समीप बैरागी, रोल्पा
प्रिय साथी !
रक्तपिपासुहरूको आदेशमा
बर्दीधारी सर्पले डसेपछि
म यतै दरवारको आँगनमै छुटेँ ।
मेरा बाबा र आमाको सपना छुट्यो
तर छैन, छुटेको
हाम्रो सुनौलो साझा सपना
अँधुरो सपना पूरा गर्ने
बाँकी अभिभारा तिम्रो काँधमा थपियो ।
हरेस नखानु –
तारा खसेपछि न हो बिहान हाँस्ने
लडिरहनु बेथितिको बिरुद्ध ।
बाबा र आमालाई भनिदिनु
उसले देशको लागि
स्वर्णिम पानामा आफ्नो नाम दर्ज गरि हिँड्यो
युगौँ युग सम्म बाँचिरने छ, ऊ
तपाईंहरूका लागि जन्मिएका छौँ – लाखौं छोरा ।
अँध्यारोबाट फेरि –
मुर्दाहरू उठाउन सक्छन् – शिर
आउन सक्छन् – ¥याल चुहाँउदै
गुफा भित्रका गुमनाम स्यालहरू
हरेक पाइला – पाइलामा सचेत रहनु ।
प्रिय साथी !
रगतको पर्खालले छेक्दै छ – मलाई
अन्तिम बिदा मागेँ अब
रक्ताम्य यो कमिज र जुत्ता लिनु
र, सजाइराख्नु इतिहासको संग्रहालयमा
बाँकी पुस्ताले देख्नेछन् – क्रान्तिको तस्बिर ।
वि.सं.२०८२ असोज ४ शनिवार ०९:२७ मा प्रकाशित






























