वसन्त अनुभव,घोराही, दाङ
‘अब त अति भो ! म तिम्रो कुरा सुन्दिनँ, बुझ्यौ ? एकपटक आफ्नो शरीर ऐनामा हेर त ! पहिले कस्ति थियौ, अहिले कस्ति भइसक्यौ ।’
‘हुन त हो, हजुर ! पैसा पनि थुप्रै खर्च भैसक्यो । शरीर पनि निकै गलेको छ । तर आफन्त अनि समाजले के भन्छ ? कुरा काटेर सजिलै बसिखान दिन्छ ?’
‘फजुलको कुरा छोड । मलाई तिम्रो स्वास्थ्यको चिन्ता छ नकि आफन्त अनि आडम्बरी समाजको । तिमीलाई राम्रोसँग थाहा छ नि ? यो तिम्रो छैटौं एवोर्सन हो । छोरी भएर के भो त ! के छोरी सन्तान हैनन् र ? प्लिज ! छोराको हठ त्याग ।’
‘तपाईँ जेसुकै भन्नुस्, एउटा छोरा नभइ त हुँदै हुँदैन । तपाईँलाई त के छ र ! कुरो त मैले सुन्नुपर्छ, अपहेलना मैले झेल्नुपर्छ । अस्ति आमाले तपाईँलाई ’अर्को बिहे गर छोरा !’ भनेर साउती गरेको मैले सुनेको छैन र ! यसरी जिउँदै मर्नुभन्दा छोराको निम्ति सङ्घर्ष गर्दै मर्छु ।’
वि.सं.२०८१ फागुन ३ शनिवार ०८:४२ मा प्रकाशित






























