back
CTIZAN AD

देश तहसनहस हुँदा हामी पनि कहाँ रहौंला र नेताज्यू ?

वि.सं.२०८१ पुस ९ मंगलवार

3.7K 

shares

नेपाल कम्युनिस्ट पार्टीका नेता मदन भण्डारीको एक अन्तर्वार्ता अमेरिकी प्रख्यात म्यागजिन ‘न्युजविक’ पत्रिकामा २७ मे १९९१ मा अर्थात् २०४८ जेठ १३ गते छापियो। त्यो अन्तर्वार्ताको हेडलाइन थियो – ‘नेपालमा काल मार्क्स जिवितै छन्’। भनिन्छ त्यो अन्तर्वार्ताले विश्वमा र विशेष गरि दक्षीण एशियामा एक हलचल ल्याइदिएको थियो। त्यसको ठिक दुई वर्षपछि २०५० साल जेठ ३ गते मदन भण्डारीको चितवनको दासढुंगामा जिप दुर्घटनामा मृत्यु भयो । त्यो बेला उनी जम्मा ४१ बर्षका थिए। त्यो स्वाभाविक दुर्घटना थियो या हत्या थियो, अनुसन्धान त्यहाँ सम्म पुग्न सकेन। त्यो बेला गृहमन्त्री हालका नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा थिए भने प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला थिए। देशमा शक्तिशाली राजतन्त्र थियो। देशका राजा वीरेन्द्र थिए। देशमा नेपाली कांग्रेसको बहुमतको सरकार थियो।
मदन भण्डारी राजाका कट्टर बिरोधि थिए भने कांग्रेससँग त राजनीतिक दुश्मनी उत्तिकै थियो। त्यो अवस्थामा मदन भण्डारीको दुर्घटनामा छानविन गरी सत्य तथ्य कुरा बाहिर ल्याउने कुरा न कांग्रेसले धेरै चासो दियो न राजा वीरेन्द्रले नै चासो दिए। अझै भनौं ( त्यो बेला आँफुलाई च्यालेन्ज गर्ने नेता सकिएको घटना दरबारलाई मिठो लाग्यो आनन्दै लाग्यो।

२०५४ सालमा जव एमाले र राप्रपाको सरकार बन्यो तव गृहमन्त्री बामदेव गौतम भए। उनले गृहमन्त्री हुने बित्तिकै मदन भण्डारीको जिप दुर्घटना छानविन गर्ने भनी कदम चालेका थिए। त्यो बेला नेपालको गुप्तचर विभाग अत्यन्तै चुस्त र सक्ष्यम मानिन्थ्यो। त्यसैले मदन भण्डारीको दुर्घटनाका बारेमा नेपालको गुप्तचर भिभागका केहि अधिकृतहरुलाई धेरै कुरा थाह थियो। ती मध्यका एक थिए संग्रौला थरका एक काविल अधिकृत, उनलाई मदन भण्डारीको दुर्घटना सम्बन्धी धेरै कुरा थाह थियो। संग्रौला अत्यन्तै काविल अधिकृत थिए र उनिसंग धेरै गोप्य सुचनाहरु थियो।

उनको यहि क्षमता देखेर गृहमन्त्री वामदेव गौतमले बिशेष प्रहरी विभागमा ल्याए र मदन भण्डारीको दुर्घटना सम्बन्धी छानविन गर्नको लागी धेरै अधिकार सहित विशेष नियुक्ति समेत दिए। त्यतिबेला गृहमन्त्री वामदेव गौतमलाई पार्टीका केहि केन्द्रिय नेताहरुले पार्टी भित्र छलफल गरी सहमति लिएर अगाडी बढ्दा उत्तम हुने सुझाए। हुनपनि हो त्यत्रो घटनाको छानवीन गर्न आफ्नै पार्टी नेकपा एमालेसंग सल्लाह लिनु उपयुक्त ठानी यसको लागी वामदेव गौतमले पार्टीमा छलफल गर्ने भनेर पार्टी संग सल्लाह गर्दा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली लगायतले छानविन गर्नु पर्दैन भन्ने पार्टी कमिटिको बहुमतले राय सुझाब दिए पछि वामदेव गौतम पछाडी हट्न बाध्य भए।

त्यसपछि छानविन गर्ने भनेर बनाएको संग्रौलाको नेतृत्वको संरचना यस्सै भंग गरियो। मदन भण्डारीको दुर्घटना सम्बन्धी धेरै गोप्य सुचना र तथ्यहरु हुँदा हुँदै सबै तुहेर गए। मदन भण्डारीको गाडी चलाउने ड्राइभर अमर लामा जीवित हुँदाहुँदै त्यस भयानक दुर्घटनाको छानविन नहुनु भनेको एक देशको लागी दुर्भाग्य थियो। ड्राइभर लामालाई धेरै कुराहरु थाह थियो। उनले प्रहरीमा बोलेको कुरा, अदालतमा बोलेको बयान तथा छानविन समितिमा बोलेको कुरा बाझिएको थियो। उनले बयान फेरिरहेका थिए। तात्कल घटना लुकाउन ड्राइभर लामाले ढांटे पनि दिर्घकालिन रुपमा उनले ढाँटने या झुठो बयान दिने अवस्था थिएन यदि उनलाई राम्रो संग सोधपुछ गरेको भए उनले सबै तथ्य भन्ने थिए तर उनलाई एकदम हलुका ढंगले कुराहरु सोधी छानविन टुंगियो।

यसै क्रममा नेपालको राजनीति चल्दै थियो हठात् एक्कासी दरबार हत्याकाण्ड भयो। कसैले नसोचेको घटना नेपाल आर्मीको कडा सुरक्षा घेरा भित्र रहेको अत्ति सुरक्षीत दरबारमा साँझ छिप्पिनै लागेको बेला भएको घटना संसार हल्लाउने किसिमको थियो। साँझ ८ देखि ९ बजेको बीचमा भएको त्यो भयानक हत्याकाण्डको ब्रेकिङ्ग न्युज राती दश बजे बिबिसी र सीएनएन ले दिए जबकी नेपालमा भोलिपल्ट दिउँसोसम्म जनता कसैलाई केहि थाहै दिईएन।

तात्कालिन सेनापति प्रज्ज्वल सम्शेर राणाले “दरबारको सुरक्षा गर्नु सेनाको काम होइन“ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिए। सेवा निवृत्त उनी हाल अष्ट्रेलियामा ग्रीन कार्ड लिएर बसेका छन्। दरबार हत्याकाण्ड हुँदा गृहमन्त्री पौडेल हाल सम्माननीय राष्ट्रपति हुनुहुन्छ।

दरबार हत्याकाण्डको छानवीन समिति त बन्यो तर सम्पूर्ण दोष मरिसकेका युवराज दिपेन्द्र माथि लगाइयो। ल ठिकै छ हत्या युवराज दिपेन्द्रले गरेको देख्ने त छन् अझै जीवित छन्। उनीहरुले भने अनुसार विश्वास पनि गरियो ल तर आँफैले आँफैलाई गोली हानेर युवराज दिपेन्द्र आत्महत्या गरे भनेर भने पनि यसको ठोस प्रमाण कहीं कतै छैन। दिपेन्द्रले आँफैले आँफैलाई गोली हानेको देख्ने मान्छे कोहि छैन। छानवीन समिति त्यहाँ पुग्नै सकेन।

त्यत्रो हत्याकाण्ड हुँदा देशले चासो दिएर सत्य तथ्य सहित छानवीन गर्नुपर्ने घटनालाई तात्कालिन प्रधानमन्त्री, गृहमन्त्री, नेपाल प्रहरी तथा स्वयं सेनाले समेत गम्भिर रुपमा लिन नसक्नु नेपाल देशको दुर्भाग्य हो। एउटा स्टेट कसरी असफल हुन्छ विदेशीको नजरमा कति गिर्छ भन्ने कुरा बुझ्न दरबार हत्याकाण्डमा देश र देशका संयन्त्रले गरेको रवैया हेरे पुग्छ।

कतिसम्म भयो भने मृतक युवराज दिपेन्द्र सँग नाम जोडिएकी तथा युवराजकी प्रेमिका भनिएकी देवयानी राणा संग दरबार हत्याकाण्ड हुनुभन्दा एक घण्टा अगाडी मात्र युवराज दिपेन्द्रले करिब २० मिनेट टेलिफोन संवाद गरेको प्रमाण हुँदा हुँदै देवयानी राणालाई छानविन समितिले बोलाएर एउटा प्रश्न पनि सोध्ने हिम्मत गरेन। उनलाई छानविनको दायरामा ल्याउनु पर्थ्यो। हत्याकाण्ड हुनुभन्दा एक घण्टा अगाडी टेलिफोनमा उनको र दिपेन्द्र बीचमा के कुरा भएको थियो भन्ने कुराले अझै तथ्य आउन सक्थ्यो तर देवयानी राणालाई छानविनको दायरामा नै ल्याइएन। यसले दरबार हत्याकाण्ड झन् रहस्यपूर्ण बन्यो। त्यतिबेला उनी संयुक्त राष्ट्रसंघको युएनडिपीमा कार्यरत थिइन्। दरबारको त्यो विभत्स घटनाबाट विक्षिप्त बनेकी उनी घटना लगत्तै भोलिपल्ट दिल्ही उडेकी थिइन्। पछि उनी अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला इन्डियाको भाइस प्रेसिडेन्टमा नियुक्त भइन।

त्यस पछि ज्ञानेन्द्र राजा भए। उनले पनि आफ्ना दाइ भाउजुको अस्वाभिक हत्या तथा षडयन्त्रमुलक देखिने दरबार हत्याकाण्डलाई अझै छानवीन गर्न आवस्यक ठानेनन् या डराए त्यो उनले जानुन तर आज दाइ भाउजुलाई मास्नेले भोली मलाई पनि मास्छ भन्ने भेउ पाउन नसक्नु पुर्व राजा ज्ञानेन्द्रको ठुलो भुल हो।

दरबार हत्याकाण्डको बारेमा केहि सूचना जानकारी भएकी प्रेक्ष्य शाह जो दरबार हत्याकान्डमा मारिएका युवराज धीरेन्द्रकी पत्नी थिइन् जसको २०५८ साल कार्तिक २७ गते मुगुको रारा तालमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटनमा मृत्यु भयो यो घटना पनि रहस्यमय रह्यो। भनिन्छ दरबार हत्याकाण्डको दिन पार्टीमा उनलाई निम्तो भए पनि ढाडको समस्याका कारण उनि पार्टीमा सामेल भइनन्। उनी स्वर्गीय रानी एस्वर्यकि साख्खै बहिनि पनि हुन् भने स्वर्गीय राजा वीरेन्द्रकी साली। सो हत्याकाण्ड पछि उनले बारम्बार हत्याकाण्डको विरोध गरि अभिव्यक्यी दिन्थिन पनि ।अनि त्यो हत्याकाण्ड षडयन्त्र भएको अभिव्यक्ति केहि मिडियामा व्यक्त गरेकी थिइन् तर दरबार हत्याकाण्डको पाँच महिना पछि उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो जुन रहस्यमय नै रह्यो।

यसै बीचमा २०६० साल श्रावन १३ गते स्वर्गीय मदन भण्डारीका ड्राइभर अमर लामाको काठमाडौँ कालिकास्थान बाट अपहरण भयो र सोहि दिन दिउँसै किर्तिपुर नयाँ बजारमा उनको गोली हानी हत्या गरियो। उनको हत्या कसले गर्यो भन्ने कुरा आजसम्म अज्ञात छ। हत्यारा खोज्न न प्रहरीले चासो देखायो न सरकारले न दरबारले।लामा दासढुंगा दुर्घटनामा दोषी देखिएर अदालतबाट पाँच बर्षको कैद सजायं पाई पाँच बर्ष जेल बसेर छुटेका थिए। जेलबाट छुटेपछि उनले एमाले पार्टी परित्याग गरेका थिए र ताजाखबर साप्ताहिक नामको साप्ताहिक पत्रिका निकालेर पत्रकारको रुपमा कार्य गरिरहेका थिए यसै बीचमा उनको हत्या गरियो।
एकदम निकृष्ट र स्वार्थी मानिसहरुको वरिपरि रहेर चाल्नु नपर्ने कदम चल्नु ज्ञानेन्द्रको अर्को महाभुल थियो। एक पछि अर्को गल्ति गर्दै जाँदा आखिर ज्ञानेन्द्रको कारण नेपालमा राजतन्त्र समाप्त भयो देशमा गणतन्त्र आयो।

यी माथिका सत्य घटना र कुराहरु सिलसिलावद्ध रुपमा हेर्दा के बुझिन्छ भने मात्र १३ बर्षको अवधिमा नेपालमा विविध घटना घटाई शाशन सत्ता मात्र होइन २४० बर्षदेखिको राजतन्त्र नै समाप्त गरियो। दासढुंगा दुर्घटना, दरबार हत्याकाण्ड जस्ता ठुला घटनाको सम्पूर्ण प्रमाण नष्ट समेत गरिएको अवस्थामा नेपालमा गणतन्त्र स्थापित गरियो। यसमा के दावा गर्न सकिन्छ भने  मदन भण्डारीको दुर्घटनाको राम्रो छानवीन गरेको भए दरबार हत्याकाण्ड घट्ने थिएन र यदि दरबार हत्याकाण्डको पनि राम्रो छानवीन गरी सत्य तथ्य पत्ता लगाउन सकेको भए नेपालमा राजतन्त्रको अन्त्य पनि हुने थिएन।

भूराजनीतिक रुपमा नेपाल कति महत्वपूर्ण छ भन्ने कुरा नेपालमा घटेका घटनाले पुष्टि गर्छन। सानो देश छ। उत्तरमा उदाउँदो तर एक्लो बिशाल चीन छ भने दक्षिणमा बिशाल भारत छ जो हाम्रा आकाशका छिमेकी युरोपेली युनियन र अमेरिकासँग परम्परागत रुपमा सहकार्य गर्दै आएको छ। यो अवस्थामा देशमा जस्तो सुकै घटना जुनसुकै बेला घट्न सक्छ। तर घटनाको सत्य तथ्य छानवीन गर्नु राज्यको दायित्व हो। चाहे जति ठुलो देशी विदेशी शक्तिले घटना घटाओस त्यसको सत्य तथ्य बाहिर ल्याउनु राज्यको दायित्व हो। यदि त्यसो हुन सकेन भने देश असफल हुने बाटोमा जान्छ। विदेशीहरुले पत्याउन छाड्छन् अनि नेपालमा जे पनि गर्न सकिन्छ भन्ने मनोवल विदेशीहरुमा हुन्छ। नेपालको प्रहरी प्रशाशनप्रति आफ्नै जनताको विश्वास छैन भने विदेशीले किन विश्वास गर्छन ? राजनीतिक दलहरु र नेताहरु यति कमजोर छन् की विदेशी शक्तिले इशारा गर्ने बित्तिकै हस् भन्छन। न्यायलय उस्तै छ भरोसा छैन।

त्यसैले अब पनि नेपालमा जुनसुकै घटना घट्न सक्छ। त्यसको तयारी भित्र भित्रै भैरहेको छ। शाशन सत्ता परिवर्तन गरी अर्कै मोडलको शाशन स्थापित गर्ने तयारी भैरहेको छ। त्यसैले दलहरु र नेताहरु सजग हुनु जरुरी छ। भोली देशै तहसनहस हुँदा हामी पनि कहाँ रहौंला र ? भन्ने आभास दल र नेताहरुमा हुनु जरुरी छ। त्यसैले नेताज्यूहरु आजको सत्ता र पैसामा रमाउंदा भोली नेपाल भन्ने देश नै नरहने बाटोमा देश जानबाट रोक्नुहोस।

 

वि.सं.२०८१ पुस ९ मंगलवार २१:२५ मा प्रकाशित

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...