स्वर्ण शिखा, दाङ
आऊ खुकुरी बन्न अचानो म छँदै छु
पीडा त दिने हौ किन अर्को ? म छँदै छु
ताकेर तिमी अन्त कतै खै किन बस्छ्यौ
तिम्रो नजिकैमा जब तारो म छँदै छु
अपराध कबुल्ने दुनियाँमा छ र को पो
भन्दै छ खुँडाले पनि चोखो म छँदै छु
अपवित्र इरादा छ भने के म भनूँ खै
चाहिन्छ असल मान्छे भने त्यो म छँदै छु
निश्चिन्त बनी बाँच तिमी हर्ष दिने पल
दुखमा तिमी पर्दा लिन चाँसो म छँदै छु
बहर : हजज़ मुसमन अख़रब मक्फ़ूफ
अर्कान :फ़ऊल मुफ़ाईल मुफ़ाईल फ़ऊलुन
वजन ः २२१ १२२१ १२२१ १२२
वि.सं.२०८१ साउन २६ शनिवार ०९:२४ मा प्रकाशित





























