बालकुमारी घिमिरे गजलिका, इलाम
सेता हिमाल शिरमा छतझैँ बसेका
लाएर चन्दन टिको अझ टल्किएका ।
चम्किन्छ स्वर्ण जसरी जब घाम लाग्छ
आँखा भरिन्छ मनबाट विकार भाग्छ ।।
१
फुल्छन् गुराँस वनमा अति नै सुरम्य
पार्दै सुशोभित धरा भव ज्ञान गम्य ।
छन् माहुरी र भमरा यसमै भुलेका
देखेर नित्य कलिका सब छन् झुलेका ।।
२
मैदान फाँट हरिया सिमसार कस्ता
छन् कुञ्ज भित्र मृग वानर बाघ दस्ता ।
बस्छन् मिली सब त्यहाँ घरवार रोजी
खान्छन् डुलेर वनमा दिनरात खोजी ।।
३
बग्छन् नदी र झरना वन कुञ्जभित्र
डुल्छन् पहाड पहरा नित ढाँडभित्र ।
गन्तव्यतर्फ नपुगी नहुने छ बानी
लेखाउँदै अजिबको तरुनो कहानी ।।
४
भाषा अनेक पहिचान छ भेष राम्रो
आफ्नै छ धर्म अनि छैन कुनै नराम्रो ।
भातृत्व फुल्दछ यहाँ सब बन्धु नै छन्
संस्कार संस्कृतिहरू गतिला छँदै छन् ।।
५
छन्द : वसन्ततिलका
गण : त भ ज ज गु गु
सङ्केत :SSl Sll lSl lSl S S
अभ्यास : स्वर्ण पाठशाला
वि.सं.२०८१ पुस १३ शनिवार ०५:२६ मा प्रकाशित






























