विदुर अधिकारी, चितवन
बालक हुन् सुखशान्ति धराबिच
बालक हुन् अझ कान्ति कलाबिच
बालक हुन् शुभमङ्गल –दायक
बालक हुन् धरतीबिच लायक ।१।
बालकमा भय घोल्दछ दुर्जन
बालकको जय बोल्दछ सज्जन
बालक पार्दछ भूतल उर्वर
बालक छर्दछ चेत सरासर ।२।
बालकमा जब जोस पलाउँछ
आँट गरी तब जाँगर लाउँछ
दिव्य बनी जब शिल्प सजाउँछ
बालकले तब सत् फल पाउँछ ।३।
बालक होइन सृष्टि विनाशक
बालक हो जगको शुभ रक्षक
बालक श्वेत हिमालसमान छ
बालक नै मनपर्छ अचानक ।४।
बालकको मन हुन्छ नि निर्मल
त्यो मनले खुब चुम्छ धरातल
चुम्दछ बालकले जब आँगन
फुल्दछ यो भवमा नवजीवन ।५।
छन्द : मोदक
गण : भ भ भ भ
गण सङ्केत :Sll Sll Sll Sll
वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:४९ मा प्रकाशित