कर्मचारीबाट सरकारले जुन सहयोग लिनु पर्ने हो त्यो लिन सकेको छैन । विदेशमा त अवकासप्राप्त कर्मचारीहरुलाई राज्यले नै विशेषज्ञ (थिंक टयांक) का रुपमा राख्ने गरेको छ । नेपालमा पनि यो परम्परालाई अघि बढाउन सकियो भने हाम्रो समाजमा रहेका जेष्ठ नागरिकहरुको अनुभवबाट देश लाभान्वित हुन सक्छ । साथै भावी युवा पुस्ताले पनिे जेष्ठ नागरिकहरुबाट धेरै कुरा तथा ज्ञान तथा सिपहरु सक्न सक्छन् ।
राष्ट्रिय सभागृह, काठमाडौंमा रहेको मेट्रो एफ.एम. ९४.६ मेगाहर्ज, बाट प्रसारित ‘पाका कुरा, जेष्ठ नागरिक सम्बन्धी’ कार्यक्रमको संचालक रहेका सेडाई हालै महानगरबाट रिटायर्ड भएका छन् ।
kishor.solidarity@gmail.com
वि.सं.२०८० मंसिर २ शनिवार ०९:१३ मा प्रकाशित