back
CTIZAN AD

कविता : राम्रो नराम्रो

वि.सं.२०८० माघ २० शनिवार

1.5K 

shares

शम्भु प्रसाद गजुरेल
बेलकोटगढी –९, नुवाकोट

कालो रात प्रदीप्त हुन्छ रविले पर्दा उघारेपछि,
प्राणीमात्र प्रसन्न हुन्छ जगको जाडो भगाएपछि ।
न्यानो ताप र रापमा मगन भै पूजा गरे तापनि,
गर्मी हुन्छ प्रचण्ड भन्छ दुनियाँ हो सूर्य पापी भनी ।१।

उड्दो बादलले जलांश हुन गै थोपा चुहाएपछि,
माटीपुत्रहरू प्रसन्न रहने धर्ती रसाएपछि ।
सोही बादलमा दबाब अति भै झिल्का दिँदा जोडले,
ठान्छन् दुष्ट तथा विनाशक घटा तत्काल नै लोकले ।२।

चल्दा मन्द बतास भित्र दिलमा आनन्द बर्षाउछ,
ठण्डा स्वच्छ सुवासिलो पवनले संसार हर्षाउछ ।
आँधी भै जब भाँच्छ वृक्ष लतिका झर्छन् फलेका फल,
हावा दुष्ट कराल लाग्दछ ठुलो ब्रह्माण्डनाशी खल ।३।

बाँझो खेत फुटाउँछन् बहरले तानेर टिम्बा हलो,
पोख्छन् स्वेद हली तथा श्रमिकले भर्छन् भकारी खलो ।
गोडा बस्दछ वृद्ध भै जब दुबै पर्छन् थलामा यहाँ,
दोषै दोष प्रज्वल्ल हुन्छ रमिते सभ्रान्त संसारमा ।४।

रोगी पाउ पुजिन्छ स्वार्थ मनको सम्पन्नता खातिर,
धेरै कष्ट सहिन्छ कार्य खुदको सम्पूर्णता खातिर ।
टालोको पनि मान हुन्छ जहिल्यै खाँचो परेको पल,
सोना बन्छ तुरुन्त पित्तल यहाँ खाँचो टरेको पल ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S

वि.सं.२०८० माघ २० शनिवार ०८:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...