बाबुराम न्यौपाने ‘उत्स’
दमक,झापा
बीभत्स क्रूर युद्धका
साइरनको
कर्कश आवाजमा
कुन मधुर सङ्गीतको
धुन
खोज गर्छ मानिस ?
बारुदको कालो धुवाँभित्र
शान्तिको चिता
जलिरहेको दृश्य
कोमल हृदय बिथोल्छ
बमको विस्फोटमा
उछिट्टिएका मानव अङ्गहरू
जब कारुणिक चित्कार गर्छन्
सृष्टि कहालिन्छ
र भन्छ
मानिसको गन्तव्य
युद्धपछि हुँदै होइन
निर्द्धन्द्ध तिरको हो
यात्रा!
महाभारत ग्रन्थ घोक
या रामायणका श्लोक पढ
या त
इलियड ओडिसीका
प्रत्येक पानाहरू पल्टाऊ
युद्ध सर्वनाशको दूत
र शैतानको अवतार हो
कठिन यात्राका
अग्निपथहरू छिचोल्न
शिखरतिरको महायात्रा हो
सभ्य मानिसको
अविचल
निर्द्वन्द्व यात्रा !!
वि.सं.२०८१ साउन २६ शनिवार ०९:२१ मा प्रकाशित






























