दीनानाथ पोख्रेल,सुम्बेक, इलाम
हाँसो नपक्रे सुख दूर सर्छ ।
सन्ताप नाना मनभित्र भर्छ।।
हाँसो समाते सुख गेह छिर्छ ।
उद्भ्रान्ति दुर्भाव समग्र चिर्छ ।।०१।।
जो हाँस्छ त्यो टिक्छ अरे शताब्दी।
मुस्कान भर्नेछ अनन्त लब्धि ।।
हाँसूँ हँसाऊँ भव खुल्न थाल्छ ।
दुर्भावनाका पथ दूर फाल्छ ।।०२।।
हाँसेर चिन्ता सब दूर फ्याँकूँ ।
उल्लासका स्रोत हियार डाकूँ ।।
हाँसो समाए भव प्रेम दिन्छ ।
चिन्ता समाए मन कष्ट लिन्छ ।।०३।।
राजा बसेका स्थलमा नहाँसूँ ।
जाँदा मलामी प्रिय हुन्न साँचूँ ।।
हाँसो खुसी जीवन सौख्य भर्छन् ।
हाँस्ने सबैका भय कष्ट टर्छन् ।।०४।।
वैरीहरूमा भय भर्छ हाँसो ।
मैत्री कलामा बल थप्छ हाँसो ।।
उल्लास सञ्चार हुँदा सबैमा ।
भाग्छन् डराई मल चेतनामा।।०५।।
हो योगले भन्दछ योग्य हाँसो ।
जो हाँस्छ बस्दैन जमी गथासो ।।
बस्दा सभामा हित हुन्न हाँसो ।
पश्चाग्नि पोल्नेछ बढी गथासो।।०६।।
छन् काव्यमा हास्य खुली घुमेका ।
सन्मार्ग सङ्ला पथमा जमेका ।।
हाँसूँ हँसाऊँ मन सौख्य भर्छ ।
हाँसो म बोकूँ मल दूर सर्छ ।।०७।।
छन्द : इन्द्रवज्रा
गण : त. त. ज. गु. गु.
सङ्केत: SSI. SSI. ISI. S. S.
विश्राम : पाँचौँ अक्षर र पादान्त
वि.सं.२०८१ साउन २६ शनिवार ०९:३२ मा प्रकाशित





























