समीप बैरागी,रोल्पा
आशाको डालीमा
जिन्दगीको रंगिन फूल फूलाउन
हिँडिरहेछु संघर्षको बाटो ।
नभन्नु प्रिय !
चटक्कै माया मा¥यो
घर, बारी
बालबच्चा र मलाई ।
नवीन सृजनाको लागि
हतारमा उडि जाने चरीको चुच्चोबाट
खस्यो भने मेरो अघि–एक टुक्रा खर
आँखामा आउँछ घरको छानो ।
प्याट्ट हिर्कायो भने टाउकोमा
सगरमा फन्का मारिरहेको
गौँथलीलो पन्जाबाट खसेको हिलोले
सम्झन्छु मेरो कोदोबारी ।
शीतले भिजेका अबोध कोपिलाहरू
मौसमसँग गुनासो पोखिरहेको दृश्य
अल्झिएर बस्यो भने आँखाको पर्दामा
छोराछोरीको यादले निचोरिन्छ मन ।
हिँड्दाहिँड्दै गोरेटोको चौतारीमा
भेटियो भने बरको साथमा पिपल
यो मुटुमा छाम्छु तिमीलाई ।
वि.सं.२०८० फागुन ५ शनिवार ०८:१० मा प्रकाशित






























