सुशील रिजाल,कीर्तिपुर, काठमाडौ
उर्लिन्छन् मनमा भाव शून्यतामा हराउँछु
चुलिन्छन् भावमा दोष कता कतै डराउँछु
म राम्रो कहने गर्छु कर्म चक्षु खुलेपछि
सन्त नै बन्छ के मान्छे भूर्लोकमा रमेपछि ।
मान्छेको मन होे कस्तो जे सोच्यो त्योे विचित्र छ
रमेरै हाँस्दछुु भन्छ सँधै बाँंचेर मर्दछ
जगाई शान्तिको दीप आगो झैं मन जल्दछ
अरूको सुखमा भन्दा दर्दमै मन फुल्दछ ।
को होला भोलिको द्रष्टा ज्ञान दाता छ को कतै
मान्छेको जन्म हो प्यारो रम्नु पर्ने छ है यतै
गर्दैछौँ किन हुङ्कार सर्वश्व नै म हूँ भनी
शून्यमा शून्य नै हुन्छ नित्य प्यारो छ के अनि
मायावी रचना कस्तो बुझ्नलाई कठोर छ
समाई आसको त्यान्द्रो उत्रँदै तल फस्दछ
कस्तो यो कपटी खेल इन्द्र जालो समान छ
शुभ लाभ गरूँ भन्दै वैरागी भस्म घस्दछ ।
नआऊन् मनमा दोष प्रार्थना जो गरे पनि
के हुन्थ्यो बसमा हाम्रो सरिता झैं बगे पछि
के जान्नूँ दुनियाँ सारा पीडा हर्ष म नै भनी
के जानोस् मन यो ज्याद्रो जति कष्ट भए पनि ।
छन्द : अनुष्टुप
वि.सं.२०८१ असार १ शनिवार ०८:१८ मा प्रकाशित






























