Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

एकबारको मनवजुनीमा भेडा पो भइएछ ब्रो !



khagendra sangroula
जीवन के हो ? नित्य जीवन सामु उठिरहने प्रश्न । जबाफमा बुद्धिमान कार्ल माक्र्सले भनेथे— जीवन संघर्ष हो । यसो हेर्दा कुरा ठीकै हो । पलपलको संघर्ष, अविराम संघर्ष, जन्मको क्षणदेखि मृत्युको क्षणसम्म अटुट संघर्ष । जीवनमा वाधा–व्यवधानरहित क्षण हुँदैन भने पनि हुन्छ । यत्ति हो—कुनै वाधा–व्यवधानको गाँठो फुकाउन सजिलो हुन्छ, कुनैको गाह्रो । जीवन–संघर्ष भन्नु नै यिनै गाँठा फुकाउन गरिने यत्न न हो । नतिजा जे हात लाग्छ, जीवनको परिस्थिति र प्रयत्न निर्मित नियति त्यही नै हो ।

यो अड्बाङ्गे, यो अघोरी, यो बन्धुद्वेषी जनजनको बाटो छेक्छ । बाटो छेक्ने यसको ढ्याके देहले नीतिकथाको खस्रे भ्यागुत्ताको याद दिलाउँछ । त्यो खस्रे जो अहङ्कारको पुञ्ज थियो । त्यो खस्रे जो घमण्डले मैमत्तभई फुलाउँदा–फुलाउँदै भुँडी फुटेर फुस्स म¥यो । त्यो खस्रे जो लोककाबाल–बृद्ध–बनिता सबैका जिब्रामा मैमत्त अहङ्कारको अनुपम उदाहरण बनेको छ ।

हाम्रो राजनीतिक रङ्कमञ्चमा हाल अजीवको एक पात्र उपस्थित छ । यो पात्र अजीवको औतारमा एक मनोवृत्तिको बाहक हो, एक प्रवृत्तिको बाहक । विचित्रका विशिष्टताहरूको बाहक । अर्थात् अडबाङ्गे, मूढाग्रही, क्रोधी, दम्भी, विग्रहकारी, बन्धुद्वेषी, बतासे एवं चरम् दुःखबद्र्धक । जताजाऊ, यो अड्बाङ्गे बाटो छेक्छ । अहंकारपूर्ण स्वरमा ऊ भन्छ— मेरा पिर्ता–पुर्खा बुद्धिमान र शूरवीर । केवल मेरा पिता–पुर्खा । यो देश मेरा पिता–पुर्खाका पौरखको उपज । केवल मेरा पिता–पुर्खाको । मेरा पिता–पुर्खाको भाषा उत्तम । केवल मेरा पिता–पुर्खाको । मेरा पिता–पुर्खाको वर्ण, भेष र धर्म अब्बल दर्जाको । केवल मेरा पिता–पुर्खाको । मेरो पिता–पुर्खाको उद्गम पवित्र । केवल मेरा पिता–पुर्खाको । मेरा पिता–पुर्खा प्रातःस्मरणीय, नमनीय, वन्दनीय एवं पूजनीय । केवल मेरा पिता–पुर्खा । तसर्थ अरुअरुका पिता–पुर्खा मेरा पिता–पुर्खापछि दुई नम्बरका । तिनको भाषा मेरा पिता–पुर्खाको पछि दुई नम्बरको । तिनको वर्ण, भेष, धर्म मेरा पिता–पुर्खाको पछि दुई नम्बरको । तिनको बसोबासको भूगोल दुई नम्बरको । तिनको पहिचान दुई नम्बरको । सारमा तिनको हैसियत नै दुई नम्बरको ।

यसो भन्छ अजीवको बाटो छेकुवा यो जीव । र, हुङ्कारफुङ्कार गर्दै लघु हिटलरी मुद्रामा यो हैकमजारी गर्छ— त्यस्ता पिर्ता–पुर्खाको दुर्लभ सन्तति म । म त्यस्तापिता–पुर्खाको अब्बल उत्तराधिकारी । र, त्यस्तापिता–पुर्खाको बिंडो थाम्ने उदात्तदायित्व र कर्तव्ययुक्त म । तसर्थ म जे भन्छु, यस चौहद्दीका दुई नम्बरीहरूले मान्नैपर्छ । विनाप्रश्न, विना जिज्ञासा, विनाविवाद— चुपचाप, एकदम चुपचाप । जो प्रश्न गर्छ, जो जिज्ञासा प्रकट गर्छ, जो विवाद उठाउँछ, त्यो अवश्यै दण्डित हुन्छ ।

दम्भको घोडामा सवार भई यो पाङदुरे जीव भन्छ— म राष्ट्र निर्माताको सन्तति । म यो राष्ट्रको रक्षक । म राष्ट्रवादी नम्बर एक । तसर्थ म जे आज्ञा गर्छु, नम्बर दुईहरूले त्यसके पालना गर्नैपर्छ । जो पालना गर्दैन, भ भन्छु— त्यो राष्ट्रघाती हो । त्यो निन्दनीय छ, त्यो गोदनीय छ । गोदिन्छ ।

यसो भन्छ र यो अड्बाङ्गे, यो अघोरी, यो बन्धुद्वेषी जनजनको बाटो छेक्छ । बाटो छेक्ने यसको ढ्याके देहले नीतिकथाको खस्रे भ्यागुत्ताको याद दिलाउँछ । त्यो खस्रे जो अहङ्कारको पुञ्ज थियो । त्यो खस्रे जो घमण्डले मैमत्तभई फुलाउँदा–फुलाउँदै भुँडी फुटेर फुस्स म¥यो । त्यो खस्रे जो लोककाबाल–बृद्ध–बनिता सबैका जिब्रामा मैमत्त अहङ्कारको अनुपम उदाहरण बनेको छ । त्यो खस्रे जो आफ्नो अहंकारको आगोमा जलेर आपैmँ भष्म हुन्छ ।

यो अघोरी जीवका कतिपय कुरा यसो सुन्दा सतहमा सुन्दर प्रतीत हुन्छन् । तर अन्तर्यमा भने ती हुनुसम्म विषाक्त छन् । यो अघोरी अखण्ड नेपालको पैरबी गर्छ । अखण्डको धारणा वास्तवमा असुन्दर किमार्थ होइन । तर यस अघोरीका अनिष्टकारी अभिप्राययुक्त दुच्छर वचनमा विखण्डनको बिज लुकि बसेको छ । यो अघोरी एकै देशका मानवहरूलाई उच्च र तुन्छ, श्रेष्ठ र नीच, सुन्दर र कुरुप, ग्राह्य र त्याज्यमा विभाजित गर्छ । यो हठमार्गी तिनलाई आफ्ना र पराईमा चोइट्याउँछ । यो तिनलाई रैथाने माटोका मौलिक उपज र आयातीतमा चिरा पार्छ । यो तिनमा असमझदारी र तिक्तता, दूरी र दुर्भावनाको सिर्जना गर्छ । अनि यो नाथे तिनलाई जुधाउँछ र बैरभावपूर्ण कित्तामा फुटाउँछ ।

अतीतमुखी यो दोपायाहीन भावनाग्रस्त छ । आफ्नो पङ्गुपना, अक्षमता, अकर्मण्यता, पिछौटेपन र अप्राप्तिलाई ढाकछोप गर्न यसले दुईवटा बैरीको सिर्जना गर्छ । स्वदेशी बैरी र बिदेशी बैरी । र, यो ती बैरीलाई ताकेर उत्तेजक एवं आक्षेपकारी तीरहरू हानिरहन्छ । यो मनुवा आफ्नै देशबन्धुहरूका अनुहारमा हस्तक्षेपकारी बिदेशी देख्छ । आफ्ना देशबन्धुहरूका वचन एवं कर्ममा यो अतिक्रमणकारी बिदेशीको चलखेल देख्छ । र, कल्पित शुद्धता र सत्यताको पहाडी चुचुरोमा उभिएर यो जीव ऐलान गर्छ— तलको त्यो समतलभूमि मेरो हो, मेरा शूरवीर पुर्खाहरूको पौरख, मेरो गौरव । परन्तु त्यो भूमिका बासिन्दाहरू पारिका हुन्, दशगजा पारिका, पारि परचक्रीको अपवित्र भूमिका । म भन्छु— दर्प उम्लिएको बोलीमा यो हरिप ऐलान गर्छ,, मेरो भूमि अपवित्रकारी यी पारिकाहरू पारि नै जाउन् । जो जहाँको हो, ऊ त्यहीँ शोभनीय हुन्छ । जो जसको हो, ऊ उसैको समीपमा हुनु राम्रो हुन्छ । यसो भन्छ र यो नरद्वेषीजीव आफ्नै देशको चार किल्लाभित्र विखण्डनको खेती गर्छ । अरुलाई ऊ विखण्डनकारी देख्छ, विडम्बनावश ऊ आपैmँ विखण्डनको खेती गर्छ ।

झोँक्की मुद्रामा यदाकदा हक्की गणेशमान सिंह जनतालाई भेडा भन्थे । कहिलेकाहीँ त हो कि जस्तो पनि लाग्छ । यसो हेर्नु, एकथरी जनता विवेकशून्य र तर्कशून्य भेडाझैँ लाग्छन् । ती भेडामय मनोदशामा आँखा चिम्लेर यो विग्रहकारी जीवका विखण्डनकारी वचनका पछिपछि कुद्छन् । आखिर कतिदिन ? समयको क्रममा ढिलो–चाँडो अजीवको यस जीवको बन्धुपीडक राष्ट्रवादको विषाक्त रुप त नाङ्गेझार होला नै । अनि ? अनि हाम्रा भ्रमित ‘भेडाहरू’ लज्जाबोध गर्दै निहुरिएर भन्लान्— हैट्, पाइनसक्नु एकबारको मनवजुनीमा भेडा पो भइएछ ब्रो !

(प्रस्तुत लेख ऐक्यबद्धताको २०७४ को साउन अंकमा पनि पढ्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट