ठाकुर मोहन श्रेष्ठ
बाँसवारी, काठमाडौं
शान्ति मिल्नेछ खुब साधनामा
भ्रान्तिको बस्छ जग वासनामा
दाग देख्छौ तिमी चन्द्रमाको
व्यर्थ हुन्छन् खुसी लाञ्छनामा
खेप्न बाँकी कुनै छैन दर्द
धीरता साध्नु छ वेदनामा
स्वाद नुनको कहाँ दिन्छ सुनले
प्रेमको गुन भरौ चेतनामा
कर्मले नै तुलित हुन्छ मानिस
कीर्ति हुन्छन् सधैँ सम्झनामा ।
बहर : मुतदारिक मुसम्मन महजूज
अर्कान : फाइलुन्, फाइलुन् फाइलुन् फे
वजन :२१२ – २१२ – २१२ – २
काफिया ; अना
तहलिली रदिफ ; मा
अभ्यास : परिश्रमी पाठशाला ( बहर – छन्दशाला )
वि.सं.२०८१ भदौ ८ शनिवार ०५:३७ मा प्रकाशित






























