back
CTIZAN AD

कमरेडको असामयिक अवसान

वि.सं.२०८२ साउन १७ शनिवार

3.8K 

shares

“कमरेड” भन्ने शब्दको सामान्य अर्थ सहकर्मी, साथी वा सहयात्री हुन्छ। तर राजनीतिक सन्दर्भमा यसको प्रयोग समान उद्देश्य, साझा संघर्ष र साझा विचारधारामा विश्वास गर्ने व्यक्तिलाई जनाउने गर्दछ।

१७८९ को फ्रेन्च क्रान्तिपछि “Comrade” शब्द सामाजिक समानता र भ्रातृत्वको प्रतीकका रूपमा प्रयोगमा आएको देखिन्छ।  त्यसयता, विशेषतः १८औँ शताब्दीपछि, यो शब्द कम्युनिष्ट राजनीतिक आन्दोलनहरूमा व्यापक रूपले प्रचलित बन्न पुग्यो।

राजनीतिक अर्थमा “कमरेड” शब्दले पार्टी संरचनाभित्र समानता, सहकार्य र सामूहिक निर्णय प्रक्रियाको प्रतिनिधित्व गर्छ। यसले नेता र कार्यकर्ता बीचको ठूलो र सानो पदानुक्रमलाई कम वा अस्विकार गर्दछ। सबैलाई बराबरीको दृष्टिले हेर्न प्रेरित गर्दछ। साथै, वर्गीय चेतनालाई केन्द्रमा राख्दै, “कमरेड” भन्ने संज्ञाले मालिक र श्रमिक (गोठालो) बीचको दूरीलाई अस्वीकार गर्छ। “कमरेड” शब्दले राजनीतिक अवधारणा मात्र होइन, दार्शनिक प्रतिरोधको संरचना पनि प्रस्तुत गर्छ। यसले हेगेलको आत्मचेतना, मार्क्सको वर्गसंघर्ष, र सार्त्रको अस्तित्ववादसँग संवाद गर्छ।

दार्शनिक रूपमा हेर्दा, “कमरेड” शब्दले श्रम, वर्ग र उत्पादन सम्बन्धको आलोचनात्मक दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। मार्क्सवादी विचार प्रणालीमा आधारित यो अवधारणाले वर्गविहीन समाजको परिकल्पना गर्छ, जहाँ व्यक्तिको व्यक्तिगत पहिचानभन्दा सामूहिक उद्देश्यलाई प्राथमिकता दिइन्छ। यसले यस्तो समाजको कल्पना गर्छ, जहाँ सबैजना ‘साथी’ हुन्छन्- ‘शासक’ वा ‘शासित’ हुँदैनन। “कमरेड” शब्द एउटा सम्बोधनमात्र होइन, विकल्पको दर्शन हो, त्यस्तो दर्शन जसले इतिहासलाई मुक्ति-प्रक्रियाको रूपमा बुझ्छ, र जहाँ समाज कुनै एक वर्गको अधिपत्य होइन, सम्पूर्ण मानवताको साझा अभिव्यक्ति हुन पुग्छ। यो सम्बोधनमा एउटा यस्तो समाजको आकांक्षा समाहित हुन्छ जहाँ अस्तित्वको सार व्यक्तिगत प्रतिस्पर्धा होइन, सामूहिक उत्तरदायित्व हो।

सामाजिक दृष्टिकोणले “कमरेड” शब्दले जातीय, लैंगिक, वर्गीय एवं सबै खाले  विभेदविरुद्धको ऐक्यबद्धता तथा समानताको चेतना झल्काउँछ। यसले समाजमा विद्यमान उत्पीडनका विविध रूपहरूप्रति प्रश्न उठाउँदै, साझा संघर्षको बाटो अंगाल्नेहरूको बीचमा विश्वास, साहस र एकताको भावना विकसित गर्न मद्दत गर्छ। मजदुर आन्दोलन, किसान आन्दोलन, महिला अधिकार र दलित मुक्ति जस्ता सामाजिक संघर्षहरूमा “कमरेड” भन्ने सम्बोधनले सहभागीहरूको मनोबल उच्च बनाउँछ। यसले उनीहरूलाई व्यक्तिगत सीमाभन्दा माथि उठेर सामूहिक उद्देश्यका लागि समर्पित बनाउँछ।

“कमरेड” को सामाजिक अर्थ यति गहिरो छ कि यो सम्बोधनले जात, धर्म, उपासना, लिंग वा कुनै पनि पहिचानको आधारमा भेदभाव नगरी, विचार, मूल्य र उद्देश्यका आधारमा सम्बन्ध निर्माण गर्न प्रेरित गर्छ।  “कमरेड” शब्दले सधैं एक नयाँ समाजको कल्पना बोकेको हुन्छ; जहाँ अन्यायको अन्त्य हुन्छ, समान अवसरको ग्यारेन्टी हुन्छ, र मानवको गरिमा सुरक्षित रहन्छ। यो शब्द केवल सम्बोधन होइन, परिवर्तनप्रतिको आस्था र भविष्यप्रतिको विश्वासको प्रतीक पनि हो।

नेपालमा  हिजो आफूलाई “कमरेड” भनेर सम्बोधन सुन्न चाहनेहरू आज पारिवारिक नाताको अपेक्षा राख्छन्। कम्युनिष्ट आन्दोलनमा प्रयोग हुने यो शब्दको ठाउँमा अहिले “बा”, “दाइ”, “दिदी”, “भाउजु”, “भिनाजु” जस्ता नाताले स्थान लिइरहेका छन्। नेतालाईनै अहिले औपचारिक रुपमा “कमरेड” नभई “बा” “दाइ”, “दिदी”, “भाउजु”, भनेर सम्बोधन गरिन्छ। यो राजनीतिक कार्यक्षेत्रलाई परिवारको घेराभित्र पुस्तान्तरण् वा हस्तान्तरण  चाजोपाजोको दुरासयपूर्ण मनोवृत्तिको परिणाम हो। “कमरेड” शब्दको अन्तर्निहित सन्देशलाई नबुझ्नु, वा आफ्नो वर्गीय दृष्टिकोणअनुसार त्यसलाई त्याग्नु, केवल भाषिक विकल्प होइन, यो विचारधारात्मक स्खलन हो।

तपाईंले मलाई नकारात्मक भएको आरोप लगाउन सक्नुहुन्छ, वा ‘सानो कुरामा अल्झिने’ व्यक्ति भनेर व्याख्या गर्न सक्नुहुन्छ। तर के कुनै शब्द अर्थविहीन हुन्छ? हुँदैन। प्रत्येक शब्दमा कुनै न कुनै अर्थ हुन्छ, र त्यो अर्थले चेतनाको कुनै न कुनै छवि निर्माण गर्छ उदाहरणका लागि, जब तपाईंले “घर” भन्ने शब्द सुन्नुहुन्छ, तपाईंको मनमा तुरुन्तै छानो, ढोका, भित्ताहरू, परिवारको उपस्थिति वा भावनात्मक सम्बन्धहरूको चित्र उत्रन्छ। त्यस्तै, “जंगल” भन्ने शब्दले रुख, झाडी, वन्यजन्तु र प्रकृतिको छवि बनाउँछ- जसमा घरको छानो वा भान्साकोठा हुने सम्भावना हुँदैन। त्यस्तै, यदि कसैले “बा” भन्ने शब्द सुनेर आफ्ना जन्मदाताबाहेक अरू कुनै राजनीतिक व्यक्तिको अनुहार सम्झिन्छ भने, त्यो आफ्ना जन्मदाता बा प्रतिको गंम्भिर अपमान हो। त्यसो भन्ने व्यक्ति धुर्त्याईको पोको  र स्वार्थको मुकुण्डो हो। “बा” भन्ने शब्द व्यक्तिगत आत्मीयता र स्मृतिको आन्तरिक चित्र हो; त्यसलाई सार्वजनिक जीवनका पात्रले विस्थापित गर्नु गम्भीर  नैतिक विचलन हो।

त्यसैगरी, “कमरेड” शब्दको ठाउँमा बा, दाई, दिदी, भाउजु  वा अरू कुनै नातावादी सम्बोधन प्रयोग गर्नु, वर्ग संघर्ष, बराबरी र सामूहिकताको प्रतीक रहेको शब्दको स्थानलाई कमजोर बनाउनु हो। कम्युनिस्ट आन्दोलनको सन्दर्भमा “कमरेड” केवल सम्बोधन होइन, सामाजिक दर्शन, राजनीतिक प्रतिवद्धता र वर्गीय चेतनाको घनिष्ठ अभिव्यक्ति हो। “कमरेड” शब्द केवल मित्रता होइन, त्याग, संघर्ष, र समानतामा आधारित सम्बन्धको प्रतीक हो।

आजको नेपालमा “कमरेड” शब्दको मूल्य घट्दै गएको छ, र कतिपय अवस्थामा त यसको अपमान नै भइरहेछ। विडम्बना त के छ भने- एउटै पेशामा लागेका दलाल, बिचौलिया र नाफाखोरहरूले जब यो सम्बोधन धारण गर्छन्, आफूलाई “कम्युनिष्ट” भनेर चिनाउने दलका नेताहरू र कार्यकर्ताहरू स्वयं “कमरेड” भन्ने सम्बोधनप्रति उदासीन देखिन्छन्।

यस्तो अवस्थामा एक गम्भीर प्रश्न उठ्छ, किन “कम्युनिष्ट” हरुकै लागि “कमरेड” शब्दप्रतिको मोह भङ्ग भयो? यस्तो विचलन आकस्मिक होइन; यसको पछाडि राजनीतिक, सामाजिक र सैद्धान्तिक तहका गहिरा कारणहरू रहेका छन्।

कम्युनिष्ट पार्टीमा वैचारिक स्खलन, आदर्शको मलामी र दर्शनको श्राद्ध नै यसको पतनको पहिलो र प्रमुख कारण हो। कुनै पनि राजनीतिक दलमा सदस्य हुनु भनेको त्यो दलले अंगिकार गरेको विचारधारा, मूल्य र दर्शनसँग आत्मसम्बन्ध गाँस्नु हो। तर जब त्यो वैचारिक सम्बन्ध कमजोर पर्न थाल्छ, त्यहाँ पारिवारिक नाताले विचारको ठाउँ ओगट्छ।

विचारको ठाउँमा व्यक्तिपूजा हावी हुन्छ, सिद्धान्तको साटो धुपौरेहरुको  वर्चस्व स्थापित हुन्छ, र पार्टीको सञ्चालन विचार होइन, नेताको व्यक्तिगत निर्णयमा सीमित हुन्छ। नेताको भनाइलाई अन्तिम सत्य ठानिन्छ, र उनको जयजयकार नै कार्यकर्ताको प्रमुख जिम्मेवारी बन्न पुग्छ। विचारमा आधारित सम्बन्धहरू क्रमशः पारिवारिक सञ्जालमा रुपान्तरण हुँदै जान्छन्। मूल नेतृत्वलाई ‘बा’ को रूपमा स्थापित गरिन्छ, त्यसपछि आउनेहरू ‘काका’, ‘काकी’, ‘दाइ’, ‘भाउजु’, अनि क्रमशः ‘भाइ’, ‘बहिनी’, ‘साला’, ‘साली’ आदि। यस्तो नातावादी संरचनाले पार्टीभित्रको समानता र सामूहिक निर्णय प्रक्रियालाई नष्ट गर्छ।

“कमरेड” शब्दको सार नै समान उद्देश्य, साझा संघर्ष र वर्गीय ऐक्यताको भावनामा आधारित हुन्छ। तर, जब पार्टीभित्र सबै सदस्यहरूको आ-आफ्नै निजी उद्देश्य हुन्छ, जस्तै: राजनीतिक नियुक्ति पाउनु, ठेक्काको पहुँच बनाउनु, बिचौलिया बन्नु, कालोबजारी गर्नु, या कुनै सत्ता पद हासिल गर्नु, त्यस्तो अवस्थामा “कमरेड” शब्द केवल खोक्रो आवरण मात्र बनिन्छ। जब विचारको ठाउँ व्यवहारिक स्वार्थ र अवसरवादले लिन्छ, तब “कमरेड” को अर्थ पनि सँगै मर्छ।

अर्को पक्ष  यथार्थवादी र गम्भीर छ – “कमरेड” शब्दले मार्क्सवादी दर्शनमा आधारित वर्गविहीन समाजको आकांक्षा प्रस्तुत गर्छ। यो सम्बोधन केवल भाषिक उपकरण होइन, एक यस्तो सामाजिक संरचनाको संकेत हो, जहाँ शोषण, विभाजन र पदानुक्रमको अन्त्य कल्पना गरिएको हुन्छ।

तर जब पार्टीभित्रकै व्यक्तिहरूले आफ्नो वर्गको उत्थानलाई नै प्राथमिकता दिन थाले, जब निजी सम्पत्ति र भौतिक सम्पदालाई महानताको सूचक मान्न थालियो, अनि जब पैसाले नै राजनीति र राज्यसत्ता खरिद गर्न सकिने संरचना खडा भयो – त्यस क्षणबाटै “कमरेड” शब्दको अवसान सुरु भयो। वर्गविहीन समाजको निर्माण गर्ने सपना तब “पाप” ठहरिन्छ, जब कुनै नेताको व्यक्तिगत वर्गीय उन्नति भइसकेपछि उसले त्यो समानताको सपना आफ्नै स्वार्थका विरुद्ध देख्न थाल्छ। यस्तो अवस्थामा, वर्गसंघर्षको धार कुन्द हुन्छ, अनि विचारहरू सत्ताको सौदामा विलीन हुन पुग्छन्।

जहाँ समाजमा अझै पनि शासक र शासित वर्गको अस्तित्व कायम छ, त्यहाँ शासकले शासित वर्गप्रति समानताको व्यवहार गर्दैन। त्यो सम्बन्ध दया, कृपा, अनुग्रह र राजनीतिक सौजन्यता मात्रै रहन्छ, जसमा वास्तविक न्याय र समताका बीउ छैन।

“कमरेड” मा आलोचनात्मक चेतनाको उपस्थिति अपरिहार्य हुन्छ। सत्ताको आँखामा यस्तो चेतना खतरनाक हुन्छ, किनभने यसले शासित वर्गमा प्रश्न गर्ने, प्रतिरोध गर्ने र परिवर्तन खोज्ने शक्ति पैदा गर्छ। यसकारण, सत्ताले आलोचनात्मक चेतनालाई बन्ध्याकरण गर्न खोज्दछ -यस्तो चेतना नहोस्, प्रश्न नउठोस्, शासक मात्र पूजित होस् भन्ने चाहनाले नै विचारको हत्या र “कमरेड” को मूल्यहीनता घट्दै गएको हो।

सरकारको मूल कर्तव्य भनेको नागरिकलाई समान अवसर, सुरक्षित जीवन, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, र आत्मसम्मानयुक्त अस्तित्वको सुनिश्चितता प्रदान गर्नु हो। यो जिम्मेवारी केवल कानुनी औपचारिकता होइन, राज्य र जनताको बीचको सामाजिक अनुबन्ध हो। तर अपसोच, आज ती नै आधारभूत सेवाहरू- जसमा शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई सुम्पेर  समाजवादको आवरणमा भ्रम सिर्जना गरिँदैछ। यस्तो राजनीतिक प्रपञ्च कम्युनिष्ट आन्दोलनको गम्भीर विडम्बना बनेको छ। आफैँ “कमरेड” को मुखुण्डो लगाई, त्यही “कमरेड” भन्ने विचार र मूल्यको अवसान गराउनेहरू, वास्तवमा चेतनाका लागि सबैभन्दा खतरनाक पात्र हुन्।

त्यसैले हामी सजग र सचेत रहनुपर्छ। यहाँ प्रश्न केवल एक सम्बोधनको होइन, त्यो सम्बोधनले बोकेको मूल्य, मान्यता र विचारधाराको हो।

 

वि.सं.२०८२ साउन १७ शनिवार १३:१५ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...