दीनानाथ पोख्रेल, इलाम
मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा ।
खुल्छन् आँखा असल कृतमा प्रेम फुल्छन् गरामा ।।
खोली बाँहा पर वर हुने प्रेमको गीत गाए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०१।।
ईर्ष्या डाहा सब पर गरूँ प्रेमको मन्त्र गाई ।
छाती फुल्ने सुपथ म हिँडूँ प्रेममा पार पाई ।।
बन्दै अग्लो रसपथ डुले दुष्ट चिन्ता हराए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०२।।
भित्री चिन्ता मनुजमनमा पोल्दछन् फ्याँक्नुपर्छ ।
प्यारो लाग्ने सडक हित हो प्रेमले चाल्नुपर्छ ।।
खुल्छन् आभा असल भवमा प्रेम प्याला थमाए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०३।।
छर्छन् बास्ना कुसुम वनमा प्रेम सङ्लो सिकाई ।
उठ्छन् मान्छे सहज भवमा प्रेमखेती सिँचाई ।।
चढ्छन् मान्छे गिरिशिखरमा प्रेमको स्वाद पाए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०४।।
ईर्ष्या डाहा कुपथ भवका सौख्यको मार्ग थुन्छन् ।
चिन्छन् जोजो असल भवको प्रेमको हार उन्छन् ।।
अग्ला बन्छन् नर अवनिमा क्रोध वैरी डढाए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०५।।
भाग्दा मान्छे परपर सरी प्रेम छोडेर टाढा ।
टोक्छन् फन्दा प्रगतिपथमा बिज्छ सन्ताप काँढा।।
सङ्लो रोजी भुवन वनमा कृत्य छाती सजाए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०६।।
आओ मान्छे भुवनभरका प्रीतिको गीत गाओ ।
छानी हाँसो निज भवनमा प्रेममा प्रीत लाओ ।।
प्रेमी बाटो खुरुखुरु हिँडे सौख्य ज्योत्स्ना उदाए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०७।।
उठ्दै चाँडो मनुज भवका प्रेमको गीत गाओ ।
चौडा छाती भुवनभरमा प्रीत सङ्लो फिँजाओ ।।
डाँडापाखा चउर हरिया प्राप्तिले मुस्कुराए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०८।।
खेतीपाती युगलय टिपी प्रेमले जोर्न जानौँ ।
झुक्छन् मान्छे मिलन मधुरा बातका सार छानौँ ।।
प्राणी रम्ने प्रणयपथ छन् योग्य छानी रमाए ।
धर्ती हुन्छिन् अतिशय खुसी प्रेमधारा सजाए ।।०९।।
छन्द : मन्दाक्रान्ता
गण : म भ न त त गु गु
सङ्केत : SSS SII III SSI SSI S S
विश्राम: चार, दस र पादान्त
अभ्यास : उज्यालो छन्दशालालीम
१२२२ , १२२२ , १२२२ , १२२२
वि.सं.२०८१ जेठ २६ शनिवार ०७:३२ मा प्रकाशित






























