रामशरण न्यौपाने, भक्तपुर
छन् दासताबिच यहाँ दुनिया फसेका
पङ्खी समान पिँजरा बिच नै बसेका
उन्मुक्त पार्न दिलभित्र थपी विवेक
जन्मेन यो मुलुकमा किन मर्द एक?।।१
रित्तो छ लोक कतिको घरबार छैन
सामन्त गर्दछ सधैँ सुख स्वर्ग चैन
बाधा र विघ्न सब मेट्न भनी अनेक
जन्मेन यो मुलुकमा किन मर्द एक ?।।२
भोको छ धेर जनता भ्रमको छ खेती
सक्दैन जान परदेश घरै नबेची
छन् सर्पका बगलमा खुद मत्स्य भेक
जन्मेन यो मुलुकमा किन मर्द एक ?।।३
गाई भनेर किन गर्दभ पुज्छ लोक ?
सारा सुसभ्य जनको छ यहाँ बिजोक
देखेर चाल कवि पर्छ झनै उदेक
जन्मेन यो मुलुकमा किन मर्द एक ?।।४
पारिन्छ हेर सबको पसिना नि गाँस
छन् स्रोत यो मुलुका छरपस्ट नाश
को गर्छ देश जनको अब रेखदेख
जन्मेन यो मुलुकमा किन मर्द एक ?।।५
छन्द : वसन्ततिलका
गण : त भ ज ज गु गु
संकेत : SSl Sll lSl lSl S S
वि.सं.२०८० पुस १४ शनिवार ०८:१६ मा प्रकाशित






























