निर्मल रमण पराजुलि, सामाखुशि, काठमाडौं
१.
कालो रात हट्न जसरी, त्यो उज्यालो रवि चाहिन्छ
विचारको शक्तिले संसार बदल्न, यहाँ त्यस्तो कवि चाहिन्छ
छन समाजमा धेरै छन, कुरिति कुसंस्कार र कुविचारहरु
बदल्नुछ यो समाज भने, मान्छेमा स्वच्छ छवि चाहिन्छ ।
२.
कहिलेकाहीँ नसोँचेकै, चोट पर्छ जिन्दगीमा
आफ्नै मान्छे दुस्मन बनी, घात गर्छ जिन्दगीमा
हाँसो खुसीसँगै जीवन, बित्ला भन्ने सोँच्दै गर्दा
छातीमाथी बज्र परि, आँसु झर्छ जिन्दगीमा ।
३.
मान्छेले मान्छेलाई विभेद गर्छ, जातको बिल्ला भिराएर
आफ्नो जातलाई उच्च ठान्छ, अर्काको जात गिराएर
एक्काइसौँ शताब्दीमा पनि, छुवाछुत मै अल्झिरा’छौं
कहिले बनला सुन्दर समाज ?, यसैगरी बाटो बिराएर ।
४.
बुढेसकालमा पाल्छ भन्दै, छोरा पाउँदा मख्ख पथ्र्यौ
छोरीभन्दा त्यो छोरालाई, कति धेरै प्यारो गथ्र्यौ
अहिले छोराले भोकै पार्दा, छोरीले पो पालेकी छे
छोरीको गर्भ तुहाएको भए, आज खान नपाई मथ्र्यौ ।
५.
अचेल मेरा सन्तान किन, यति अबुझ बन्न थाले
हिमाल पहाड तराई छुट्याइ , तेरो मेरो भन्न थाले
सिङ्गो देशको कुरै छैन , वर्ग जातको पछि लाग्दै
सदभाव बोक्ने छातीभित्र , साँच्चै खाडल खन्न थाले ।
वि.सं.२०८१ पुस १३ शनिवार ०५:२० मा प्रकाशित






























