वसन्त अनुभव, घोराही, दाङ
शान्तप्रसाद चौतारीमा शान्तपूर्वक बसेर शितलता ग्रहण गरिरहेका थिए ।
‘त्यो कुजातको त्यत्रो हिम्मत ? आफ्नो मर्यादामा बस्नु पर्दैन ?’ रनबहादुर रन्किदै आएर शान्तप्रसादको छेउमा बस्यो ।
‘के भो रनबहादुर ? किन यसरी रनक्क रन्किएको ?’ शान्तप्रसादले जिज्ञासा राखे ।
‘अब त अति भो, दाइ ! यी तल्ला जातले हाकाहाकी हामी माथि प्रहार गर्न थाले । हाम्रो इज्जत माथि धावा बोल्न थाले ।’ रनबहादुरले आगो उकेल्दै अगाडि बोल्यो– ‘त्यो डुमको दुस्साहस हेर्नुस् न ! नानीलाई भगाएर लगेछ । तपाईँ कसरी चुपचाप बस्न सक्नुहुन्छ ? अब यसरी हुँदैन । यही बेला ती कुजातलाई ठेगान लगाउनु पर्छ ।’
‘तिमी पनि के भा’को रनबहादुर ? आजको जमानामा पनि सानो जात, ठुलो जात भनेर हुन्छ त ? मान्छे सबै बराबर, काटे रगत सबैको रातो । भो छोडिदेऊ यी कुरा ! बरू भित्र्याउने तयारी गर । केटो लायकको छ, नानीलाई रानी बनाएर राख्छ ।’ शान्तप्रसादले रनबहादुरलाई शान्त पार्ने प्रयास गरे ।
‘तपाईँ नै त्यसो भन्नुहुन्छ भने मलाई के ? बरू बधाई छ, यहाँलाई । तपाईं नै भित्र्याउनोस् आफ्ना छोरी जुवाइलाई । मैले किन भित्र्याउने ? भलाइको त जमानै रहेन ।’ रनबहादुर रन्किँदै उठेर हिँड्यो ।
‘के रे मेरो छोरी जुवाइ ? पख् न तँ डुमलाई, त्यसै कहाँ छोड्छु र ?’ रनबहादुरको कुराले शान्तप्रसाद एक्कासि अशान्त भए । आँखा र कान राताराता लाल पार्दै उनी पनि घरतर्फ दौडिए ।
वि.सं.२०८० माघ १३ शनिवार ०७:३३ मा प्रकाशित






























