जब उमेर छ पश्चिम ढल्कँदै,
दिनदिनै विरहाग्नि छ सल्कँदै ।
बलबुता पनि खस्किन पुग्दछ,
हरपला किन यो मन दुख्दछ ।१।
अघि थियो रसिलो हँसिलो मुख,
अब त अङ्ग गले थलियो सुख ।
सुगर रोग छ प्रेशर साथमा,
छ कमजोर अतीव शरीरमा ।२।
मन छ चञ्चल अस्थिर यो किन ?
सकस बढ्दछ घट्दछ चिन्तन ।
नयन धूमिल बन्दछ यो घरी,
शिथिल देह छ काप्दछ थर्थरी ।३।
सकल केश फुलेर कपासझैँ,
जब म देख्छु र बन्छु हतासझैँ ।
अनि मुहार हजार मुजा भयो,
क्षणिक नश्वर देह छ यो अहो ।४।
अब त जा मन ईश्वरमा सधैँ,
हृदय अन्त नजा अब भो कतै ।
पवनझैँ नभमा नडुले अब,
नियतिको गति हो सब बास्तव ।५।
छन्द : द्रुतविलम्बित
गण : त भ भ र
सङ्केत : lll Sll Sll SlS
वि.सं.२०८० फागुन २६ शनिवार ०८:२४ मा प्रकाशित






























