back
CTIZAN AD

कविता : झगडा

वि.सं.२०८२ वैशाख २० शनिवार

1.7K 

shares

कलानिधि दाहाल, काठमाडौं

बने ताजा खाजा मनसँग कतै हुन्न झगडा
सधैँ राम्रो सोचे सुमधुर हुने मानिस बडा ।
सबै सीमा छाडी उदयपुरमा उड्न म सके
हुने छैनन् झञ्झा झपट सजिला बिर्सन सके ।१।

लिई लोभी क्रोधी मन हिँडिदिए हुन्छ झगडा
म पाऊँका तृष्णा तरल तममा हुन्छ झगडा ।
छु अग्लोको आँखो अतिशय भए हुन्छ झगडा
सबै कोही केही यति बुझिदिए हुन्न झगडा ।२।

यता बिर्सी आफू सहज गतिमा पाउ छरिए
यिनै सच्चा भाका मनमधुरमा भित्र भरिए ।
सदा मायाका यी तुहिन जुइना चट्ट चुँडिए
कतै हुन्नन् भारी भुवनभरका क्रोध थुनिए ।३।

म को हूँ के हूँको अतल गहिरो चिन्तन उठे
छु जाँने कस्तामा अलिकति यता मन्थन जुटे ।
कहीँ हुन्नन् कोही कलुष दिलले उग्र उभिने
न बाझा हुन्छन् यी न त छ झगडा यो मन छुने ।४।

उकालो आफैँ हूँ टकटक हिँडे चुम्छु शिखर
म ओराली आफैँ फटफट झरे संयम भिर ।
छु तेर्सो आफैँ यो जग छ गतिलो दौड म बडा
भनी गाढा सोचे न त छु म कतै हुन्छु झगडा ।५।

पगालूँ नौनीझैँ नरम कमलो कोमल मुना
मुनाभन्दा राम्रा मृदुल मन गाँसू दिल दुना ।
लिई हत्केलामा हरित प्रणयी पल्लव पला
सफा पारी माँझी नयन म छरूँ व्यापक थला ।६।

पुराना अन्धा यी गणित गुरुका फाल्न म सकूँ
नयाँ आस्था रोपी अविदित यता गाल्न म सकूँ ।
ससाना झुत्रा छन् झपट पटमा दूर म गरूँ
सबै रित्ता पारी दृढ नव कला भित्र म भरूँ ।७।

बिहानीको नौलो सममय छटा छाँट छरिऊँ
सदा उस्तै रम्ने जनमन भरी भाव भरिऊँ ।
तिता लोभी ताना तनन बलले चुँड्न म सकूँ
सधैँ सच्चा नौलो सृजनपथमा गुड्न म सकूँ ।८।

न पानीमा आगो,न छ अनल पानीभर भरूँ
न थोत्रा साना यी जडगफ भरी गायन गरूँ ।
भए मुक्तात्मा यी स्खलित पथका झञ्झट बडा
कहाँ हुन्छन् मान्छे सुझ न बुझ गर्छन् र झगडा ।९।

छन्द : शिखरिणी
गण : य म न स भ ल गु
सङ्केत : lSS – SSS – lll – llS – Sll – l – S
विश्राम : छ,एघार अक्षरमा
अक्षर सङ्ख्या : सत्र हरेक पङ्तिमा

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:१४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...