बाबुराम न्यौपाने ‘उत्स’, दमक- झापा
क्षितिजपारी टाढा समुद्रमा
मेरो आँसुको मसीले
नुनिलो छालमा कुँदिएको छ
प्यासी यौवनवयको
अतृप्त प्रेम कहानी
किनारमा कतै लेखिएको छ
उष्ण मरुभूमिका
हरपल झुल्स्याउने
बालुवाका कणकणमा
मेरो जीवनको सत्यकथा ।
बिरानो भूगोलमा
थोपाथोपा पसिना बेचेर किनेको
रेमिटेन्सको हीराको हार
सुनको किस्तीमा सजाएर
सत्ताको सट्टा बजारमा
लिलाम बढाबढ गर्न राखिएको छ
खरीदकर्ताको लाममा छन्
नयाँ अवतार लिएका
इतिहासका ऐयाश बादशाहरु ।
क्षितिजपारी बन्द बाकसबाट
शोकको आँधी आउँछ
गाउँ रुन्छ, शहर कहालिन्छ
विडम्बना
बेरोजगार नागरिक
गोलीको सिकार बन्नुपर्छ
जनताको रगत र पानी
के उस्तै उस्तै हो !?
इतिहासको निडर कलमले
सक्कली पोस्टमार्टम गर्ला ।
गरीब निमुखा जनताको
आँसुमा दिनहुँ मुख धोएर
टिलिक्क अनुहार टल्काउने शासकहरु
सोध्न मनलाग्छ
तिमीले ज्युनारगर्ने पाँचतारे होटलको
कवाफको
स्वाद कस्तो छ !?
मनहुस वर्तमान किन मौन छ
कि हामी
मौलिक स्वतन्त्रता गुमाएका
आज्ञाकारी गुलाम बनिसक्यौँ ।
म बाँचेको शोकाकूल युग
अमूर्त सपना ओढेर
रेमिटेन्सको साँघुरो गल्लीभित्र
थाहा छैन
सदीयौंदेखि बगेको
आँसुको तप्केनीले
धुजाधुजा
लास छोपेको ताडपत्रमा
कुन समृद्ध भविष्य र आनन्दको
अमर कथा रचिरहेको छ ।
कसको हत्केलाले छोपिरहेको छ
उज्यालो युगको अमरावती
ए !! मानिसहरु सुन
सहनशीलताको किल्ला ढलेपछि
शोक र भोकको चिहान खन्न
गरीबको भोकमा उत्सव मनाउने
जिउँदा लासहरु पनि जुरमुराएर उठ्नुपर्नेछ ।
वि.सं.२०८० पुस २१ शनिवार ०७:३३ मा प्रकाशित






























