back
CTIZAN AD

गरौ कोदो खाने बानी खनिज तत्वको खानी !

वि.सं.२०८१ पुस २८ आइतवार

2.6K 

shares

१. परिचय
१.१ भूमिका
कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईं हामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन ।यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड (भविष्यको स्मार्ट भोजन) रहेको जनाउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), जिन बैंकका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी भन्छन्, ‘यसलाई ढिँडोका रूपमा मात्र नभई मःम, सेल रोटी, बिस्कुट, चाउचाउ र रोटी लगायतका आधुनिक परिकारका रूपमा पनि उपयोग गर्नुपर्छ ।’

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको औंल्याउँदै उनी स्वास्थ्यसम्बन्धी फाइदाका लागि यसको उपयोग हुनुपर्ने सुझाउँछन् । कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । हामीलाई चाहिने प्रायः सबै थोक यसमा हुने गरेको विज्ञहरू औंल्याउँछन् । ‘कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ,’ युनिसेफ नेपालका पोषणविद् नवीन पौडेल भन्छन्, ‘पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ ।’ नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ ।

गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ ।

२. दार्शनिक मान्यता
कोदोलाई धेरैजसोले राम्रो अन्न मान्दैनन् तर यसको फाइदा सुनेर अचम्मित पर्नुहुनेछ । नेपालीको खाने चलनमा मुख्य घटक नै भात भएको र यसैमा अत्यधिक निर्भर रहने भएकोले नसर्ने रोगको वृद्घिमा समेत यसले सघाइरहेको छ । दशैको पहिले तराई र पहाडमा आर्थिक रूपले विपन्न वर्गलाई स्वस्थ राख्ने मुख्य आधारमध्ये एउटा कोदोसमेत हुन सक्ने अनुमान छ । धेरैजसो सहरी क्षेत्रका हुनेखानेहरूले रमाइलो र फरक स्वादको लागि कोदो खाने गरेका छन्, ‘हामी यसको फाइदा जानेर भन्दा पनि नजानेर परम्पराग बानी व्यहोरा आदिले खाइरहेका छौं ।’ हाल हाम्रो मुलुकमा अमृतजस्तै उपयोग गर्न सकिने कोदोको विषजस्तो उपयोग भइरहेको विज्ञहरू बताउँछन् । कोदोको उपयोग घरेलु जाँड, रक्सी, तोङबा लगायतमा बढी भइरहेको दुःखद स्थिति औंल्याउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती भन्छन्, ‘कोदोको नियमित सन्तुलित उपयोग मात्रै गर्न सके पनि हाम्रो मुलुकबाट कुपोषण हटाउन सकिन्छ ।’ ढिँडोको रूपमा कोदो खानु अति नै फाइदाजनक मानिन्छ । रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ । अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ ।

बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । मल्टिग्रेन (बहुअन्न) पिठोमा कोदोमिसाएर थप स्वस्थकर र स्वादिलो रूपमा उपयोग गर्न सकिने जनाउँदै बस्तीले ‘हर्लिक्स’ जस्तो शक्तिवर्धक पेय पदार्थबनाउने ‘डीएफटीक्यूसी’ मा केही अनुसन्धान भइरहेको बताए । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोले पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ । कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, बन, केक, मफिन, शिशु खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ । वस्तीका अनुसार, कोदो फलाम, क्याल्सियमजस्ता म्याग्नेसियम, फोस्फोरस र पोटेसियमजस्ता खनिजको समृद्घ स्रोत हो । यसमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ ।

३. अध्ययनको नतिजा

३.१ कोदोमा पाईने पौष्कि तत्व
कोदोमा पाइने पौष्टिक तत्वको बारेमा निम्नलिखित तालीका (तालीका १) मा प्रस्तुत गरिएको छ ।

कोदो खासगरि खनिज तत्वको हिसावले अन्य वाली भन्दा धेरुै महत्वपूर्ण छ । यसमा भरपुर फलाम, क्याल्सियम र फोस्फोरस पाइन्छ । यसमा फाइवर पनि प्रसस्त मात्रामा पाइन्छ । फाइबरले भरिपूर्ण कोदोमा विभिन्न भिटामिन (जस्तै : बिटा क्यारोटिन, नियासिन, भिटामिन बी ६, फोलिक एसिड) हुन्छन् । यसमा भएको लेसितिनको उच्च मात्राले स्नायु प्रणालीलाई बलियो बनाउन सघाउँछ । यसको उपयोगले कुपोषण हटाउन सकिन्छ । यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ । मुलुकको खाद्यान्न बालीको चौथो महत्त्वपूर्ण बाली कोदो रहेको औल्याउँदै बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्य भन्छन्, ‘कोदो खेतीमा मल, जल, विषादी आदिको खासै आवश्यकता नपर्ने हुनाले यो हाम्रो लागि अत्यन्त उच्च स्तरको अर्गानिक खाद्य पदार्थ हो ।’ मानिसलाई ज्ञात सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्व दिएको देखिदैन ।

हाम्रो देशमा कोदोका दुई सयभन्दा बढी स्थानीय जात पाइन्छन् । यसको बीउ घरेलुस्तरमै करिब १० वर्षसम्म सुरक्षित राख्न सकिन्छ । मुलुकमा करिब २ लाख ६० हजार हेक्टरमा कोदोको खेती हुन्छ । वार्षिक रूपमा करिब ३ लाख १५ हजार मेट्रिक टन कोदोको उत्पादन हुन्छ । नेपालमा कोदो बाली लगाउने कुल क्षेत्रफलको ७५ प्रतिशत जग्गा मध्यपहाडी जिल्लामा पर्छ ।

३.२ क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ
इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ- विषाक्तता हटाउँछ, श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ (पुनर्निर्माण हुन नसक्ने) रोगविरुद्घ सुरक्षा प्रदान गर्छ । कोदोमा रेसिस्टेन्ट स्टार्च, ओलिगोसेकेराइड, लिपिड, एन्टिअक्सिडेन्टजस्तो फेनोलिक एसिड, एवेनथ्राम्रामाइड्स, फ्लेभोन्वाइड्स, लिग्नस र फाइटेस्टेरोलजस्ता थुप्रै महत्त्वपूर्ण पोषकतत्त्व पाइन्छन् ।

यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो । हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

कोदो मुटु रोगमा समेत अत्यन्त फाइदाजनक मानिन्छ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ । कोदोमा भएको पोटेसियमले‘वासोडिलेटर’अर्थात् सानो रक्तवाहिनीलाई ठूलो पारेर रक्तचाप कम राख्न सहयोग गर्नुका साथै मुटु र रक्तनलीसम्बन्धी जोखिम कम गर्छ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ । यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ । मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ ।यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र टयानिनले मधुमेहको खतरालाई कम गर्छ । किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्घिलाई मन्द पार्छ ।

पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ । यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो । हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन् । आईआईएमआरको अनुसार, कोदोले शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्छ ।

३.३ कोदोलाई हामीले चाहिँ कहिले चिन्ने ?
कोदोको बहुउपयोगलाई विश्वभरि बुझाउन, उत्पादन र उपभोगलाई बढाउन भारतको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष’ घोषणा गरेको छ । यो घोषणासँगै संसारभरिको ध्यान कोदोप्रति आकर्षित भइरहेको छ । नेपालमा त यसको गुण धेरै चिनाइरहनु पनि नपर्ने हो ।

युगौंदेखि विशेष गरी पहाडी भेगको खाद्य संस्कृतिको अभिन्न हिस्सै रहिआएको छ यो अन्न । यद्यपि, तमाम गुणका बावजुद यसलाई इज्जतिलो अन्नका रूपमा भने अझै लिइन्न । सहर–बजार र रेस्टुराँहरूबाहेक कोदो खानेलाई हेयका रूपमा हेर्ने प्रचलन छ । यसको प्रवर्द्धन गरी जनजीविकाको सशक्त माध्यम बनाउन सकिएकै छैन । कोदो वर्ष घोषणाजस्ता अन्तर्राष्ट्रिय पहलहरूका आलोकमा पनि नेपालले कोदो सम्बन्धी विद्यमान परम्परागत बुझाइलाई फेर्न सक्नुपर्छ ।

रूखो जमिन तथा प्रतिकूल हावापानीमा समेत फल्ने, रोगकीरा त्यति नलाग्ने, पौष्टिक तत्वले भरपूर कोदो ‘चामल नपाउनेहरूले मात्र खाने हो’ भन्ने परम्परागत धारणा बजारको प्रवेशसँगै पछिल्ला दशकहरूमा झन्झन् बलियो बनेको थियो÷छ । कोदो (पाङ्दुर) खानेलाई भनिने पाङ्दुरे अरू‘न्यून कोटि’ का मान्छेलाई होच्याउन पनि प्रयोग गरिने प्रचलनकै कारण थाहा हुन्छ, यो अन्न कति अपहेलित छ भनेर । आधुनिकताको मापक खास गरी चामल बन्नुले कोदो लगायत भूगोल, संस्कृति र स्थानीय विशेषता अनुरूपका मौलिक खाना परम्परा–ज्ञान लोप हुँदै गएका छन् । आयातित र तयारी खानेकुराले यसको स्थान लिइरहेको छ । आधुनिक बन्ने होडमा यसरी छुट्दै गएको परम्परागत खानपिन–बानीलाई सम्झन र गर्वका साथ पुनःस्थापित गर्न ढिला भैसकेको छ । कोदोका विशेषताहरूको खोजी विश्वव्यापी रूपमा भइरहँदा र संसार कोदोतर्फ फर्किरहँदा यसको परम्परागत धारणालाई नेपाली समाजले पनि बदल्नु जरुरी छ ।

अन्तर्राष्ट्रिय कोदो वर्षको घोषणासँगै जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र कृषि प्रणालीमै प्रत्यक्ष असर परिरहेकाले उक्त संकटसँग जुध्न कोदोलाई उपयुक्त बालीका रूपमा प्रचार–प्रसार गरिँदै छ । हिन्दकुश शृंखला अन्तर्गतका दक्षीण एसियाली मुलुकमा जलवायु परिवर्तनले कृषि प्रणालीलाई पारिरहेको असर तुलनात्मक रूपमा बढी भएको वैज्ञानिकहरूको आकलनमाझ यसको सामना गर्न भारतले कोदोको पहिचान गरेको हो । प्रतिकूल वातावरणले निम्त्याउन सक्ने खाद्य संकट टार्न पनि कोदोको प्रवर्द्धन हुनुपर्ने उसको जोड छ । दिगो विकासका लक्ष्यप्राप्तिका लागि भविष्यमा कोदो खेतीको प्रवर्द्धन अपरिहार्य रहेको कतिपय विज्ञको निष्कर्ष छ । जलवायु परिवर्तनको अति जोखिममा रहेको नेपालले पनि यी सबै प्रयत्नलाई नियाल्न र तदनुरूप यसको खेतीलाई प्रोत्साहन गर्न अविलम्ब नीतिगत पहल थाल्नु आवश्यक छ ।

भारत सरकारले नै गरिरहेको कामकारबाही पनि नेपालका लागि अनुकरणीय हुन सक्छ । उसले सन् २०१८ लाई कोदो वर्ष घोषणा गरेको थियो, जसले आन्तरिक बजार वृद्धि गर्न र यसका औषधीय गुणको प्रचार गर्न मद्दत पु¥याएको थियो । यसैगरी, न्यूनतम समर्थन मूल्य निर्धारण र त्यसको पालना अनि किसानलाई अनुदान, मल, बीउ र प्राविधिक सहयोग व्यवस्थापनका लागि प्रान्तीय सरकारहरू पनि खटिरहेका देखिन्छन् । विदेशी पाहुनालाई कोदोको परिकारले स्वागत गर्ने अभ्यास पनि थालिएको छ । खाद्य संकटको जोखिमलाई ध्यान दिएर कोदो उत्पादनका लागि लगानी वृद्धि गरेको भारतले यसको अन्तर्राष्ट्रिय बजार पनि खोज्दै छ ।

यसरी छिमेकी मुलुकमा कोदो प्रवर्द्धनका लागि उत्साहजनक काम भइरहँदा नेपालमा भने सरकार कत्ति पनि जानकार जस्तो देखिन्न, जसलाई कोदो आयातमा भइरहको वृद्धिले पनि प्रस्ट्याउँछ । भन्सार विभागका अनुसार सन् २०१८ अघिका केही वर्षसम्म बर्सेनि ३ करोड रुपैयाँ हाराहारीमा हुने गरेको कोदोको आयात त्यसपछि ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७५÷७६ यताका तीन वर्षमा क्रमशः ८ करोड ३ लाख ७७ हजार, ७ करोड १५ लाख १७ हजार र ६ करोड ३३ लाख १९ हजार रुपैयाँ बराबरको कोदो विदेशबाट ल्याएको छ ।

आयात बढिरहँदा उत्पादन हुने क्षेत्र भने बर्सेनि घटिरहेको छ । जीविकाको भरपर्दो माध्यमका रूपमा परम्परागत खेतीपाती, त्यसमा पनि कोदो खेतीलाई स्थापित गर्न सकिएको छैन । सायद पहाडी बस्तीहरू खाली हुने क्रम बढ्नुको असर पनि यो बालीमा परेको छ । खालि सहरी उपभोक्तामाझ भने कोदोप्रति चासो बढेको देखिन्छ । कोदोको ढिँडो, रोटी लगायत परिकार बनाउने रेस्टुराँहरूको संख्या दिनानुदिन थपिइरहेको छ । ग्रामीण खाद्य सुरक्षा र यही आन्तरिक बजारलाई मध्यनजर गर्दै सरकारले स्थानीय उत्पादन बढाउने नीति लिँदै आयातलाई कम गर्दै लैजानु अपरिहार्य छ ।

यसका निम्ति अछामको चौरपाटी गाउँपालिकाकै प्रयत्नबाट पनि धेरै सिक्न सकिन्छ । प्रत्येक असार १६ मा कोदो दिवस मनाउने यो पालिकाले किसानले फलाएको कोदो संकलन गरी धनगढीमा लगेर बेचिदिने गरेको छ । सिँचाइ नलाग्ने जमिनमा निर्भर कमजोर तथा साना किसानको सुरक्षाका लागि पालिकाले बजार व्यवस्थापनसम्मकै जिम्मा लिनु सराहनीय छ । अरू पनि कति पालिकाले परम्परागत बाली प्रवर्द्धनका लागि निश्चित बजेट छुट्याउने गरेका छन् । तर, किसानसँग छलफल गरेर विभिन्न प्रविधि, उन्नत बीउ–बिजन लगायत उत्पादकत्व वृद्धिका लागि भन्दा पनि उक्त रकम धेरै कोदो फलाउने किसानलाई पुरस्कार दिनमा मात्र खर्च भएको वा त्यसको दुरुपयोग हुने गरेको गुनासो सुनिन्छ ।

पालिकाहरूका अतिरिक्त, कोदो उत्पादन र बजार व्यवस्थापनका नीतिगत प्रबन्ध मिलाउन संघीय सरकारकै पनि समुचित पहल आवश्यक छ । रैथाने खेती प्रवर्द्धन गर्न बजेट छुट्याएर मात्र हुँदैन, कोदोजस्ता बालीलाई केन्द्रमा राखी यसका गुणहरूको प्रचारप्रसार पनि गर्नुपर्छ । आम तहमा कोदोप्रतिको दृष्टिकोण बदल्नुपर्छ । र, भारतमा जसरी नै किसानका निम्ति अन्य बाली लगाउँदा हुनेजत्तिकै फाइदा यहाँ पनि सरकारले सुनिश्चित गरिदिनुपर्छ ।

४. निष्कर्ष
नेपालको पहाडी तथा हिमालका साना गरिब तथा जोखिममा परेका किसानका लागि औंला कोदो महत्वपूर्ण खाद्य बाली हो । पहाडमा करिब तीन चौथाइ जति क्षेत्रमा कोदो हुन्छ जसले पहाडी किसानहरूको खाद्य र पोषण सुरक्षाका लागि महत्वपूर्ण बालीको रुपमा देखाउँछ। यति हुँदाहुँदै पनि उत्पादन र उत्पादनमा स्थिरतासँगै कोदोको क्षेत्रफल घट्दै गएको छ । तर पछिल्लो दशकमा वार्षिक १४ प्रतिशतले आयात मूल्य तीव्र गतिमा बढिरहेको छ । यसले मुलुकमा कोदो उत्पादनको बढ्दो मागलाई हालको उत्पादनले पूरा गर्न नसकेको सङ्केत गर्छ । उत्पादनको पोषण र स्वास्थ्य मूल्य सृजना गरी उत्पादन, उत्पादकत्व बढाएर व्यावसायीकरणका लागि कोदोको व्यापार प्रवद्र्धन गर्ने प्रयास बढ्दै गएको उच्च सम्भावना छ । धान, मकै र गहुँजस्ता ठूला अन्नको औसत ३ मे.टन प्रति हेक्टरको तुलनामा करिब १ मे. टन उत्पादनमा रहेको बालीको न्यून उत्पादकत्वलाई ध्यानमा राखी सुधारिएको जातको प्रयोगबाट यस बालीको उत्पादन र उत्पादकत्व बढाउने उच्च सम्भावना रहेको छ । उत्पादन प्रविधि र व्यवस्थापन अभ्यासहरू मार्फत बढ्दो आयात घटाउन र कोदो उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन अनुसन्धान र विकासमा लगानी बढाएर उत्पादकत्व बढाउन जरुरी छ । यसबाहेक, तिनीहरूको उच्च पोषण मूल्य र थोरै मलजलमा सीमान्त पहाडी क्षेत्रमा र वर्षामा आधारित भिरालो जमीनहरूमा बढ्न सक्ने क्षमताको कारण, कोदो भविष्यमा पहाड र पहाडका साना किसानहरूको खाद्य र पोषण सुरक्षा सुधार गर्न सम्भावित बाली हुन सक्छ । तथापि, यसका लागि पहाडी र हिमालको वर्षामा आधारित सीमान्त जमीनमा यस बालीलाई प्रवद्र्धन गर्न योजनामा प्राथमिकता र नीतिगत सहयोग आवश्यक देखिन्छ । यो अन्न आजकाल शहरी क्षेत्रका सम्भ्रान्त वर्गले प्रयोग गर्न थालेको पाइन्छ । साथै ठूला तारे होटलहरुमा पनि मिलेट सुपको रुपमा निकै लोकप्रिय बन्दै गएको देखिन्छ । विश्वपरिवेशमा बदलिरहेको कोदोको परिभाषा अनुरूप यसको विशेषताको उपयोग गर्न नेपाल पछि पर्नु हुन्न ।

वि.सं.२०८१ पुस २८ आइतवार १०:१३ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...