भूपाल अधिकारी, बिराटनगर
१.
कस्तो हो यो परम्परा मैले जलिरहनुपर्छ
कसले भन्छ कठैबरा मैले जलिरहनुपर्छ
मलाई हेर्दै न हाँस मानवताहिन मलामीहरू,
म हुँ चिताको दाउरा मैले जलिरहनुपर्छ ।
२.
घोडाको कोर्रा र दासत्वको छडी उस्तै लाग्छ
बिग्रेको घडी अनि गरीबको झुपडी उस्तै लाग्छ
हे ! सधैं तलुवा चाटेर अट्टालिकामा बस्नेहरू हो,
किन मलाई जिउँदै मर्नु र चाकडी उस्तै लाग्छ ।
३.
स्वतन्त्रता दिएँ भन्छन् तर बोल्दै नबोल भन्छन्
जतिसुकै अन्याय परेपनि मुख नखोल भन्छन्
मौका छोपी टाउकोमा नै हिर्काउन पाएँ भन्ने,
तिमीहरू सबै काँटी हौं म चाहिँ मार्तोल भन्छन् ।
४.
कसैका लागि डाडु त कसैका लागि पन्यु हुँ
कहिले नि फुल्न फल्न नसक्ने एक उन्यू हुँ
चाहे काट मार या जेसुकै गर मान्छेहरू हो,
साँच्चै म चक्रव्यूहमा फसेको अभिमन्यु हुँ ।
५.
म एक नारी हुँ मैले मर्नुपर्छ जिउँदै जली किन ?
कै’ले भन्छौं जीवन संगिनी कै’ले नक्कली किन ?
छाती माथि चलाई बुलडोजर लास उठाउँनेहरू,
सधैं मलाई ठान्छौं यौटा झुम्राको पुतली किन ?
वि.सं.२०८० माघ २० शनिवार ०८:३३ मा प्रकाशित






























