कल्पना अधिकारी भट्टराई, काठमाडौं
झुक्याएर भइन् तिरोहित प्रिया एक्लो भयो जीवन ।
मायाजाल छुट्यो भइन् अब खुला तोडी सबै बन्धन ।
गर्थिन् छम्छम भित्र बाहिर हिजो छैनन् विलाइन् पर ।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।१।
उठ्थिन् नित्य सबेर कर्म पथमा लाग्थिन् रमी दैनिक ।
मेरो यो मुटु धड्किँदै छ अहिले बेजोडले धक्धक ।
चक्का एक गयौ भयो रथ ठुटो यो जिन्दगी धर्मर ।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।२।
आमा छिन् घरमा अशक्त बिचरा बेहाल बेहाल छ ।
पक्षाघात भएर मुर्छित कठै ! सन्ताप सन्त्रास छ ।
हेर्दा हाल खराब देख्छु उनको,रुन्छिन् मुमा धर्धर ।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।३।
छैनन् आज सँगै पलायन भए सन्तान अष्ट्रेलिया ।
प्यारी चस्चस घोच्छ यो हृदयमा तड्पिन्छ मेरो हिया ।
हेर्दै छन् गहना, दराजभरिका सारी, चुरा, सिन्दुर ।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।४।
सोध्छन् सोध्न त पुत्रले दिनदिनै कस्तो छ बाबा भनी ।
चिन्ता गर्न हुँदैन है हजुरले, यस्तै त हो जीवनी ।
देख्दैनन् तिनले उदास दिलमा आगो बलेको तर।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।५।
मेसो छैन कता छ चामल, जिरा बेसार भान्सातिर ।
दिथ्यौ खान अनेक व्यञ्जनहरू खान्थेँ नमानी पिर ।
आफन्तीसँगको मिलाप गहिरो राख्थ्यौ सधैं सुन्दर ।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।६।
कस्तो स्वस्थ थियो शरीर पहिले ऊर्जा थियौ साथमा ।
आँखा टिल्पिल गर्दछन् शिव हरे अत्यासले रातमा ।
गर्दा काम थकान हुन्छ अहिले घट्दै गयो जाँगर ।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।७।
जोडी ढुक्कुर झैँ भएर घरमा मिल्थ्यौ झगड्थ्यौँ पनि ।
मान्थ्यौँ जे जति छन् सबै चलन ती संस्कार हाम्रा भनी ।
साक्षात् रूप थियौ उमा हृदयको खाली भयो मन्दिर ।
लाग्यो शून्य मसान–घाटसरिको पत्नी विनाको घर ।८।
छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
गण सङ्केत : SSS llS lSl llS SSl SSl S
वि.सं.२०८१ असार १ शनिवार ०८:२२ मा प्रकाशित






























