
दीनानाथ पोख्रेल, इलाम
बिहान साँझ खेतमा किसान छन् ।
टिपेर अन्न विश्वमा पठाउँछन् ।।
मुसुक्क हाँस्दछन् खुली सबै गरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०१।।
किसान हाँस्न पाउला कसो गरी ?
उपाय खोज्न बेर भो धरा भरी ।।
सबै धरा बनाउँदै हराभरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०२।।
दिऊँ सुप्राप्ति लोकमा गमीकन ।
छ यो मनुष्यमात्रको बडो धन ।।
भुली सुकर्म साधना नहून् कुरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०३।।
सबै उठी चिनौँ सुकर्म हो धन ।
सफा गरौँ सधैँ विचारले मन ।।
पलाउँछन् नयाँ उदात्त आँकुरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०४।।
विचार आउँछन् निका नयाँ जब ।
उठी सुकर्म खोज्छ चेतले तब ।।
उठूँ म यो हँसाउँदै वसुन्धरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०५।।
सुकर्म गाउँछौ भने उठ्यो जुनी ।
सफा विचार चेतमा रहोस् गुनी ।।
पुकार्दछिन् यही भनी वसुन्धरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०६।।
छन्द – विभावरी
गण – ज र ज र
सङ्केत -ISI SIS ISI SIS
वि.सं.२०८१ पुस २७ शनिवार १०:४० मा प्रकाशित