सुशिला शर्मा धमला, काठमाडौं
प्रेमको छ मेरो घर, सबै जलाई दिनुस्
दुःखमा छु मित्र झन्, ठुलो बधाई दिनुस्
लालसी स्वतन्त्रता खोजेर बेघर छ जो
द्रौपदी हो या यशोधरा बताई दिनुस्
छिर्के लाउनुस् मलाइ यार ढाल्नुस् बरू
सक्नु हुन्न श्वास रोकिने दबाई दिनुस्
उर्लिएको भेल छेक्न खोज्ने हिम्मत कति
बाटो छेक्न त्यो पहाड नै पठाई दिनुस्
घामको ज्वाला रहेछ भित्र अश्लाघ्यको
तिनको लागि शीतलता म हो सुनाई दिनुस्
बहर : रमल मुसम्मन मक्सूर मरतूअ
अर्कान : २१२१–२१२१–२१२२–१२
वि.सं.२०८० मंसिर १६ शनिवार ०८:१३ मा प्रकाशित






























