काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ ।
विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरिएको गण्डकी प्रदेशको तनहु जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा रहेको श्री पवित्रा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको पुस्तकालय भवनमा यही २०८१ असोज १६ गते पुस्तकालय समुद्घाटन गरिएको बैंकले जनाएको छ ।
उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, बैंककातर्फबाट यस बैंकका गण्डकी प्रदेश(३का प्रमुख चुडामणि पराजुली र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब ११२५ विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ ।
यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीको जोशीपुर गाउँपालिका–१ मा रहेको श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापाको बुद्धशान्ती गाउँपालिका–२ मा रहेको श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्जगाउँपालिका–३ मा रहेको श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेका छन् ।
त्यसैगरी, मधेश प्रदेशको सिराहाको भगवानपुर गाउँपालिका–१ मा रहेको श्री बाला सुन्दरी माध्यमिक विद्यालय र पर्सा जिल्ला स्थित वीरगञ्जमहानगरपालिका–१४ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीको सियारी गाउँपालिका–४ मा रहेको श्री पब्लिक सेकेन्डरी स्कुल र बाग्मति प्रदेशको चितवनको राप्ती नगरपालिका–७मा रहेको श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको बैंकले जनाएको छ ।
बैंकका अनुसार बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजार भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँचभई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०८१ असोज २३ बुधवार १४:०७ मा प्रकाशित






























