ओमकुमारी बन्जारा रानाभाट
सामाखुसी, काठमाडौं
अँध्यारैमा ओछ्यान छोडी जानु छ दौड लगाउन
शरीरका प्रत्येक कोसिकामा प्राण भरी जगाउन
तामाको भाँडाको जल साह्रै स्वस्थ हुन्छ साथी
शरीरको ख्याल राख्दा जिन्दगी मस्त हुन्छ साथी ।।
उदायो सूर्य सबेरै न्यानो किरणको आस पलायो
मन्द मुस्कान छर्दै मौसमले सिर्सिर बतास चलायो
चियाको चुस्की लिँदै दिनभरिको योजना बुनिन्छ
सफलताको शिखर चुम्ने साकार सपना गुनिन्छ ।।
निस्कनु छ बाहिर दैनिकी पेटको खातिर कमाउन
छोटो छ जिन्दगी साथी सिक्नुछ एक्लै रमाउन
घामपानी घामपानी जीवनको यही एक रीत रहेछ
धैर्यताको बर्को ओडी बाँच्नुपर्ने सच्चा प्रीत रहेछ ।।
बगैँचामा फूल फुल्दा मीठो सुवास फैलिदिन्छ
खडेरीमा वाटिका सुक्दा मन अनायासै मैलिदिन्छ
चराचुरुङ्गी चिर्बिर गर्दा आँतमा खुसी बढ्दै जान्छ
अनावृष्टिले बाली सुक्दा कठैबरा के पो खान्छ।।
मान्छे पनि चरी जस्तै फुरफुर फुरफुर देख्न पाऊँ
भँवराको भाषा बुझी तिनकै गाथा लेख्न पाऊँ
रमाइलो हुन्थ्यो जीवन हाँसीखेली बाँच्न पाए
मालसिरीको धुनमा हजुर छमछम गरी नाँच्न पाए ।।
वि.सं.२०८० मंसिर ३० शनिवार ०८:२४ मा प्रकाशित






























