पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको प्रदेशसभा बैठक सुरु भएको छ । बजेट वक्तव्यमा बिग्रिएको हिसाब मानवीय त्रुटि भएको भन्दै अर्थमन्त्री गुरुङले माफी मागेका थिए ।
एमाले उपनेता लीलाबहादुर थापाले बिहीबार बजेटको पूरा अङ्क र खर्च बेहोर्ने स्रोतको शीर्षक नमिलेपछि संसद् चल्न नदिने चेतावनी दिएका थिए । उनको चेतावनीपछि प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरे ।
त्यसपछि संसद् बैठक रोकिएको थियो । प्रतिपक्षीले सरकारबाट प्रष्टीकरण नआएसम्म संसद् चल्न नदिने बताएका थिए । शुक्रवार अर्थमन्त्री गुरुङले सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम संशोधन गरेपछि सदन अघि बढेको हो ।
बजेट वक्तव्यको बुँदा १३८ को कूल व्ययको अनुमान र १३९ को कूल आयको अनुमानको स्रोतगत योगफलमा भिन्नता भएको भनी प्रतिपक्षले सच्चाउन माग गरेका थिए ।
मन्त्री गुरुङले मनसायरहित रूपमा भएको मानवीय त्रुटि स्वीकार गर्दै सो बुँदालाई थप स्पष्टताका साथ अद्यावधिक गरी सोको विवरण माननीय सदस्यहरूले प्राप्त गर्ने गरी पिजन होलमा उपलब्ध गरिएको ब्यहोरा जानकारी गराएका थिए ।
वि.सं.२०८१ असार ७ शुक्रवार १३:१४ मा प्रकाशित






























