back
CTIZAN AD

समाजवाद र केही समाजवादी देशका कार्यप्रणालीको सामान्य अध्ययन

वि.सं.२०८२ साउन ५ सोमवार

2.1K 

shares

समाजवादमा राजनीतिक विचार तथा व्यवहारको समृद्ध परम्पराले के स्पष्ट पार्दछ भने उत्पादनका साधनहरूको स्वामित्व व्यक्तिमा होइन, बरू समाज (समुदाय) को नियन्त्रणमा हुनुपर्दछ। राजनीतिक विचारधाराको रूपमा समाजवाद पूँजीवाद र पूँजीवादी उत्पादन प्रणालीको विरोधको रूपमा रहेको हुन्छ। पूँजीवादले निजी सम्पत्तिलाई प्रश्रय दिन्छ भने समाजवादले सामाजिक स्वामित्वलाई। विचारधाराको रूपमा समाजवादलाई तीन अलग-अलग तरीकाबाट बुझ्न सकिन्छ।

पहिलो : यसलाई निजी स्वामित्व र पूँजीवादको खुला बजार मोडेलको विपरीत सामाजिक स्वामित्व र उत्पादनका साधनहरूको केन्द्रीकृत नियन्त्रणमा आधारित रूपमा हेरिन्छ।

दोस्रो : समाजवादलाई केही राजनीतिक विचारधारा, सिद्धान्त वा नीतिको लागि स्थापित गरिएको देखिन्छ, जुन केही मूल्यमान्यता, आस्था र सम्मिलित कर सिद्धान्तसँग जोडिएको हुन्छ। यसलाई प्रायः समाजवादी विचार वा समाजवादी दृष्टिकोण भनिन्छ। यो समतावाद, सामूहिकता, सहकारिता, वर्गविहीन समाज, आर्थिक समानता, आदि मूल्यमान्यताहरूबाट अगाडि बढ्दछ।

तेस्रो : समाजवादको पहिचान राजनीतिक तथा सामाजिक आन्दोलनबाट पनि हुन्छ, जसमा पूँजीवादको अन्त्य र निजी सम्पत्ति तथा खुला बजार अर्थव्यवस्था जस्ता संरचनालाई खत्तम गर्नको लागि लडियो र तिनीहरूको प्रतिस्थापन समाजवादी प्रणालीबाट भयो। त्यहाँ उत्पादनका साधन सामूहिक रूपले राज्यको स्वामित्व र नियन्त्रणमा हुन्छन्। त्यसकारण समाजवादी राज्यलाई समाजवादी प्रणालीको रूपमा बुझ्न सकिन्छ, जहाँ उत्पादनका साधन राज्यको स्वामित्व वा नियन्त्रणमा हुन्छन्।

ऐतिहासिक रूपमा समाजवादले १९ औं शताब्दीको शुरूवाती चरणमा बौद्धिक क्रियाकलापसहित औद्योगिक पूँजीवादद्वारा गरिएको अनुचित र अन्यायपूर्ण आर्थिक तथा सामाजिक परिस्थितिको विरूद्ध प्रतिक्रियाको रूपमा आफ्नो मार्गप्रशस्त गर्‍यो। त्यससकारण हामीले समाजवादलाई राम्रोसँग बुझ्नका लागि पूँजीवाद र पूँजीवादी संरचनाका आधारभूत पक्षहरूलाई पनि बुझ्नुपर्दछ। पूँजीवाद खुल्ला आर्थिक गतिविधि र निजी सम्पत्तिलाई स्पष्ट रूपमा मान्यता दिने एक राजनीतिक तथा आर्थिक प्रणाली हो। अर्को शब्दमा पूँजीवादी व्यवस्थामा उत्पादनका साधन निजि स्वामित्वको अधिनस्थ हुन्छन् र प्रतिस्पर्धात्मक खुल्ला बजारयुक्त अर्थव्यवस्थाले प्रमुख शक्तिको रूपमा काम गर्दछ। परिणास्वरूप पूँजीवादी व्यवस्थामा उत्पादनको प्रमुख उद्देश्य समाजको आवश्यकता वा लाभ नभएर अधिकतम् रूपमा व्यक्तिगत लाभको लागि सम्पूर्ण उत्पादन क्रियाकलाप संचालित हुन्छ। पूँजीवादी व्यवस्थामा लगानीको विकल्प समाजिक वा सार्वजनिक माग हुँदैन, बरू बजारमा माग र आपूर्तिबाट निर्धारित हुन्छ। पूँजीवादको यो खुल्ला- बजार प्रारूपले अनिवार्य रूपमा केही व्यक्तिको हातमा पूँजी (धन) संचय गर्न शुरू गरिदियो। उनीहरू उत्पादनका साधनको मालिक भए र तिनीहरूलाई नियन्त्रण गरे, जसलाई बुर्जुवा वर्ग भनियो। त्यसपछि पूँजीपतिहरूले समाजमा आफ्नो प्रभुत्व बलियो बनाउनको लागि आफ्नो संचित धनको उपयोग गरे। त्यसकारण पूँजीवादी समाजलाई एक स्पष्ट विभाजन-रेखाद्वारा चित्रित गरियो – उत्पादनका साधनहरूको मालिक पूँजीपति वर्ग र आफ्नो श्रमशक्तिबाहेक केही नहुने सर्वहारा वर्ग।

समाजवाद पूँजीवादी उत्पादन प्रणालीलाई समाजवादी उत्पादन प्रणालीबाट प्रतिस्थापन गरी पूँजीवादलाई बढी मानवीय तथा सामाजिक सार्थक विकल्प प्रदान गर्ने एक राजनीतिक र आर्थिक सिद्धान्तको रूपमा अगाडि आएको हो। समाजवादले पूँजीवादको निजी स्वामित्व र प्रतिस्पर्धात्मक खुल्ला-बजार प्रणालीलाई समाजमा सामाजिक असमानताको मुख्य कारण मान्दछ। र, राज्यद्वारा निर्देशित तथा संगठित एक केन्द्रित आर्थिक व्यवस्थालाई मान्यता दिन्छ। त्यसकारण समाजवादी आर्थिक प्रणालीलाई नियन्त्रित अर्थव्यवस्था पनि भनिन्छ। समाजवादमा उत्पादनका साधन समग्र रूपमा समाजको अधिनस्थ हुन्छन्। समाजवादमा उत्पादन हुने प्रत्येक चीज सामाजिक उत्पादन हुन्छन् र उत्पादनबाट प्राप्त मूल्य पनि सामूहिक रूपले समाजसँगै सम्बन्धित हुन्छन्। मार्क्स-एङ्गेल्सका अनुसार समाजवाद प्रत्येकको तर्फबाट उसको क्षमता अनुसार र प्रत्येकको लागि उसको आवश्यकता अनुसार हो। यसप्रकार समाजवाद उत्पादनका आवश्यक वस्तुहरू जनताको स्वामित्वमा हुने र यसको नियन्त्रण र प्रशासन पनि जनताद्वारा नै गरिने एक सामाजिक प्रणाली हो।

समाजवादी विचारको अस्तित्व, जस्तो कि समतावाद, समुदायमा रहनु र श्रम तथा संसाधनहरूको साझा प्रयोग गर्नु जस्ता क्रियाकलाप मानव समाजको सम्पूर्ण इतिहासमा देखिन्छ। तर सन् १८०० को दशकको शुरूवातदेखि प्रारम्भिक समाजवादीको रूपमा चिनिने सेन्ट साइमन, रोबर्ट ओवेन, चार्ल्स फूरियें, आदिले आफ्नो लेखनमा पहिलो पटक समाजवादी विचारको प्रवाह गरे। तर उनीहरूलाई काल्पनिक समाजवादी भनियो। यी शुरूवाती समाजवादी विचारकहरूले समाजमा संरचनात्मक असमानता, अन्याय र पीडामाथि प्रकाश पारे। उनीहरूका अनुसार यो सबै पूँजीवादी उत्पादन प्रणालीबाट उत्पन्न भएको हो। उनीहरूका अनुसार उत्पादनका साधनहरूको निजी स्वामित्व नै सबै खराबीहरूका स्रोत थिए। सेन्ट साइमनले राज्य र समाजका सबै जनताको लाभको लागि उत्पादन र वितरणलाई नियन्त्रण गर्ने प्रणालीमा विश्वास जनाए। ओवेन र फूरिएले केन्द्रीकृतको सट्टा साना सामूहिक ‘आत्मनिर्भर’ समुदायको आधारमा एक प्रणालीको प्रस्ताव राखे। यी प्रारम्भिक समाजवादीहरूको मान्यता के थियो भने पूँजीवादीहरूलाई समाजप्रति आफ्नो दृष्टिकोण र व्यवहार बदल्नको लागि विश्वास दिलाएर र श्रमिकहरूको स्थितिमा सुधार गरी (पर्याप्त ज्याला दिएर, राम्रो आवासीय सुविधा दिएर, राम्रो स्वास्थ्य सेवा दिएर, शिक्षाको सुविधा आदि दिएर) समाजवादी लक्ष्य प्राप्त गर्न सम्भव हुन्छ। तर समाजवादको यो दृष्टिकोणको वैज्ञानिक समाजवादका प्रणेता कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले गम्भीर रूपमा आलोचना गरे। उनीहरूका अनुसार नैतिक सुधार वा सामाजिक सुधारको माध्यमबाट समाजवादलाई प्राप्त गर्ने विचार केवल अवैज्ञानिक मात्र होइन, बरू अवास्तविक र काल्पनिक पनि छ। त्यसपछि सन् १८४८ मा मार्क्स र एङ्गेल्सले आफ्नो विश्वप्रसिद्ध रचना ‘कम्युनिष्ट घोषणापत्र’ मा वैज्ञानिक समाजवादका सिद्धान्तहरूलाई अगाडि बढाए, जसलाई मार्क्सवाद पनि भनिन्छ।

मार्क्स-एङ्गेल्सका अनुसार वैज्ञानिक समाजवाद भनेको सामाजिक समस्याहरूको वैज्ञानिक विश्लेषण र तिनीहरूको वैज्ञानिक समाधान खोज्नु हो। नैतिक सुधारको माध्यमबाट समाजवादी समाजको निर्माणमा विश्वास राख्ने प्रारम्भिक समाजवादीहरूभन्दा भिन्न मार्क्सवादले के तर्क दियो भने जबसम्म उत्पादनका साधनहरूको निजी स्वामित्व रहन्छ, तबसम्म श्रमिक वर्गको स्थितिमा कुनै सुधार हुन सक्दैन। मार्क्स-एङ्गेल्सका अनुसार समाजवादी समाजको योजनाले विचारक वा सुधारक बनाउन सक्दैन, यो क्रान्तिकारी गतिविधिबाट उत्पन्न हुनुपर्दछ र ऐतिहासिक रूपले उपयुक्त भएपछि मात्र सफल हुनेछ। मार्क्सवादले समाजवाद ऐतिहासिक विकासको एक निश्चित चरण हो, जसलाई सम्पत्तिको मालिक पूँजीपतिको विरूद्ध मजदूर वर्गको क्रान्तिको माध्यमबाट हासिल गरिनुपर्दछ भन्ने मान्यता राख्दछ। मार्क्सवाद समाजवादको एक प्रसिद्ध र प्रभावकारी सिद्धान्तको रूपमा उद्भव भयो। किनभने यसले पूँजीवादको विश्लेषणमा एक वैज्ञानिक दृष्टिकोण र कार्यप्रणाली तथा सैद्धान्तिक एवं व्यावहारिक आधार प्रदान गर्‍यो, जसमा समाजवाद विकसित हुन सक्थ्यो।

समाजवादको एउटा अर्को रूप अराजकतावादी समाजवाद हो। यसलाई अराजक-समाजवाद, स्वतन्त्रतावादी समाजवाद, वैधानिक समाजवाद पनि भनिन्छ। यो समाजवाद मिखाइल बाकुनिन, पियरे जोसेफ प्रूँधों, पीटर क्रोपोटकिन, आदि जस्ता व्यक्तिहरूले विकास गरेका हुन्। यो समाजवादी धाराले राज्यसहित सबै रूपमा जबर्जस्ती अधिकारलाई खारेज गर्दछ, जसमा यसलाई अवांछनीय साम्यवादी समाजको बीचमा एउटाबाट अर्कोमा क्रान्तिकारी रूपान्तरणको अवधि निहित हुन्छ। यो रूपान्तरणको अवधिको क्रममा सर्वहारा वर्गको अधिनायकत्वको अतिरिक्त अरू केही हुन सक्दैन। त्यसकारण मार्क्सवादी दृष्टिमा सर्वहारा वर्गको अधिनायकत्व समाजवादको अस्थायी वा अन्तिम चरण हो। यसरी राज्यको मार्क्सवादी सिद्धान्तले राज्यको गुणगान गर्दैन, बरू यो राज्यको संभावित अन्तको सिद्धान्त हो।

मार्क्सवादले राज्यलाई वर्गको एक यस्तो उपकरणको रूपमा हेर्दछ, जसको उपयोग अर्को वर्गमाथि प्रभुत्वको लागि गरिन्छ। मार्क्स-एङ्गेल्सले इतिहासको अध्ययनको लागि द्वान्द्वात्मक पद्धतिलाई लागू गर्दै के तर्क दिए भने इतिहासको विकासको एक निश्चित चरणमा समाजका वर्गको प्रतिरोधी प्रकृतिको कारण राज्य अस्तित्वमा आयो र प्रत्येक स्तरमा यसले प्रमुख वर्गको हितको प्रतिनिधित्व र चाकरी गर्दछ। मार्क्स-एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमा ऐतिहासिक परिवर्तनमा वर्गसंघर्षको केन्द्रीयतामाथि प्रकाश पारे र लेखे – ‘अहिलेसम्मको विद्यमान समाजको इतिहास वर्गसंघर्षको इतिहास हो।’ उनीहरूले इतिहासको भौतिकवादी संकल्पनालाई पनि पेश गरे। जसका अनुसार विकासको प्रत्येक चरणले आफूभित्र विनाशक तत्वहरूलाई स्वयंमा समाहित गर्दछ र एक बढी प्रगतिशील चरणमा बदलिन्छ। यो यसरी सामन्ती समाज बढी जटिल र प्रगतिशील पूँजीवादमा विकसित भयो। यस प्रक्रियाबाट मार्क्सवादले के तर्क दियो भने पूँजीवादको आन्तरिक अन्तर्विरोधले अनिवार्य रूपले समाजवादको उच्च स्तरसम्म लिएर जानेछ। एङ्गेल्सका अनुसार ‘पूँजीवादी राज्य एक यस्तो परस्पर विरोधी वर्गश्रेणीको उत्पादन हो, जसको उत्पत्ति निजी सम्पत्तिको आविर्भाव पूँजीवादी उत्पादन प्रणालीबाट हुन्छ।’ एङ्गेल्सको यो विचारलाई लेनिनको लेखनले अझ बढी समर्थन गर्‍यो। लेनिनका अनुसार ‘राज्य वर्ग उत्पीडनको एक यस्तो अंग हो, जसले वर्गहरूको बीचको संघर्षलाई नियन्त्रित गरेर यो उत्पीडनलाई वैधता प्रदान गर्दछ र त्यसलाई कायम राख्दछ।’ यसरी मार्क्सवादी दृष्टिमा पूँजीवादी राज्य प्रणाली सर्वहारा वर्गको विरूद्धमा र पूँजीवादी वर्गको पक्षमा वर्ग शोषण र उत्पीडनको एक साधन हो। त्यसकारण मार्क्सवादले पूँजीवादी राज्य प्रणालीको अन्त्य गर्ने आव्हान गर्‍यो र यसको स्थानमा अग्रदस्ता क्रान्तिकारी पार्टीको नेतृत्वमा एक समाजवादी राज्य स्थापना गर्नको लागि सर्वहारा वर्गको क्रान्तिलाई माध्यम बनायो। सर्वहारा वर्ग र उनीहरूको अग्रदस्ता पार्टीको कार्यमाथि टिप्पणी गर्दै लेनिनले भनेका छन् – ‘सर्वहारा वर्गको उद्देश्य पूँजीवाद र पूँजीपति वर्गलाई उखेलेर फ्याँकी समाजवादी व्यवस्था स्थापित गर्नु हो। तर यो उद्देश्य एक झड्कामा हासिल गर्न सकिंदैन, यसको लागि पूँजीवादबाट समाजवादमा संक्रमणको एक लामो अवधिको आश्यकता पर्दछ। परिवर्तनको यो अवधिलाई सर्वहारा वर्गको अधिनायकत्व भनिन्छ, जुन राज्यको समाजवादी रूप हो।’ आफ्नो एक प्रसिद्ध पुस्तक ‘राज्य र क्रान्ति’ मा लेनिनले लेखेका छन् -‘सर्वहारा वर्गको राजनीतिक सत्तामा कब्जा भएपछि सर्वहारा वर्गको क्रान्तिकारी अधिनायकत्वद्वारा पूँजीपतिको प्रतिरोधलाई नष्ट गर्नु आवश्यक हुन्छ।’ अर्को शब्दमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत राज्य अझै पनि एक वर्ग राज्य हुन्छ र वर्गको विभाजन हुनेछ। सर्वहारा वर्गको अधिनायकत्को उद्देश्य निजी सम्पत्तिबाट राज्य सम्पत्तिसम्म उत्पादनका साधनहरूलाई स्थानान्तरित गरी समाजबाट पूँजीवादी तत्वहरूलाई हटाउनको लागि राज्यशक्तिको उपयोग गर्नु हो। यस सम्बन्धमा मार्क्सले भनेका छन् – ‘सर्वहारा राज्य समाजवादको पहिलो चरण वा तल्लो चरण हो र यसको अन्तिम उद्देश्य साम्यवादको रूपमा अन्तिम अवस्थान्तरणको लागि परिस्थिति बनाउनु हुनेछ’, जसलाई मार्क्सले दोस्रो चरण वा उच्चतम् चरण भने। त्यसकारण मार्क्सले समाजवाद वा समाजवादी राज्यलाई अपरिपक्व वा समाजवादको अजीर्ण रूपमा भनेका छन्।

समाजवादको अन्तिम चरण साम्यवादमा समाज वर्ग र वर्गको प्रतिरोधबाट मुक्त हुनेछ र राज्य नष्ट हुनेछ। यस सम्बन्धमा मार्क्सले आफ्नो पुस्तक ‘गोथा कार्यक्रमको आलोचना’ मा भनेका छन् – ‘पूँजीवादी र साम्यवादी समाजको बीचमा एकबाट अर्कोको क्रान्तिकारी रूपान्तरणको अवधि निहित हुन्छ। र, यो रूपान्तरणको अवधिको क्रममा सर्वहारा वर्गको अधिनायकत्वको अतिरिक्त केही पनि हुनसक्दैन।’ त्यसकारण मार्क्सवादी सिद्धान्त अनुसार सर्वहारा वर्गको अधिनायकत्व साम्यवादप्रति समाजवादको एक अस्थायी वा अन्तरिम चरण हो। यसरी राज्यको मार्क्सवादी सिद्धान्तले राज्यको गुणगान गर्दैन, बरू यो राज्यको संभावित अन्तको सिद्धान्त हो।

बीसौं शताब्दीको शुरूवातमा युरोपमा धेरै प्रकारका समाजवादी पार्टी र समूह थिए, जसमा अपेक्षाकृत उदारवादी फेवियन समाजवादी, गिल्ड समाजवादीदेखि लिएर मार्क्सवादी समाजवादी र अराजकतावादी समाजवादीसम्म थिए। यद्यपि उनीहरू पूँजीवादलाई समाप्त गर्नुपर्दछ भन्ने सामान्य सिद्धान्तमा सहमत थिए, तर पनि समाजवादी कार्यक्रमलाई कसरी लागू गर्ने भन्ने कुरामा विविध वैचारिक र दार्शनिक दृष्टिकोण थिए। सुधारवादी वा विकासवादी समाजवादी शान्तिपूर्ण र जनतान्त्रिक साधनहरूको माध्यमबाट समाजवादी लक्ष्य प्राप्त गर्ने कुरामा विश्वास गर्दछन् र क्रान्तिकारी समाजवादीहरू श्रमिक वर्गको नेतृत्वमा क्रान्तिको माध्यमबाट समाजवाद ल्याउने कुरामा विश्वास गर्दछन्।

सन् १९१७ मा भी. आई लेनिनको नेतृत्वमा रूसमा बोल्शेभिक पार्टीले सत्ता कब्जा गर्‍यो र इतिहासमा पहिलो समाजवादी राज्य-व्यवस्था स्थापना गर्‍यो। बीसौं शताब्दीमा भएको रूसी क्रान्तिको सफलताले मानव जातिको इतिहासमा अत्यन्तै गहिरो प्रभाव पार्‍यो। रूसी क्रान्तिले परिवर्तनवादी र विकासवादी समाजवादी समूहहरूलाई धेरै ठूलो चुनौती दियो। उनीहरू लेनिन र उनका सहयोगीहरूलाई समाजवादीको रूपमा समर्थन दिनसक्थे, जो श्रमिकहरूको क्रान्तिको माध्यमबाट पूँजीवादी राज्य फाल्नमा सफल रहे, अथवा उनीहरू ती सत्तावादीहरूको रूपमा उनीहरूको विरोध गर्नसक्थे, जो वास्तवमा समाजवादको जनतान्त्रिक भावनाको त्याग गरिरहेका थिए। युरोप र अमेरिकामा समाजवादी पार्टीहरू सोभियत समर्थक कम्युनिष्ट पार्टी र परम्परावादी सामाजिक जनवादी पार्टीहरूमा विभाजित भए। गैरसाम्यवादी समाजवादी दल मार्क्सको मौलिक ‘इन्टनेशनल वर्किंगमेन्स एशोसियसन’ को उत्तराधिकारीको रूपमा ‘सोसलिस्ट इन्टरनेशनल’ को सदस्य बने भने सोभियत संघले कम्युनिष्ट पार्टीहरूलाई ‘कमोनिटर्न’ वा तेस्रो अन्तर्राष्ट्रियको रूपमा चिनिने ‘कम्युनिष्ट इन्टरनेशनल’ मा संगठित गर्‍यो।

रूसको अक्टोबर समाजवादी क्रान्ति संसारका विभिन्न उपनिवेशवाद विरोधी राष्ट्रिय मुक्ति आन्दोलनहरूको प्रेरणा बन्यो। सन् १९२० मा कोमिन्टर्नको मार्गदर्शनमा इन्डनेशियाली कम्युनिष्ट पार्टीको गठनसँगै इन्डनेशिया सोभियत संघ बाहिर कम्युनिष्ट पार्टीको स्थापना गर्ने पहिलो देश बन्यो। त्यसपछि सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी (CCP) को स्थापना भयो। दोस्रो विश्वयुद्धको अन्त्यपछि समाजवादको सोभियत प्रारूपलाई पूर्वी युरोपका धेरै देशहरूले अपनाए। यिनीहरूमा पूर्वी जर्मनी, पोल्याण्ड, क्रोएशिया, हंगेरी, रोमानिया, आदि देश थिए। सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनियाँ क्रान्ति सम्पन्न भयो र एक समाजवादी राज्यको रूपमा जनगणतन्त्र चीन (PRC) को स्थापना भयो। यसरी नै उत्तर कोरिया, भियतनाम, कम्बोडिया र लाओससम्म समाजवादी राज्य स्थापना भयो। सन् १९६० र १९७० को दशकमा समाजवाद मध्य र दक्षिण अमेरिकामा कैयौं क्रान्तिकारी संघर्षको मार्गदर्शक सूत्र बनेको थियो। सन् १९५९ मा क्युबाका समाजवादी नेता फिडेल क्यास्त्रो र छापामार योद्धा चे ग्वेभाराको नेतृत्वमा सफल क्रान्ति सम्पन्न भएपछि उत्तर अमेरिका समर्थित बाटिस्टा शासनको अन्त्य भयो र त्यहाँ समाजवादी व्यवस्थाको शुरूवात भयो। क्रान्तिकारी योद्धा चे ग्वेभाराले दक्षिण अमेरिकी मुलुक बोलिभिया, भेनेजुएला, चिली, आदि धेरै देशहरूमा छापामार युद्ध संचालन गरे र उनको मृत्युपछि समाजवाद विद्रोहको प्रतीक बन्यो। यसको परिणामस्वरूप नै सन् १९७० मा चिलीमा साल्भाडोर अलेन्डे र सन् १९७९ मा निकारागुवामा सान्डानिस्टा छापामारले समाजवादी सत्ताको नेतृत्व समाले। पश्चिम एशिया र उत्तरी अफ्रिकामा अरब समाजवाद वा अफ्रिकी समाजवाद जस्ता परम्परावादी र आदिवासी मूल्यमान्यतासँगै समाजवादका विचारहरूको सम्मिश्रणसहित समाजवाद पनि संश्लेषित रूपमा विकसित हुँदै गयो। यद्यपि सन् १९९१ मा सोभियत संघको विघटनले संसारका अन्य भागमा समाजवादी विचारधारा र समाजवादी राज्य प्रणालीलाई एउटा ठूलो झड्का दियो। यो उथलपुथलको बाबजुद पनि अझैसम्म केही समाजवादी राज्यहरू अस्तित्वमा छन्। अहिले जनगणतन्त्र चीन, गणतन्त्र क्युबा, समाजवादी गणतन्त्र भियतनाम, लाओस र कोरियाका जस्ता देश समाजवादी राज्य हुन्। उनीहरूले समाजवादी सिद्धान्त अनुसार राज्यशासनलाई अगाडि बढाएका छन्।

मार्क्सवादी दृष्टिकोणमा समाजवादी राज्य भनेको श्रमिक (सर्वहारा) वर्गको नियन्त्रणमा रहेर समाजवाद प्राप्तिको दिशामा काम गर्ने राज्य हो। समाजवादी राज्यमा क्रान्तिकारी अग्रदस्ता पार्टीद्वारा शासन गरिन्छ, जुन प्रायः कम्युनिष्ट पार्टी नै हुन्छ। यसले समाजवादी अर्थव्यवस्था र समाजवादी समाजको स्थापनाको लागि देशको उत्पादक शक्तिलाई नियन्त्रणमा लिन्छ। अहिले पनि चीन, भियतनाम र क्युबामा समाजवाद निर्माणका समान आकांक्षाहरू छन् तर तिनीहरूको कामकाजको प्रकृति भने भिन्न-भिन्न देखिन्छ।

संसारमा सबभन्दा शक्तिशाली समाजवादी देशको रूपमा अहिले जनगणतन्त्र चीनलाई मानिन्छ। अरू सबै समाजवादी देशहरू जस्तै चीनमा पनि चिनियाँ कम्युनिष्ट पार्टीले शासन संचालन गरेको छ। सन् १९४९ देखि नै यो पार्टीले चीनमा निरन्तर समाजवादी शासन संचालन गर्दै आएको छ। चीनको समाजवादी व्यवस्था परम्परावादी समाजवादी व्यवस्था भन्दा फरक छ। चीनमा विविधताको समाजवाद धेरै लचिलो छ र यसलाई चिनियाँ स्थिति अनुकूल बनाउनको लागि धेरै पटक संशोधित गरिएको छ। चीनले आफ्नो समाजवादी परिपाटीलाई चिनियाँ संविधानमा ‘चिनियाँ विशेषता अनुसारको समाजवाद’ को रूपमा वर्णन गरेको छ। चीनको राजनीतिक प्रणालीमा आठ साना दलहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीसँगै उपस्थित हुने स्वीकृति दिइएको छ। तर पनि चीनको राजनीतिक प्रणालीलाई एकदलीय नै मानिएको छ किनभने चिनियाँ कम्युनिष्ट पार्टी नै एक मात्र सत्तासीन पार्टी हो। र, यही पार्टीले नै राजनीतिक जीवनको प्रत्येक क्षेत्रको निर्धारण गर्दछ। साना पार्टीहरू भने कम्युनिष्ट पार्टीको नेतृत्वको भूमिकामा निष्ठा राख्ने शर्तमा अस्तित्वमा रहन्छन्। अरू समाजवादी राज्य जस्तै चीनले पनि ‘पार्टी-राज्य’ का कम्युनिष्ट सिद्धान्तलाई अपनाएको छ, जसमा पार्टीले सँधैं राजनीतिक सत्तामा आफ्नो नियन्त्रण राख्छ र राज्य-सरकारमाथि पनि नियन्त्रण राख्छ। पार्टीको नेतृत्व कायम राख्नको लागि कम्युनिष्ट पार्टीको शीर्ष क्रमको नेतृत्व एकसाथ राज्य-सरकारको कार्यकारी निर्णय लिने पदमा रहन्छन्। राज्यको प्रमुखको रूपमा रहने जनगणतन्त्र चीनको अध्यक्ष औपचारिक रूपले राष्ट्रिय जनकांग्रेस (NCP) द्वारा चुनिन्छ, यो एक उमेद्वारसम्म सीमित रहन्छ, जो सामान्यतः पार्टीको प्रमुख हुन्छ। यसरी नै प्रीमियर (प्रधानमन्त्री), उपप्रिमियर र राज्य परिषदका अन्य सदस्यहरूलाई औपचारिक रूपमा अन्य राष्ट्रिय जनकांग्रेसद्वारा अनुमोदित गरिन्छ। व्यावहारिक रूपमा उनीहरूको उमेद्वारीको अग्रिम रूपले चुनाव र अनुमोदन पार्टीभित्र गरिन्छ। त्यसपछि सरकारका प्रमुख अधिकारीहरूलाई पार्टीद्वारा चुनिन्छ । पार्टीले नै सबै नीति बनाउँदछ। सरकारले ती नीतिहरूको सम्पादन र कार्यान्वयन गर्दछ। पार्टीले प्रमुख पदहरूमा कम्युनिष्ट पार्टीकै सदस्यहरूलाई नियुक्त गर्दछ र सेना, न्यायपालिका तथा अन्य प्रशासनिक प्रणालीलाई पनि पार्टीले नियन्त्रणमा राख्छ। पार्टी व्यक्तिगत हितभन्दा माथि हुन्छ र प्रत्येक नागरिक वा पार्टी सदस्यले पार्टीका निर्णयहरूलाई पालन गर्नुपर्दछ। पार्टी निर्णयलाई पालना गर्नु प्रत्येक नागरिकको नैतिक वा देशभक्तिपूर्ण कर्तव्य मानिन्छ। यसरी चीनको समाजवादी व्यवस्थाले अहिलेसम्म शासन गर्दै आएको छ उच्चतम् प्रगतिसहित अगडि बढिरहेको छ।

गणतन्त्र क्युबा अर्को एक समाजवादी देश हो। यसलाई मजदूरहरूको स्वतन्त्र र सार्वभौम समाजवादी राज्यको रूपमा चिनिन्छ। सन् १९५९ मा फिडेल क्यास्त्रो र चे ग्वेभाराको नेतृत्वमा क्रान्ति सफल भएपछि कम्युनिष्ट पार्टी अन्तर्गत समाजवादी व्यवस्थाको स्थापना भयो। त्यतिबेलादेखि अहिलेसम्म पनि यहाँ कम्युनिष्ट पार्टीको मार्गदर्शक विचारधारा अनुसार समाजवादी शासन संचलित छ। क्युबाको संविधानमा पार्टीको वर्णन राष्ट्रको अग्रणी दलको रूपमा गरिएको छ, जसले समाज र समाजवादको निर्माण तथा उन्नतिको सर्वोच्च लक्ष्यलाई प्राप्त गर्नको लागि राष्ट्र एवं समाजको नेतृत्व गर्दछ। क्युबाले एकल पार्टी प्रणालीको पालना गरेको छ, जस अन्तर्गत क्युबाको कम्युनिष्ट पार्टी नै देशमा शासन संचालन गर्ने एकमात्र पार्टी रहेको छ। एक समाजवादी देशको रूपमा क्युबाको संविधानले ‘उत्पादनका मूलभूत साधनहरूमाथि जनताको समाजवादी स्वामित्व र मानिसद्वारा मानिसको शोषणको अन्त्य’ माथि आधारित एक समाजवादी अर्थव्यवस्थालाई परिभाषित गरेको छ। यसले समाजावदी वितरणको सिद्धान्तलाई पालना गर्दछ। यद्यपि क्युबाको संविधानको भाग ९ संगठनका सिद्धान्त र राज्यका अंगहरूको कामकाजसँग सम्बन्धित छ। राज्यका अंग समाजवादी जनवादका सिद्धान्तहरूमा आधारित छ। ‘नेशनल एसेम्बली अफ पिपुल्स पावर’ सबै कार्यकारी जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने राज्यको सर्वोच्च अंग हो। यो एक गोप्य मतदान प्रणालीको माध्यमबाट पाँच वर्षको लागि निर्वाचित प्रतिनिधिबाट बनेको हुन्छ। विधानसभाले राज्य परिषदको चुनाव गर्दछ, जसमा राष्ट्रपति हुन्छ। राष्ट्रपति एकै समयमा राज्यको प्रमुख र सरकारको प्रमुख पनि हुन्छ। सन् १९९२ मा संविधान संशोधन गरेर क्युबाले राजनीतिक जनवादको लागि केही प्रयासस्वरूप वैकल्पिक राजनीतिक दलहरूलाई अनुमति दिने कोशिस गर्‍यो तर यो लागू हुनसकेन। सन् २००२ को संवैधानिक सुधारपछि क्युबाको राजनीतिक प्रणालीको समाजवादी चरित्र अझ गहिरो बन्यो। यसले समाजवादलाई अखण्डनीय रूपमा स्थापित गर्‍यो र देश पूँजीवादतिर कहिल्यै फर्किनेछैन भन्ने घोषणा गर्‍यो। यो घोषणाको क्युबाका जनताले ठूलै पैमानामा समर्थन गरे। त्यसकारण क्युबाको राज्य भविष्यमा आफ्नो विद्यमान समाजवादी विशेषताहरूसँग कामय रहने विश्वास गर्न सकिन्छ। यो देश सम्पूर्ण साम्राज्यवादी नाकाबन्दीको बीचबाट पनि आफूलाई निरन्तर विकसित गर्न सफल देश हो। शिक्षा र स्वास्थ्यको क्षेत्रमा यसले अभूतपूर्व विकास गरेको छ।

यसरी नै समाजवादी गणतन्त्र भियतनाममा एक अर्को समाजवादी देश हो। यो देशमा भियतनामी कम्युनिष्ट पार्टी (CPV) ले शासन संचालन गरेको छ। यो पार्टी देशको संस्थापक र शासक पार्टी पनि हो। यो पार्टीले मार्गदर्शक विचारधाराको रूपमा मार्क्सवाद-लेनिनवाद र हो ची मिन्ह विचारलाई मान्यता दिन्छ। सन् १९३० मा हो ची मिन्हको नेतृत्वमा भियतनामी कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । यसले राष्ट्रिय स्वतन्त्रता र श्रमिक जनताको लागि भूमिको पुनर्वितरण गर्ने लडाइँ लड्यो। यो पार्टी सन् १९४५ मा सत्तामा आयो। त्यसपछि जनवादी गणतन्त्र भियतनाम घोषणा गरियो र यसलई उत्तर भियतनाम पनि भनियो। यसरी यो समाजवादी राज्यको रूपमा विकास भयो। तर भियतनामले सन् १९७५ सम्म पहिले फ्रान्स र पछि उत्तर अमेरिकासँग भयंकर लडाइँ लड्नुपर्‍यो । सन् १९७५ मा अमेरिका परास्त भएपछि दक्षिण भियतनाम कब्जा गरी देशको नाम बदलेर गणतन्त्र भियतनाम राखियो। त्यसबेला देखि भियतनामी कम्युनिष्ट पार्टीले अहिलेसम्म पनि देशको समाजवादी शासन संचालन गर्दै आएको छ। यो देशको संविधानको प्रस्तावनामा भियतनामलाई समाजवादमा संक्रमणको अवधिमा घोषित गरिएको र पार्टी-राज्यको समाजवादी सिद्धान्तलाई अपनाएर भियतनामी कम्युनिष्ट पार्टीले सबै ठूला नीतिगत निर्णयहरूलाई निर्धारित गर्दछ र तिनीहरूको पालना गर्दछ। यो देश पनि निरन्तर विकासको क्रममा छ।

समाजवाद २० औं शताब्दीको उत्तरार्धसम्म विश्वका धेरै भागमा प्रगति गर्ने महत्त्वपूर्ण विचारधारा बन्न गएको थियो। चीन, भियतनाम, लाओस, क्युबा, उत्तर कोरिया, चिली, कम्बोडिया, पूर्वी जर्मनी, हंगेरी, भेनेजुएला र अन्य धेरै देशहरूले कुनै न कुनै रूपमा समाजवादलाई अपनाए। तर सन् १९८० को दशकको उत्तरार्धमा समाजवाद कठिन ढंगले अगाडि बढ्यो। धेरै कम्युनिष्ट देशमा आर्थिक सुधार र राजनीतिक जनवादीकरणको माग गर्दै धेरै आन्दोलन भड्किए। जसको परिणामस्वरूप संसारमा कम्युनिष्ट शासन र समाजवादी व्यवस्था कमजोर हुँदै गयो। पोल्याण्डमा सेप्टेम्बर १९८९ मा समाजवादी सत्ता ढल्यो। अक्टुबरमा हंगेरीले बहुदलीय व्यवस्था अपनाएर चार दशक लामो कम्युनिष्ट समाजवादी व्यवस्थाको अन्त्य गरिदियो। नोभेम्बरमा बर्लिनको पर्खाल ढलेपछि पूर्वी जर्मनीमा समाजवादी शासन समाप्त भयो। त्यसपछि लगातार पूर्वी युरोपका अन्य समाजवादी राज्यहरू रोमानिया, बुल्गेरिया, चेकोस्लोभाकिया, आदिमा रहेका समाजवादी व्यवस्था ढले। यद्यपि सन् १९९१ मा भएको पहिलो समाजवादी राज्यको विघटन नै समाजवादी व्यवस्था हल्लाउनको लागि महत्त्वपूर्ण घटना सावित भयो । यसरी सन् १९८० देखि १९९१ सम्म भएका विभिन्न घटनाक्रमहरूले समाजवाद र समाजवादी राज्यव्यवस्थाको भविष्यमाथि गम्भीर बहसको सृजना गरिदिए । फ्रान्सिस फुकुयामा जस्ता पूँजीवादी लेखकले समाजवादको अन्त र उदारवादको शुरूवातको संकेत गरे र उनले इतिहासको अन्तको घोषणा गरे। पूँजीवादी राज्य र त्यसमा पनि अमेरिका अझ गम्भीर रूपमा समाजवादको विरूद्धमा खनियो। तर पनि संसारका केही देशहरूले फरक रूपमै भए पनि समाजवादी व्यवस्थालाई आफ्नो देशमा मानव जातिको समग्र हितको लागि निरन्तर अगाडि बढाउँदै लगेका छन् र अभूतपूर्व रूपमा विकास गर्दै गएका छन्। यसको एक अद्वितीय उदाहरणको रूपमा चीनलाई लिन सकिन्छ।

दोस्रो विश्वयुद्धको अन्त्य लगत्तै शीतयुद्धको शुरूवात भयो। शीतयुद्ध पछिको अवधिमा कम्युनिष्ट देशहरूको सामु देखा परेका चुनौतीहरूको कारणले उनीहरूलाई फरक-फरक श्रेणीका आर्थिक र राजनीति सुधारहरूलाई ल्याउनको लागि विवश बनाइदियो। पूँजीवादको भूमण्डलीकरणको शक्तिद्वारा प्रमुख आर्थिक प्रणालीमा समस्या पैदा गरिदिएको थियो। यी विभिन्न चुनौतीहरूको सामना गर्नको लागि धेरै कम्युनिष्ट देशहरूले आफ्नो अर्थव्यवस्था बाहिरी विश्वका देशहरूको लागि खोलेर बजारोन्मुख आर्थिक सुधारको शुरूवात गरे। अधिकांश समाजवादी राज्यहरूले समाजवादी अर्थव्यवस्थालाई बजारवादी समाजवादमा स्थानान्तरित गरिदिए । यसलाई समाजवादको एक उपप्रकार मानियो, जसले समाजवादी अर्थव्यवस्थाभित्र पूँजीवादका केही लक्षणहरूलाई अपनाउँदछ। सन् १९७८ बाट चीनका देङ स्याओपिंगले चीनमा बजार अर्थव्यवस्थाका तत्वहरूलाई सामेल गर्न आफ्नो सुधार र प्रस्फुटनको नीति प्रस्तुत गरे। उनले कृषि, उद्योग, राष्ट्रिय सुरक्षा र विज्ञान-प्रविधिमा समाजवादी आधुनिकीकरणको लागि चार आधुनिकीकरण कार्यक्रमको शुरूवात गरे। यसरी नै क्युबाले सन् १९९० मा ‘शान्तिको समयमा विशेष अविध’ को शुरूवात गर्‍यो, जसअन्तर्गत समुदायको निर्णयमा बढीभन्दा बढी सहभागिता निर्दिष्ट गर्नको लागि स्थानीय परिषद र स्थानीय सरकारी इकाइहरूको गठन गर्‍यो। क्युबाले पनि आर्थिक चुनौतीहरूको सामना गर्नको लागि सन् १९९० को दशकको शुरूवातमा आफ्नो अर्थव्यवस्थालाई बजार मोडेलतिर पुनः अगाडि बढायो। यसरी नै भियतनामले सन् १९८६ मा ‘समाजवादतर्फ प्रवृत बजार अर्थव्यवस्था’ को शुरूवात गर्‍यो। यसलाई ‘दोई मोई’ आर्थिक सुधार भनियो, जसले आफ्नो केन्द्र-नियोजित अर्थव्यवस्थालाई ‘बहुक्षेत्रीय’ बजार उन्मुख अर्थव्यवस्था मोडेलमा बदलिदियो। यो प्रणाली अन्तर्गत समाजवादको निर्माणको उद्देश्यले आर्थिक विकासलाई आकार दिनमा बजारको अर्थव्यवस्था अनुसार काम गर्न निजी व्यक्ति र उद्यमहरूलाई अनुमति दिनमा राज्य क्षेत्रले निर्णायक भूमिका खेल्छ।

अहिले समाजवादी देशहरूमा धेरै पूँजीवादी तत्वहरूको विकास भएको देखिन्छ। तर पनि देश, काल र परिस्थिति अनुसार यिनीहरूले समाजवादी पद्धतिलाई अगाडि बढाउँदै लगेको देखिन्छ। समाजवादी देशहरूले अहिले पनि समाजवादको अभ्यास गरिरहेका छन्। यद्यपि समाजवादी अर्थव्यवस्था पनि विस्तारै परिवर्तन भइरहेको छ। बदलिंदो अन्तर्राष्ट्रिय व्यवस्थासँगै समाजवादी राज्यहरूले आफ्नो राजनीतिक व्यवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्व कायम राख्दै आवश्यक आर्थिक सुधार र सीमित राजनीतिक सुधार गर्दै समग्र रूपमा देश र जनताको हितार्थ आफूलाई शक्तिशाली बनाउँदै गइरहेको देखिन्छ।

वि.सं.२०८२ साउन ५ सोमवार १५:०५ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...