विदुर दाहाल, काठमाडौं
सकियो पढाई स्नातकोत्तर ! मानविकी बिषयमा !! गर्ने के होला ? भएन टुङ्गो । खेले मनमा अनेक कुरा ! गरौ कि क्या हो राजनीति ? अह हुन्न ? सकिन्न ! जागीर खाउ ? सकिन्न पढेर नाम निकाल्न ! गरौ खेतीपाती ? छैन जमिन मिलेको प्लट ! छैन राज्य सहयोगी । अह त्यो पनि हुन्न!ब्यापार गरौ? छैन पुजी । बस्नु पर्ने भो त बेरोजगार? गर्ने के?फुर्यो अचानक आईडिया ! समाज सेवा!
निस्किनु पर्यो समाजसेबि भएर ! गमे धेरै । फुरेको आईडियालाई मुर्तरुप दिन निकाले आईडिया ! फेरे पहेला गेरु बस्त्र ! ऋण पिन गरेर खोले समाज सेवाको अफिस ! उद्देश्य थ्यो; गरिब–निमुखा बाल बच्चा राख्ने र पढाउने ! नाम जुर्यो ‘सेवा होम’ ! पत्रकारको शरण परे । बनाए भिडियो र गरे अप्लोड ! लाईक र कमेन्टको ओईरो ! पुर्याए पहुँच ठूला पत्रकारसम्म ! भद्र भलाद्मी, नेता र गन्यमान्यसम्म !
चर्चा हुन लाग्यो मिडियासम्म ! बोलाउन लागे मिडियाले अन्तर्वार्ताका लागि ! चिने सबैले टोल छिमेकमा !! बने ठूलै समाजसेबि ! लौन मेरा नानी–बाबू भोकाए ! लौन पढ्न पाएनन छोराछोरीले ! बिलौना गरे ! रुए । कराए ! यस्तो पो हो समाजसेवा भन्न लागे मानिसले ! युवा अबस्थामै बने नामि समाजसेवि !!
पुगे चर्चाको शिखरमा ! गाउँ टोलदेखी; सहरसम्म, चिया पसलदेखि संसदसम्म चर्चा मेरै ! आए बिदेशीहरु हेर्न ! दिन लागे डोनेसन ! भ्याई नभ्याई भो बिदेश आउजाउ पनि ! बिदेश भो पानी पधेरो ! डोनेसन हिसाब राख्न चाहिने भो एकान्टेन्ट !
मिलाउन सेड्युल गार्हो भो ! राखे पिए नै ! पिए पो राखौ कसलाई ? छ्ताछुल्ल पारिदेलान फेरि अरुले ?गमे धेरै ! मान्छेले केही भन्लान कि ? आ ! जेसुकै भनुन् । राखे भाइलाई ! महिनामा पायो तलब ८००००/, पढाउन शिक्षिका चाहियो। राखौ को ? बेरोजगार छे रे दिदिकी छोरी ! बोलाए उसलाई ! भई शिक्षिका उ ! पाई तलब महिनाको ६००००/ हजार!
पैसाको कमि छैन सेवा होमलाई ! डोनेशन दिनेको ओईरो छ ! बैक खातामै भयो करोडौ । गमे….! बाहिर फेरो हिड्न गार्हो भो ! किन्दे एउटा प्राडो ! ड्राईभर राखेदिए सालोलाई ! पायो तलब महिनाको ७०००० / केटाकेटीलाई खाना पकाउन र सरसफाइ गर्न चाहियो मान्छे ? सालाकी श्रीमतीले दुःख देखाएकी थिई ! सम्झे उसलाई ! बिचरा १०००० मा बोर्डिङमा पढाउथि! उ पनि आई सेवा होममा! पाई तलब महिनाको ४०००० । श्रीमती जिको त कतै नामै आएन!परिवारवाद भन्ने हुन कि? जेसुकै होस;म्यानेजिङ डाईरेक्टर बनिन उनी! तलब पाईन महिनाको १००००० । प्रश्न उठाउने हुन कि? उठाए भने भनिदिउला। सेबा प्रती बिरोधिहरुको कुदृटी! पत्रकार छ्न नि मेरो पक्षमा! लेखिदेलान राम्रो समाचार! ढुक्क भए मनमनै !
सम्झ्यो कोमल मनले बुबा– आमालाई र गाउँको दुखलाई। किन्दे एउटा घर सहरमा! गार्हो भो रे बुढाबुढिलाई यता उता हिड्न ! सुनाए एकदिन बाले ! उनिहरुले पनि गाडी पाए ! ड्राईभर भो सालोको भाइ ! गाडी भो अफिसको नाममा ! सरकारले दियो भन्सार छुट !
भ्याई नभ्याई छ; अतिथी बन्न ! वरिष्ठ समाजसेबि भन्दै बोलाए अनेक कार्यक्रममा ! कयौ पटक रोए म कार्यक्रममै रोए, ‘मेरा नानी बाबू भोकै छन्’ भनेर ! पत्रचार गरे बिदेशी नियोगतिर ! गुनासो गरे सरकारका मान्छेलाई ! आयो डोनेशन ह्र्वार ह्र्वार ! भन्नू पो भन ! गार्हो भो पैसा थेग्न! किन्दे आमाको नाममा एक रोपनी ! आम्दानीको स्रोत उल्लेख गर्नु पर्ने रैछ ! लेखिदिए दाईजो !
भन्नेले जे भनून भनून ! सेवा होम चलाउन गरेका दुःख र हन्डर मलाई नै थाहा छ । चल्यो सेवा होम राम्रोसँग ! प्रार्थन गरे भगवानसँग, ‘जाओस् यस्तै प्रगती हुँदै ।’ भगवानलाई लड्डु चढाए लड्डु ! सायद खुसी हुनु भो होला !
‘सेवा होममा बेथिती र बच्चाहरुको बिजोग’ शिर्षकमा एउटा पत्रिकाले छापेछ समाचार । अलि डर लाग्यो ! सामसुम भो त्यसै अलिपछि । भएन केही ! सेवा होममा बस्ने केटाकेटी सुत्थे चिसो भुइँमा ! बिहान र बेलुका खान्थे भात ! त्यो पनि आधा पेट ! खाजा त उहीँ हो ! लाउथे कपडा जाडोमा एकसरो ! पढाउने त नाम मात्रै हो । बस्थे टिनको टहरामा उकुस मुकुस भएर ! बिशिष्ठ मानिस हेर्न आउने भए भने सिकाईन्थ्यो उनीहरुलाई ! पाउथे मीठो खान त्यो दिन । सिकाएको कुरा जस्ताको तस्तै भन्थे ! ज्ञानी थिए बच्चा !
छान्यो सि. एन. एन हिरो ! गर्यो मेरो सेवाको कदर ! थापे पुरस्कार र प्रमाणपत्र ! जय होस् मेरो आईडियालाई ! समाजसेबी नबनेको भए..? अन्तिम बिकल्प थियो राजनीति ..। अचानक फुरेको आईडियाले महान समाजसेवि बनायो मलाई । सलाम छ आईडियालाई ! अन्तर मनमा भने समाजसेवाको वास्तविक परिभाषा सम्झे ! गहिरोसँग गमे ! अलि पोल्यो मलाई ! तर यो नेपाल हो चल्छ..!!
वि.सं.२०८१ असार ८ शनिवार ०८:४५ मा प्रकाशित






























