दिल कुमार श्रेष्ठ, दोहा । एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाई २०१७ मा सकिएको छ । म्याद सकिएसंगै आगामी कार्यकाल २०१७ –०१९ को पार्षद सदस्यताको लागी आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ ।
भर्खरै प्राप्त जानकारी अनुसार अहिले आवेदन दिएका आवेदकहरुको प्रमाणित कागजातहरु चेकजाँच गर्ने काम भई रहेको छ । सम्पूर्ण प्रक्रिया सकिएसँगै अन्तिम नामावली प्रकाशन गरिने जानकारी एनसीसी कतारका अध्यक्ष विनेश तामांगले जानकारी दिएका छन् ।
आवेदन दिने समयको समाप्तिसँगै कतारको दोहामा अधिवेशनको माहोल तातिरहेको छ । यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका चिर परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आ–आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
फारम सुल्क पहिलेको तुलनामा आधा कम्ति भएको अवस्थामा पहिलेको हाराहारीमा पार्षद सदस्यहरुले आफ्ना सदस्यता दर्ता गराएका छन् ।
शुल्क पहिलेको तुलनामा आधा झरेर निम्न बर्गीय श्रमिकहरुको लागी अनुकुलता लागी भनिए पनि खासै उत्सुकताका साथ सदस्यता लिनेको संख्या बढेको पाइएन ।
४ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको कतारका नेपालीहरुले नबुझेर हो या अनलाइन सिस्टमले कारण अहिले सोचेको अनुरुप सदस्यता वृद्धि देखिएन । यसलाई कतारमा कार्यरत प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले कुन रुपले लिएका छन् त्यो भोलिका दिनले बताउने छ ।
वि.सं.२०७४ साउन २ सोमवार ०७:४५ मा प्रकाशित