अलख निरञ्जन लोहार
टीकापुर, कैलाली,हाल : भारत
लेख्यौ अन्तर भावना हृदयका, भाषा बनाईदियौ,
नेपालीपन चित्तमा हितहुने, आशा जगाईदियौ ।
मीठा काव्य कला अनन्त रसिला,पीयूष मानीकन,
राखी मस्तकमा अनेक रचना,रच्दै बित्यो जीवन ।१।
तिम्रै कौशलका अनन्य रचना, पढ्दैछु ऐले पनि,
फुल्दैछन् कवि बागमा सरसिला, निर्धक्क जैले पनि ।
तिम्रै काव्य सुधा पिएर खुस भै झुल्छन् यिनी कन्दरा,
भेट्छिन् सुन्दर लेखनी मधुमयी प्यासी बनेकी धरा ।२।
लेख्यौ जीवनमा यथार्थ कविता, घाँसी बनाई गुरु,
मर्यादा र चरित्रको बिषयमा, आलेख गर्दै शुरु ।
आफ्नै बुद्धि विवेकले मगनभै, चढ्थ्यौ विधाका धुरा,
देखिन्छन् कति सिर्जना रसमयी, आनन्द दिन्छन् पुरा ।३।
छन् शार्दूल र मालिनी शिखरिणी, ती स्रग्धरा छन्दमा,
ढुङ्गा जङ्गल मृत्तिका भुवनमा, झुल्छन् खुबै कन्दमा ।
भाषा धर्म परम्परा बचनमा, सत्कर्म छर्दै गयौ,
नेपाली मनभित्र सान सुकिलो, आदित्य जस्तै भयौ ।४।
मान्छेभित्र विभेदका मतहरू, तोडेर बाँचून् सबै,
छर्कून् चेतन भानुभक्तसरि भै, हाँसेर नाचून् सबै ।
बुझ्नैपर्दछ भानुभक्त दिलले, भाषा कला सिर्जन,
छन् रामायण श्लोक नित्य मुखमा,सक्ला र को बिर्सन ?५।
छन्द : शार्दूलविक्रीडित
गण : स म स ज स त त गु
गण सङ्केत : SSS IIS ISI IIS SSI SSI S
वि.सं.२०८२ असार २८ शनिवार ०८:१३ मा प्रकाशित






























