टीकापुर । कैलालीको टीकापुरमा बुधबार गगन फाउण्डेशनद्वारा आयोजित कार्यक्रमकाबीच ‘रैबार टीकापुरका’ संयुक्त गजल संग्रहको लोकार्पण गरिएको छ ।
कर्यक्रममा पश्चिमको गुलाब उपाधीले बिख्यात साहित्यकार श्रेष्ठ प्रिया पत्थरले श्रेष्ठले टीकापुरको माटोले जन्माएका थुप्रै साहित्यकारहरुले टीकापुरलाई सिर्जनशील भुमिको रुपमा पहिचान बनाउनन मद्दत गरिरहेको बताइन् ।
‘४० को दशकमा नेपालमा भित्रिएको गजल बिधा साहित्य क्षेत्रमा अब्बल बिधाका रुपमा स्थापित भइरहेको छ, विश्वविद्यालयका पाठ्यपुस्तकमा टीकापुरका श्रष्टाहरुका सिर्जनाहरु समावेश भएका छन्’ श्रेष्ठले भनिन् ‘टीकापुर क्षेत्रबाटै आफ्नो नेतृत्वमा सुदूरपश्चिम साहित्य समाजको गठन भएको हो, यहाँको साहित्यिक विकासमा समाजको योगदान महत्वपूर्ण छ ।’
हाल धनगढी बसोबास गर्दै आएकी श्रेष्ठले आफूले टीकापुरको बासिन्दा भनी चिनाउन पाउँदा गर्व लाग्ने गरेको बताइन् ।
२०७९ मा टीकापुरमा सम्पन्न टीकापुर साहित्य महोत्सवको गजल सन्ध्या कार्यक्रममा सहभागी १५ जना श्रष्टाहरुका पाँच पाँच वटा गजल समावेश गरिएको ‘रैबार टीकापुरका’ संयुक्त गजल संग्रहमा ७५ वटा गजलहरु समावेश छन् । स्वर्गीय साहित्यकार गगनसिंह थापाको स्मृतिमा स्थापित गगन फाउण्डेशनले उक्त संग्रह प्रकाशन गरेको हो ।
संग्रहमाथि टिप्पणी गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले साहित्यिक कार्यक्रममा बाचन गरिएका १५ श्रष्टाका गजलहरुको संग्रह नै प्रकाशित हुनु आफैमा सुखद् अनुभूति रहेको बताए ।
‘कार्यक्रममा बाचन गरिएका १५ जना श्रष्टाका ७५ गजल समावेश गरेर संग्रह प्रकाशित हुनु आफैमा सुखद् अनुभूति हो’ डाक्टर उपाध्यायले भने ‘गजल साहित्यमा यो कृतिले छुट्टै स्थान बनाउनेछ, यो प्रकाशनका लागि म गगन फाउन्डेसन र हिक्मत थापालाई आभार व्यक्त गर्दछु ।’
डाक्टर उपाध्यायले संग्रहमा देश प्रेम, माया प्रेम, समसामयिक विषयवस्तुमाथि लेखिएका सशक्त गजलहरु समावेश रहेको बताए ।
कार्यक्रममा संग्रहका स्रष्टा हर्क विष्ट, विष्णाकुमारी बिसी ‘सपना’ ले आफ्ना गजलहरु बाचन गरेका थिए । त्यस्तै सहभागीहरुका तर्फबाट मिनबहादुर थापा ‘मिलन’, आर्त अकुलिन, आनन्द बिक्रम राणा, कण्ठराज गिरी, झलनाथ खनाल, भक्तराज देवकोटा, ललित विष्ट, जनकराज तिमिल्सेना, चेतराज देवकोटा, निलम चौधरी र बाबु देवकोटाले गजल तथा कबिताहरु प्रस्तुत गरेका थिए ।
गगन फाउण्डेशनका संस्थापक संरक्षक हिक्मत थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवकोटा कला साहित्य प्रतिष्ठानका अध्यक्ष बलबहादुर रावल, साहित्यकार कर्णबहादुर थापा बिशिस्ठ अतिथी रहेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।
वि.सं.२०८१ कात्तिक १ बिहीवार १०:२१ मा प्रकाशित
































