back
CTIZAN AD

कविता : भोकको उत्सव

वि.सं.२०८० पुस २१ शनिवार

2.7K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक- झापा

क्षितिजपारी टाढा समुद्रमा
मेरो आँसुको मसीले
नुनिलो छालमा कुँदिएको छ
प्यासी यौवनवयको
अतृप्त प्रेम कहानी
किनारमा कतै लेखिएको छ
उष्ण मरुभूमिका
हरपल झुल्स्याउने
बालुवाका कणकणमा
मेरो जीवनको सत्यकथा ।

बिरानो भूगोलमा
थोपाथोपा पसिना बेचेर किनेको
रेमिटेन्सको हीराको हार
सुनको किस्तीमा सजाएर
सत्ताको सट्टा बजारमा
लिलाम बढाबढ गर्न राखिएको छ
खरीदकर्ताको लाममा छन्
नयाँ अवतार लिएका
इतिहासका ऐयाश बादशाहरु ।

क्षितिजपारी बन्द बाकसबाट
शोकको आँधी आउँछ
गाउँ रुन्छ, शहर कहालिन्छ
विडम्बना
बेरोजगार नागरिक
गोलीको सिकार बन्नुपर्छ
जनताको रगत र पानी
के उस्तै उस्तै हो !?
इतिहासको निडर कलमले
सक्कली पोस्टमार्टम गर्ला ।

गरीब निमुखा जनताको
आँसुमा दिनहुँ मुख धोएर
टिलिक्क अनुहार टल्काउने शासकहरु
सोध्न मनलाग्छ
तिमीले ज्युनारगर्ने पाँचतारे होटलको
कवाफको
स्वाद कस्तो छ !?
मनहुस वर्तमान किन मौन छ
कि हामी
मौलिक स्वतन्त्रता गुमाएका
आज्ञाकारी गुलाम बनिसक्यौँ ।

म बाँचेको शोकाकूल युग
अमूर्त सपना ओढेर
रेमिटेन्सको साँघुरो गल्लीभित्र
थाहा छैन
सदीयौंदेखि बगेको
आँसुको तप्केनीले
धुजाधुजा
लास छोपेको ताडपत्रमा
कुन समृद्ध भविष्य र आनन्दको
अमर कथा रचिरहेको छ ।

कसको हत्केलाले छोपिरहेको छ
उज्यालो युगको अमरावती
ए !! मानिसहरु सुन
सहनशीलताको किल्ला ढलेपछि
शोक र भोकको चिहान खन्न
गरीबको भोकमा उत्सव मनाउने
जिउँदा लासहरु पनि जुरमुराएर उठ्नुपर्नेछ ।

 

वि.सं.२०८० पुस २१ शनिवार ०७:३३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...