मेरो देशको
आकाश अझै पनि नीलो छ
तर हावा धुलोले भारी भएको छ
जहाँ हिजका दिनमा नदीहरू गीत गाउँथे
तर, आज तिनीहरू कराइरहेका छन्,
प्लास्टिक र फोहोरको बोझ बोकेर ।
जनताको आशा
हजारी भट्टीमा बालिएको दियो जस्तै भएका छन्
हर रात बुझिन्छ,
तर बिहान फेरि जलाउन खोजिन्छ ।
देशका नेता
जसले वाचा गर्छन्
देशलाई स्वर्गको रुप दिन्छु भनेर
तर जनतालाई देखाउँछन्
केवल धुलो र धक्का खाएको बाटो
अनि झुटा आश र भ्रष्टाचार मात्रै
मेरो देश
जहाँ माया र संस्कार अझै जिउँदो छ,
तर भोक, बेरोजगारी र निराशाले
जनताको आँखा भिजाइरहेको छ।
तर म
अझै पनि टोलाउँछु भविष्यको आसातिर,
किनकि मलाई थाहा छ
यो देशलाई उठाउने हात
भोलिका दिनमा..
तिमी हामी र हाम्रौ छोराछोरीका हुनेछन्।
वि.सं.२०८२ साउन २८ बुधवार १३:४१ मा प्रकाशित






























