
दीनानाथ पोख्रेल, इलाम
म व्यक्ति अति अग्लो छु, पदले धनले पनि ।
सधैँ साथ दिएका छन्, छलले जालले पनि ।।०१।।
सेतो कालो बनाएर, म छर्छु शिष्य छन् पर ।
मिचेर विधिको बाटो, भर्दो छु अर्थले घर ।।०२।।
भ्रष्टाचारी भनून् के भो ? सदाचारी छु भन्दछु ।
चेलामा अर्थ बाँडेर, सदाचारी म छिन्दछु ।।०३।।
भ्रष्टाचारी म नै हुँ कि ? भ्रष्टाचार स्वयम् म हुँ ।
बुझ्नलाई भयो गाह्रो, कष्टको हाल के कहुँ ?०४।।
झुक्किएँ म स्वयम् आज, म को हुँ चिन्न सक्दिनँ ।
तर्सन्छु नीदमा राति, भ्रष्टता त्याग्न सक्दिनँ ।।०५।।
उठ्दछन् स्मृतिका छाल, भोक, रोग, अभावका।
खुसीमै बित्तथ्यो काल, स्रोत शून्य रवाफका ।।०६।।
सम्पत्ति थुप्रियो रास, छाती पोल्दछ त्रासले ।
त्रासका मारको छाती, टाढा राख्दछ आशले ।।०७।।
कर्ममा निस्कनासाथ, भ्रष्ट बाटो म रोज्दछु ।
उक्लिएँ अर्थमा माथि, प्वाल नौलो म खोज्दछु ।।०८।।
हिजोका कष्ट सम्झन्छु, सास लामो सुसाउँछ ।
भ्रष्ट बाटो समात्तै छु, लोभमाथि उठाउँछ ।।०९।।
लेख्नेले कविता लेख्छन्, गाउँछन् गीत के भयो ?
सेनामेना सँगै पाल्छु, रक्षापङ्क्ति छँदै छ यो ।।१०।।
भ्रष्टाचार नगर् भन्छन्, साह्रै तात्तछ कन्सिरी ।
गर्दै अटेर पक्डन्छु, विशाल अर्थको गिरि ।।११।।
कराऊन् मिडियाकर्मी, केही दाम चटाउँछु ।
पशालीन स्वच्छ हो भन्ने, पत्रिकामै छपाउँछु ।।१२।।
शौचालय पसी हेर्छु, टेलिभिजन नित्य म ।
थोरै जोडा बनेका छन्, आफैँभित्र ठडिन्छु म ।।१३।।
भ्रष्टाचारी समातेर, थुन्ने भन्छन् कताकति ।
ती सबै दुष्ट हुन् मेरा, मरून् लाग्छ भएजति ।।१४।।
छन्द : अनुष्टुप्
वि.सं.२०८१ माघ १९ शनिवार ०४:५४ मा प्रकाशित