महेश राज खरेल, काठमाडौं
म हिड्ने बाटो भरिका
लहलहाउँदा उम्रँदै गरेका
लोभलाग्दा मकैका
साना टूसा हौ तिमी
कतै नहेरी कतै नअलमलिई
अकासिएर आकाशतिर
बडिरहेका मेरा हृदयका
आभास हौ तिमी
हेर्ने गर्छु म
सरदका बगैचाहरुमा
लोभलाग्दो फूलको बोटबाट
जन्मीई रहेको सानो कोपिलालाई
अनि कल्पन्छु प्रसव वेदनाले
छटपटाई रहेकी सृजनाकी जननीलाई
तिमी पल्लवित भएर फक्रन्छौ
जीवनको नविनता प्राप्त शिशु झै
लाग्छ मलाई
तीनै जननीका आशाको रत्न हौ तिमी
हाम्रो बगैचाका अमूल्य पुष्प हौ तिमी
हिडेर म यात्रा आफ्नो जिन्दगीको
चिसो हेमन्त
र उजाड शिशिर नाघ्दै गर्दा
वसन्तको नव पाउला बनी
पाउली दिन्छौ आँखै अगाडि तिमी
गर्भिलो आस्था र चेतनाले
उभिई रहन्छु म
तिमीप्रति दर्बिलो स्पातिलो आस्तिक बनी
भेट्ने आकाँक्षासाथ तिमीलाई
निष्ठाका बारीहरुमा
सन्देशको प्रवाह छर्दै
देख्छु सदा म
उचाई बढाउँदै माथि माथि बड्दैछौ तिमी
जीवनका पारिला घामका खोजी गर्न
राष्ट्रको समुल मुहार फेर्न
आजका कलिला न्याना सूर्य जस्ता
हरेकका मनभित्र रहर बनेर उभिएका
भोलीका देशका सामर्थ्यवान
कर्णधार तिमी
हो ! आजका फूलका कोपिला तिमी
भोलीका देशका कर्णधार हौ तिमी
भोलीका देशका कर्णधार हौ तिमी ।
वि.सं.२०८० पुस १४ शनिवार ०८:१९ मा प्रकाशित






























